मेरो परिवार मेरो कथा राजनीति

को हुन रविन्द्र अधिकारी ?

को हुन रविन्द्र अधिकारी ?

‘मैले जिम्मेवारी लिनु अगाडि २३५ काम भएको गौतमबुद्ध विमानस्थलाई जसरी भए पनि अगाडि बढाउने सोच साथ काम गर्दै जादा अहिले ७०५ काम सम्पन्न भएको छ । ठेकेदारका समस्या समाधान गरियो, पैसाको उचित प्रबन्ध र व्यवस्थापन गरियो । प्राविधिक तथा अन्य समस्यासमेत निरुपण गरियो । फलस्वरुप यतिखेर विमानस्थल युद्धस्तरमा निर्माण भइरहेको हो ।’

 

पर्यटनमन्त्री रविन्द्र अधिकारीले सन्तुष्टि प्रकट गर्दै पाँच दिनअघि फेसबुकमा यस्तो भावना पोख्नुभएको थियो । अब उनका यी भावना सपनामा अनुवाद भएको छ । पोखराकै माटोले जन्माएका स्वनामधन्य कविशिरोमणि लेखनाथ पौड्यालको कालमहिमाका अजर अमर तिनै पंक्ति ‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो’ को नियतिले उहाँलाई आफ्नो बाहुपासमा पारेको छ । यी उम्दा प्रतिभाको अन्त्यसंगै नयाँपुस्तामा सरेको राजनीतिक इतिहासमा प्रश्न जन्मिएको छ । सबैको अनुहारले सोधिरहेको छ– अब के हुन्छ ?  देशैभरि परेको सिमसिमे वर्षाले यतिखेर मानौं विछोडको आँसु बर्साइरहेको भान हुन्छ । 

 

स्वर्गीय अधिकारीको २०२६ बैशाखमा कास्की जिल्लाको भरतपोखरी गाविस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीको जेष्ठ सुपुत्रको रुपमा भएको थियो ।  श्री ब्रह्म ज्योति प्रा.वि. शान्ति पंधेरा गैरागाउँबाट प्राथमिक शिक्षा र शान्ति उदय मा.बि.(हालको उच्च मावि) बरपाण्डेथुमबाट माध्यमिक शिक्षा हासिल गर्नुभएको थियो ।  बुवा इन्द्र प्रसाद अधिकारी माध्यमिक विद्यालयका शिक्षक थिए, जसका कारण पनि पढ्न घरायसी वातावरण प्राप्त भयो । 

 

सानै उमेरदेखि राजनीतिक गतिविधिमा  चासो राख्ने अधिकारी विद्यालयमा अनेरास्ववियू, रेडक्रस, र क्लबहरुमा संलग्न हुनुभयो ।  विद्यार्थीका लागि निशुल्क कोचिङ कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसनलगायतका माध्यमबाट राजनीतिक जागरण सृजना गर्न सफल अधिकारी हाईस्कुले जीवनमा विद्यालयका जेहन्दार, लगनशील अध्ययनशील र अनुशासित  हुनुहुन्थ्यो । उहाँहरुले हजारौं दर्शक बीचमा आमा गीति नाटक तथा प्रगतिशील सांस्कृतिक कार्यक्रम  विद्यालय जीवनमै प्रदर्शन गर्नुभएको थियो । त्यस समयमा उहाँले  विद्यालयमा मात्र होइन त्यस क्षेत्रमै अनेरास्ववियूको नेतृत्व  गर्नु भएको थियो ।

 

विद्यार्थी राजनीति र उच्च शिक्षा

प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएको भएपनि  केही समय पछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन  शुरू गर्नु भयो । बिद्यालयदेखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि विद्यार्थी राजनैतिक गतिविधिमा सक्रिय रहनु मात्र भएन, २०४४ सालमा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्ववियू पृथ्वीनारायण क्याम्पस सदस्य ,२०४५ सालमा नै अनेरास्ववियू कास्की जिल्ला कमिटी अध्यक्ष, २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्ववियू केन्द्रीय सदस्य, २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियू सभापति निर्वाचित हुनुभयो । २०५६ सालमा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष बन्नू भएका अधिकारी २०५३ सालमा नै स्ववियू काउन्सिल नेपालका संयोजक निर्वाचित हुनु भएको थियो ।

 

