विचार समाज

हवाई दुर्घटना : नियत कि नियति ?

हवाई दुर्घटना : नियत कि नियति ?

विभागीय मन्त्री, नियामक निकायका दुईजना वरिष्ठ सरकारी प्राविधिक, प्रसिद्ध हवाई उद्यमी, प्रधानमन्त्रीका स्वकीय सचिव र नेपाली सेनाका जुनियर अफिसर चढेको हेलिकोप्टर सुरक्षित भएन भने सुरक्षाको मापदण्ड के हो ? मरेको भोलिपल्ट दुई दिनको लेखो लगाएर झारा नटार्ने हो भने सबक सिक्नका लागि यो भन्दा अप्रिय अर्को घडी प्रतिक्षा गर्नु त्यो महाभूल हो । सधैंभरि नेपाली आकासलाई दोष दिएर उम्किने छूट अब कसैलाई छैन ।

 

संसारमा दुर्घटना रोक्ने तागत त कसैसंग छैन, तर दुर्घटनासंग पात्र, प्रवृत्ति र हाम्रा आफ्नै शैली जोडिएका छन् । दुर्घटना भएपछि सरकारले एउटा छानविन समिति बनाउने, त्यसले रिपोर्ट सरोकारवालाई बुझाउने, बुझाएको रिपोर्ट सरकारी अड्डामा चाङ लगाउने अहिलेसम्म धानिदै आएको परम्परा यही हो । छानविन समिति संयोजकले घटनाको कारण बताउँदा सुँगा रटाईमा भन्ने एउटै स्थायी अन्तरा हो– ‘पाइलटको लापर्वाही ।’

 


प्राविधिक समस्यालाई दवाव र प्रभावले गाईड गर्ने गरेको छ । नेपाली राजनीतिका एउटा उम्दा र सम्भावनायुक्त प्रतिभालाई गुमाउनु हाम्रा लागि जति पीडादायी छ, पेचिलो विषयलाई  भावनाले मिच्दा कतै भोलि पनि समस्या हिलोमा धुलो छरेजस्तो नहोस भन्ने तर्पm पनि सचेत हुन जरुरी छ । मेशिन र मौसमले भीआईपी भन्दैनन् । अझ अरुको ज्यान सुरक्षित गर्ने जिम्मेवारी पाएको चालक, चिकित्सकसंगको बहसले राम्रो परिणाम दिँदैन ।

 

डाइनेस्टी हेलिकोप्टरको फिचरमै पाँचजनाभन्दा बढी यात्रु राख्न नमिल्ने उल्लेख हुँदाहुँदै आकासमा उड्ने चीजलाई साझा बस किन बनाइयो ? प्रधानमन्त्रीको जन्मस्थलमा विमानस्थल बन्न लागेको खबर पु¥याउनकै लागि जिम्मेवार मन्त्रीको दुरुपयोग भएन र ? सरकारी काममा ते¥हथुम पुगेका मन्त्रीलाई लहडका भरमा ताप्लेजुङ किन पु¥याइयो ? एकदिन पछि संसदको कठघरामा उभिएर त्यसैदिन जर्मनी उड्नुपर्ने मन्त्री विना तालिकाको कार्यक्रममा जानु उनीमाथि दबाब र प्रभावको खेल थियो भन्नेमा दुईमत छैन ।

 

आजभन्दा १३ वर्षअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा राज्यमन्त्रीसहित देश तथा विदेशमा २४ जना होनाहार सपुतले ज्यान गुमाएका थिए । त्यो बेला पनि सुरक्षाका विषयमा यस्तै बहस भएका थिए । फरक भनेको त्यो बेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए भने अहिले केपी ओली छन् । दुर्घटनास्थलमा मृत्यु भएकाहरुको शालिक बन्ने बाहेक यसक्षेत्रमा सुधारका कुनै काम भएका छैनन् ।

 

निजीक्षेत्रका बायुसेवा बढी दुर्घटनाका चपेटामा परेका छन् । सुरक्षाभन्दा अस्वस्थ प्रतिस्पर्धा नै व्यावसायिक धर्म बन्दा यस्तो नियति आइपरेको हो भन्नु अत्युक्ति नहोला । निजीक्षेत्रका हेलिकोप्टर एकपछि अर्को गर्दै दुर्घटना हुने क्रम बढ्दो छ । हुँदाहुँदा काठमाडौंको सुविधा सम्पन्न भनिएको ग्रान्डी अस्पतालको छतमा गएको असार १६ गते सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको थियो । भीआईपी हुन या भूइँमान्छे सबैको ज्यानको मोल एउटै हुन्छ । त्यसैले हवाई सेवालाई सुरक्षित बनाउन सबैको अधिकार र कर्तव्यलाई ख्याल राख्न जरुरी छ । 

 


