समाचार अर्थ

डडेल्धुरामा वार्षिक २० मेट्रिक टन मह उत्पादन

डडेल्धुरामा वार्षिक २० मेट्रिक टन मह उत्पादन

अमरगढी । डडेल्धुरामा वार्षिक २० मेट्रिक टन मह उत्पादन हुने गरेको एक तथ्याङ्कले देखाएको छ । 

 

साविकको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा सरदर १५ देखि २० मेट्रिक टन मह उत्पादन हुने गरेको हो । पहिलेदेखि नै मौरीपालनतर्फ कृषक लागिरहे पनि पछिल्लो समय मौरीका चरन क्षेत्र विस्तार भएका र मौरीलाई आवश्यक पर्ने चरन क्षेत्र पर्याप्त भएकाले मह उत्पादन बढ्दै गएको अमरगढी कृषि शाखा अधिकृत टेकबहादुर विष्टले बताए । 

 

“जिल्लामा मौरीपालनको सम्भावना व्यापक रूपमा रहेको छ, उत्पादित महले सजिलै बजार पाउने र आम्दानी राम्रो हुने भएकाले कृषक पनि यसतर्फ आकर्षित भइरहेका छन्”, अधिकृत विष्टले भने । जिल्लामा अहिले करीब १० हजार घारमा मह उत्पादन हुने गरेको छ । त्यसमध्ये ६० प्रतिशत पुराना घार र ४० प्रतिशतमात्रै आधुनिक घारमा मौरीपालन हुने गरेको सो कार्यालयले जनाएको छ । 
मह उत्पादन गर्दा बजार सजिलै पाइने भएकाले मौरीपालन व्यवसाय सञ्चालन गर्न सहज र आम्दानी राम्रो हुने गरेको अजयमेरु गाउँपालिका–१ खानीका मौरीपालक कृषक लक्ष्मी पाठकले बताए । अहिले जिल्लामा करीब ४०० कृषक मौरीपालन व्यवसायमा आबद्ध छन् । 

 

मौरीपालनलाई व्यावसायिक बनाउन कार्यालयले पकेट क्षेत्र तोकेर मौरीपालनका लागि आवश्यक पर्ने घार तथा युवालाई रु दुई लाख बराबरको अनुदान र अन्य औजारलाई २५ देखि ५० प्रतिशतसम्मको अनुदान उपलब्ध गराइँदै आएको अधिकृत विष्टले जानकारी दिए । 

 

अमरगढी र परशुराम नगरपालिका, आलिताल गाउँपालिका र गांखेत, नवदुर्गा को चमा, चौड, अजयमेरुको समैजी, गन्यापधुरा भागेश्वर बगरकोटलगायतका क्षेत्र मह उत्पादनमा पकेट क्षेत्र मानिन्छन् । त्यहाँका कृषकले स्थानीय एपी सेरेना जातको मौरीपालन गर्दै आएका छन् । माहुरीपालनबाटै व्यवसायीले वर्सेनी करोडौँ आम्दानी गर्न सफल भएका छन् । डडेल्धुराका विभिन्न गाउँपालिका र नगरक्षेत्रमा बढ्दै गइरहेको माहुरीपालनका कारण जीवनस्तरमा राम्रो परिर्वतन आएको बताइएको छ । 

 

व्यावसायिक मौरीपालनले स्थानीयस्तरमा रोजगारी सिर्जना भएको छ भने मह तथा घार निर्यातका लागि डडेल्धुरा प्रसिद्ध बन्दै गएको छ । आधुनिक र खोपे घारमा मह उत्पादन भइरहेकोे जिल्ला कृषि ज्ञान केन्द्र कार्यालयको तथ्याङ्क छ । मौरीपालक किसानको समूहगत आम्दानी वर्सेनी रु दशौँ करोड रहेको जिल्ला कृषि ज्ञानकेन्द्र कार्यालयले जनाएको छ । 

 

मौरीपालनबाट छोटो समयमै फेरिएको जीवनप्रति यहाँका किसान दङ्ग छन् । मौरीपालनप्रतिको आकर्षणलाई ध्यानमा राखी सिप विकास, बजार र चरन प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको सो कार्यालयले जनाएको छ । सिँचाइ सुविधा नचाहिने र कम लगानीमै व्यवसाय गर्न सकिने तथा उच्च बजार सम्भावना भएकाले मौरीपालन व्यवसायमा आकर्षण बढिरहेको जिल्ला कृषि ज्ञानकेन्द्रले जनाएको छ । 

मह उत्पादन

विशेष