त्रिविबाट व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएका उहाँले  संबिधानसभा लोकतन्त्र र पुनर्संरचना नामको पुस्तक २०६३ मा प्रकाशित गर्नु भएको छ । बिगत दुई दशक देखि उहाँका  सयांै अनुसन्धान र राजनितिक लेखहरु छापिएका छन । २०४५ मा १ बर्ष माध्यमिक विद्यालयमा अध्यापन गर्नु भएका अधिकारी अहिले  पनि बिभिन्न क्याम्पसहरुमा अतिथिको रुपमा अध्यापन गर्नुभयो ।  एशियाली विद्यार्थी संगठन , विश्व प्रजातान्त्रिक युवा संघलगायत अन्तराष्ट्रिय युवा विद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गर्नु भएका अधिकारीले विभिन्न अन्तराष्ट्रिय सम्मलेनमा भाग लिनु भएको छ ।

 

विद्यार्थी आन्दोलन र जेल

पंचायतकालमा विद्यार्थी आन्दोलन स्वतन्त्रता, प्रजातन्त्र, प्राज्ञिक स्वतन्त्रताको पक्षमा क्रियाशील थियो । पञ्चायती निरंकुशतालाई समाप्त पार्ने आन्दोलनको अभिष्ट थियो । शैक्षिक मुद्दा र माग पनि व्यवस्थासंग नै जोडिएका हुन्थे । ‘आजको आवश्यकता संयुक्त संघर्ष प्रजातन्त्रका लागि पञ्चायतको अन्त्य’ भन्ने नाराका साथ ०४६को जनआन्दोलनमा क्रियाशील रविन्द्रले पञ्चायतकालमा पटक पटक गरी ६ महिना जेल र हिरासतमा बिताउनु भयो । ०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो । त्यतिबेला उहाँले क्याम्पस, जिल्ला र संयुक्त आन्दोलन परिचालन कमिटीका हैसियतले सफल नेतृत्व गर्नु भएको थियो । ०४६ को  परिवर्तन पछि विद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनु पर्छ भन्ने विचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गर्नु भयो । कलेज भवन निर्माण, क्याम्पसगेट, बाटो निर्माण, शैक्षिक वातावरण , पुस्तकालय, रचनात्मक क्रियाकलाप, शैक्षिक गुणस्तर सुधार,क् याम्पसमा  विद्यार्थीको पोशाकजस्ता विषयमा ठूलो सुधार र परिवर्तन भयो ।

 

त्रिविको स्ववियू सभापति हुँदा पुस्तकालय, शैक्षिक वातावरण, शैक्षिक गुणस्तर, खेल मैदान निर्माण, प्रबेश परीक्षा, बरिष्ठ प्राध्यापकहरुको सम्मानजस्ता रचनात्मक कार्यक्रम संचालन गरेर लोकप्रियता कमाउनु भएका अधिकारीले विश्वविद्यालयमा निरन्तर प्राज्ञिक बहस संचालन गर्नु हुन्थ्यो । 

 

शिक्षामा भएको निजीकरण र व्यापारीकरण, प्राविधिक शिक्षाको बिस्तार र गुणस्तर, सबैलाई गुणस्तरीय शिक्षाजस्ता आन्दोलन र राष्ट्रियताको पहरेदारी, कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू –भाग डुबाउने लक्ष्मणपुर बाँधको बिरोध तथा पूर्वयुवराज  पारस शाहको ज्यादती विरुद्ध ५ पाँच लाख लाख २३ हÞजार हस्ताक्षर दरबारमा बुझाउने, यातायात लगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई गरेकै कारण विद्यार्थी आन्दोलनमा उहाँको नाम नमेटीने गरी लेखिएको छ ।

 

एमाले राजनीति 

२०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गर्नु भएका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित हुनु भएको थियो । २०४०मा इलाका पार्टी कमिटी, २०४६, ०४७ मा पोखरा नगर कमिटी, २०४८ मा पार्टी जिल्ला कमिटी र त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय रहनु भयो । २०६०  र ०६३ मा दुई पटक पार्टी सचिवमा निर्वाचित हुनु भयो । ०६२–६३ को आन्दोलन र त्यस अगाडिको प्रतिगमन विरुद्धको  आन्दोलनमा पटकपटक गरी पाँच महिना जेल बस्नु भयो । 