यस्तो छ दुर्घटनाको नालीबेली 


अहिलेसम्म नेपाली भूमिमा ९१ वटा विमान दुर्घटना भए । जसमा सेनाको वायुसेवा दुर्घटनाको रेकर्ड छैन । युएस बंगलाको विमान दुर्घटना इतिहासकै अर्को दुर्घटना थियो । जसले १६ जना उम्दा चिकित्सक गुमाउनु प¥यो । साउनमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाले ज्यान गुमाए ।  अघिल्लो वर्ष हुम्लामा मकालु एयरको एउटा विमानलाई आकस्मिक कर्णाली नदीमा अवतरण गराइयो । अवतरणका क्रममा विमानका पाइलट र कोपाइलट घाइते भए । दुर्घटनाग्रस्त विमानलाई कर्नाली नदीले वगायो ।

 


यसअघि फागुनमा काष्टमण्डप एयरको विमान दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको थियो भने नौ जना यात्रु घाइते भएका थिए । काष्टमण्डम एयरको विमान दुर्घटना भएको केही समय अघि  म्याग्दीको घोप्टेभीरमा भएको दुर्घटनामा २३ जनाको मृत्यु भएको थियो ।

 


त्यस्तै दोलखामा ०७२ बैशाखमा अमेरिकी सेनाको युएच १ वाई हुवे हेलिकप्टर दुर्घटनामा चालक दलका सदस्यसहित १३ को मृत्यु भएको थियो । यो हेलिकोप्टर विनासकारी भूकम्पपछि उद्दारका लागि नेपाल आएको थियो ।

 


त्यो दुर्घटनाको चर्चा सेलाउन नपाउँदै सिन्धुपाल्चोकको यमुनाडाँडामा माउन्टेन हेलिकोप्टर्स ९ एनएजेपी नामक हेलिकोप्टर दुर्घटना भयो । दुर्घटनामा क्याप्टेन सुवेक श्रेष्ठसहित चार जनाले ज्यान गुमाए ।

 


२०७१ मा अर्घाखाँचीको मसिने लेकमा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।
यी त हवाई दुर्घटनाको पछिल्लो घटना हो । नेपाली आकाशमा यस्ता थुप्रै दुर्घटना भइसकेका छन् ।

 

 

सन् १९५५ मा कालिंङगा एयरको विमान सिमरा एयरर्पोटमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो । जुन नेपालको इतिहासमा पहिलो हवाई मानिन्छ ।

 


त्यसपछि १९५६ मा इण्डियन एयरलाईन्सको विमान काठमाडौमा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाउनु परेको थियो भने सोही एयरलाइन्सको विमान १९५८ मा टिकाभैरवमा झर्दा  २० जनाको मृत्यु भएको थियो ।
नेपाल एयरलाइन्सको विमान १९६० मा भैरहवामा दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाए ।

 

यस्तै नेपाल एयरलाइन्सकै विमान १९६२ मा ढोरपाटनमा दुर्घटना भयो, जुन घटनामा परी १० जनाको मृत्यु भयो । सोही कम्पनीको विमान सोही स्थानमा फेरि त्यही वर्ष दुर्घटना भयो, जसमा ६ जनाको निधन भएको तथ्यांक छ ।

 


१९६९ मा नेपाल एयरलाइन्सको विमान बतासेडाँडामा दुर्घटना हुँदा ३५ जनाको ज्यान गयो । यसैगरी १९७० मा नेपाल एयरलाइन्सको विमान दिल्लीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भयो । सोही बर्ष रोयल फ्लाईट जोमसोममा दुर्घटना भयो, जसमा १ जनाको मृत्यु भएको थियो । यस्तै १९७२ मा रोयल्फ्लाईट धुलिखेलमा दुर्घटना हुदा ३१ जनाको मृत्यु भएको थियो ।

 


१९७५ मा नेपाल एयरलाइन्सकै विमान काठमाडौको बौद्धमा दुर्घटना हुदा ५ जनाको ज्यान गयो भने त्यसको एक बर्षपछि नेपाल एयरलाइन्सको विमान मेघौलीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । १९७९ मा भिभिआईपी लाङलाङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । विराटनगरमा सन् १९८१ मा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भयो भने सोही एयरलाइन्सको विमान १९८४ मा भोजपुरमा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए ।

 


१९८५ मा नेपाल आर्मी सवार विमान दुर्घटना भयो । जसमा २५ जनाको ज्यान गयो । १९९२ मा थाई एयरको विमान घाङ्फेदीमा दुर्घटना हुँदा त्यसमा सवार ११३ जनाको मृत्यु भयो भने सोही बर्ष पिआइएको विमान भट्टेडाडामा दुर्घटना भयो । जसमा १६७ जनाको ज्यान गयो । नेपालमा भएको यो सबैभन्दा ठूलो दुर्घटना हो ।
१९९५ मा नेपाल एयरलाइन्सको विमान काठमाडौमा दुर्घटना भयो जसमा २ जनाको मृत्यु भएकोे थियो ।

 


१९९८ मा ए.टि.एस.सि लुम्बिनी विमान म्याग्दीमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाउनु पर्यो भने सोही बर्ष एसियन एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा ३ जनाको मृत्यु  भयो । १९९८ मा नै एनएसीको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा १ जनाले मृत्यु भएको थियो ।

