अर्थ बैंकिङ

सहमती नमान्ने बैंकसँग आन्तरिक सापटी नगर्न बैंकर्स संघको अपिल

सहमती नमान्ने बैंकसँग आन्तरिक सापटी नगर्न बैंकर्स संघको अपिल

काठमाडौं। बैंकिङ कारोबारको सहमती नमान्ने बैंकहरुसँग कुनै पनि सापटी कारोबार नगर्न बैंकर्स संघले सबै बैंकहरुलाई अपिल गरेको छ । 
ब्याज दरको पूर्वसहमति तोडिएपछि आइतबार बसेको बैंकर्स संघको बैठकले सहमतीमा नबस्ने कुनैपनि बैंकलाई आर्थिक सहयोग तथा सापटी नदिन अपिल गरेको हो । 

योसँगै संघले संस्थागत निक्षेपकर्ताको ब्याज दर नवीकरण गर्दा ०.१ प्रतिशत बिन्दुमाथिसम्म दिन पाइने अर्को सहमति गरेको छ।

 

पूर्व सहमति अनुसार संस्थागत निक्षेपकर्तालाई दिने ब्याज ८.५ प्रतिशतमाथि प्रकाशित गर्न पाइँदैन। नियामकीय प्रवाधान अनुसार प्रकाशितभन्दा एक प्रतिशत बिन्दुसम्म बढाएर ब्याज दिन सकिन्छ। यसो हुँदा संस्थागत निक्षेपरकर्ताले साढे ९ प्रतिशतसम्म ब्याज पाउँदै आएका थिए।

 

गत साता एकाएक तीन बैंकले पुरानो सहमति तोडेपछि वित्तीय क्षेत्रमा तरङ आएको थियो। एनसिसी र सनराइजले प्रकाशित ब्याज दर ८.६५ प्रतिशत पुर्याएका थिए। अर्को दिन सेञ्चुरी बैंकले अझ बढाउदै निक्षेपमा ८.९९ प्रतिशतको ब्याज सार्बजनिक गर्यो। 

 

नवीकरण गर्ने निक्षेपमा ब्याज बढाबढ सुरु भएपछि तीन वटै बैंकलाई कारवाही गर्ने एजेण्डाले बैंकर्स संघको बैठकमा प्रवेश पाएको थियो। शुक्रबार मात्रै संघका अध्यक्षले सेञ्चुरी बैकलाई कारवाही गर्ने बताएका थिए। केही ठूला बैंकका प्रमुख कार्यकारीले सेञ्चुरीलाई मात्र नभइ सनराइज र एनसिसीलाई पनि कारवाही गर्नु पर्ने बताएका थिए।

 

आइतबारको बैठकमा कारवाहीको बिषय त उठ्यो तर धेरैले समर्थन गरेनन्। किनभने अहिले सातामै २/३ अर्ब रुपैयाँ संस्थागत निक्षेप नवीकरण गरिरहनु परेको छ। समान ब्याज हुँदा त्यो निक्षेप छरिइरहेको छ। त्यसैले सहमति तोड्ने बैंकलाई सचेत गराउँदै नवीकरण गर्ने निक्षेपममा मात्र ८.६ प्रतिशत ब्याज सार्वजनिक गर्ने सहमतिमा बैंकर्स संघ पुगेको छ।

बैंकर्स संघ