 

संसद र संविधान सभा

२०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्पm कास्की क्षेत्र नं ३ बाट निर्वाचित  भएपछि संसदमा उहाँले खेलेको भूमिका सर्वत्र प्रशंसित भयो । त्यसपछि सार्वजनिक  लेखा समितिमा रहेर जलविद्युत, फ्रिक्वेन्सी, सार्बजनिक संस्थान, बैंक, उद्योग, सेना, विकास खर्च, मेसिन रिडेबल पासर्पोर्टआदि विषयमा विभिन्न उपसमितिमा रहेर त्यसको नेतृत्व गरी काम गर्नु भएको छ । संविधानसभामा राष्ट्रिय हितको संरक्षण समिति र युवाहरुको दबाब समिति निर्माण गरी संविधान सभा निर्माणमा निरन्तर खबरदारी गर्नु भएको थियो । संविधानसभा निर्माणमा सुरक्षा र अन्तराष्ट्रीय सीमाका बिषयमा उपसमितिको नेतृत्व गर्नु भएको थियो । २०७० को चुनाबपछि संसदको विकास समितिमा सभापति रहनु भयो । संसद्को विकास समितिमा रहदा नेपालमा विकासको बहसलाई नयाँ उच्चाई दिन सफल अधिकारीले राष्ट्रिय गौरवका योजना  र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशील रहनुभयो । लगातार तेश्रो पटक निर्वाचित अधिकारी हाल नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री हुनुहुन्थ्यो । 

 

विदेश  भ्रमण

विद्यार्थी नेता,पार्टी नेता र संबिधानसभा र संसद सदस्यका हैसियतले नेपालको प्रतिनिधित्व गरेर उहाँले अमेरिका, जापान, दक्षिण कोरिया, भारत, चीन, थाइल्याण्ड, भियतनाम, इटाली, श्रीलंका, रूस, क्यूबा, पाराग्वे, दक्षिण अफ्रिका, अल्जेरिया, कम्बोडिया, नर्वे, लगायतका देशको भ्रमण गरिसक्नु भएको छ ।

 

राजनीति र विकास

राजनीति र बिकास एक अर्काका सम्बन्धित हुन भन्ने ठान्ने रबिन्द्र अधिकारी संबिधानसभा र संसदमा रहँदा देश विकासका एक स्वप्नद्रष्टाका रुपमा उदाउनुभयो । पोखराको पर्यटन विकास, ग्रामीण बाटो, फेवा बेगनास, रूपा लगायत ताल तलैयाको संरक्षण, सरसफाई, पोखरा फराकिलो बनाउने, पुलहरू निर्माण गर्ने ,पोखरा विश्वविद्यालय ,पृथ्वीनारायण क्याम्पस लगायत विभिन्न  विद्यालयहरुको  निर्माण, पोखराको खानेपानी,  क्लबहरु, खेलकूदको क्षेत्रमा पनि उलेख्य भूमिका खेल्नु भएको छ । पोखरालाई  विश्वकै उत्कृष्ट शहर बनाउने अभिष्ट बोक्नु भएका अधिकारी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल, चक्रपथ, काठमाडौं–पोखरा लुम्बिनी रेलमार्ग, मध्यपहाड़ी राजमार्ग, जस्ता पुर्बाधार निर्माणको दबाब सृजना गर्ने काम गर्न महत्वपूर्ण भूमिका खेल्नु भयो । विकासका लागि राजनीति भन्ने मान्यता राख्ने अधिकारी  विकासप्रेमी युवानेता हुनुहुन्थ्यो । उहाँ पछिल्लो सयम मेलम्ची खानेपानी आयोजना, कर्णाली करिडोर, बागमती करिडोर, कालिगण्डकी करिडोर, नेपाल–चीन जोड्ने नाकाहरु, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, निजगढ–काठमाडौं फास्टट्रयाक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल लगायतका आयोजनाको अनुगमन, निरीक्षण र उक्त आयोजनाहरु कार्यान्वयनका लागि क्रियाशील हुनुहुन्थ्यो  ।

 

प्रकाशित पुस्तक 

१) संविधानसभास् लोकतन्त्र र पुनर्संरचना

२) समृद्द नेपाल

सँगै  राजनीति एवं विकाससम्बन्धी लेख तथा रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।
 

रविन्द्र अधिकारी