 


१९९९ मा नोकेन एयरको विमान जुम्लामा दुर्घटना हुदा ५ जना र लुफ्थान्सा एयरको विमान भष्मासुर डाँडामा दुर्घटना हुँदा ५ जनाको नै मृत्यु भयो । १९९९ मा नै नेकोन एयरको विमान रामकोटमा दुर्घटना हुँदा १५ र त्यही बर्ष स्काईलाईनको विमान मकवानपुरमा भएको दुर्घटनामा १० जनाको ज्यान गयो ।

 


२००१ मा फिष्टेल एयरको हेलिकोप्टर  रारा तालमा खस्दा ४ जनाको मृत्यु भएको थियो । २००२ मा स्काईलाईनको विमान सुर्खेतमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो भने सोही बर्ष कास्कीमा भएको सांग्रिला एयरको विमान दुर्घटनामा १८ जनाको ज्यान गयो । 

 


सन् २००३ मा सिम्रिक एयरको विमान एभरेष्ट बेशक्याम्पमा भएको दुर्घटनामा भयो जसमा २ जनाले ज्यान गुमाए । २००४ मा लम्जुङमा यति एयरलाइन्सको बिमान दुर्घटना हुँदा ३ जनाको ज्यान गयो भने रामेछापमा २००५ मा एयर डाइनेष्टिको हेलिकोप्टर  दुर्घटनामा  ३ जनाको नै मृत्यु भएको थियो ।

 


सन् २००६मा जुम्लामा यती एयरलाइन्सको बिमानमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भयो भने सोही बर्ष श्री एयरलाइन्सको विमान ताप्लेजुङ्गमा दुर्घटना हँुदा २४ जनाको घटनास्थल मै मृत्यु भएको थियो ।
त्यस्तै सन् २००८ मा अनमिनको विमान रामेछापमा दुर्घनामा पर्दा त्यसमा सवार १० जनाको ज्यान गयो भने त्यही बर्ष लुक्लामा यति एयरलाइन्सको विमान दुर्घटनामा परी १९ जनाले ज्यान गुमाउनु पर्यो ।

 


सन् २०१० मा भने २ ओटा हवाई दुर्घटना भएको इतिहास छ । मकवानपुरमा भएको अग्नी एयरको विमान दुर्घटनामा १४ जनाको मृत्यु भयो भने खोटाङ्गबाट काठमाडौंको लागि उडेको तारा एयरको विमान दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो ।

 


सन् २०११ मा बुद्ध एयरको बिमान ललितपुरमा दुर्घटना हँुदा १९ जनाको मृत्यु भयो भने जोमसोममा भएको दुर्घटनामा १५ जनाको मृत्यु भयो ।

 


यसरी अन्तर्राष्ट्रिय नागरिक उडड्यन प्राधिकरण (आइकाओ) ले नेपालको आकाश असुरक्षित भएको भन्दै विभिन्न चेतावनी दिइरहेको बेला हवाई दुर्घटना हुने क्रम पनि बढिरहेको छ । उड्डयन सुरक्षाका लागि अनिवार्य मानिने बिभिन्न ८ वटा पक्षमा नेपालले न्युनतम मापदण्ड समेत पूरा नगरेको आईकाओको तर्क छ ।

 

उड्डयन सुरक्षाका विषयमा विश्वका १ सय ४८ मुलुकमा गरिएको अध्ययनमा विश्वको सरदर स्तरभन्दा नेपाल १५ प्रतिशत थप कमजोर अवस्थामा रहेको आईकाओको प्रतिवेदनमा उल्लेख छ । आईकाओको उड्डयन सुरक्षा प्रतिवेदनले नेपालको उड्डयन सुरक्षामा ५८ प्रतिशत कमजोरी रहेको देखाएको छ ।

 


दुर्घटनाका कारण 


विषम भू–धरातल, तीब्र गतिको मौसमी फेरबदल, पर्याप्त सूचना संकलन र प्रवाह गर्न विमानस्थमा आधुनिक उपकरणको अभाव, पुराना मोडलका जहाजमा उपयोगी प्रविधि जडान नगरिनुलगायत कारण नेपालमा हवाई दुर्घटना बढिरहेको विज्ञहरुको तर्क छ ।

 


सन् १९५० को दशकयता जहाज दुर्घटनापछि प्रत्येक पटक छानबिन आयोग बने । तर, आयोगले दुर्घटना नदोहोरिउन भन्नाका लागि प्राविधिक र मानवीय कमजोरी हटाउन प्रशस्त सुझाव दिएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

 


सन् १९४९ मा पहिलो पटक नेपालमा विमान अवतरण भएको थियो तर त्यसको ६ वर्ष पनि पूरा हुन नपाउँदै सन् १९५५ को मार्च ८ मा कालिंगा एयरको जहाज सिमरामा दुर्घटना भयो र दुई जनाका ज्यान गएको थियो । त्यसयता नेपाली आकाशमा दर्जनौ हवाई  दुर्घटना भएका इतिहास छ । 

हेलिकोप्टर दुर्घटना