कभर स्टोरी

पार्टीको बिग्रदो अवस्था देखेर धरधरी रोइन झाँक्री, अध्यक्ष ओली गम्भीर नभएको गुनासो

‘पार्टी फुट्न दिन्नौ तर संकट आउँदैछ’

पार्टीको बिग्रदो अवस्था देखेर धरधरी रोइन झाँक्री, अध्यक्ष ओली गम्भीर नभएको गुनासो

रामकुमारी झाँक्री नेपाली राजनीतिमा नयाँ नाम होइन । बिद्यार्थी राजनीतिबाट उठेकी झाँक्री हाल सत्तारुढ दल नेकपाको केन्द्रीय सदस्य र सांसद पनि छन् । आफनो जीवनमा निकै उतारचढाव भोगेकी झाँक्री पटक–पटक राजनीतिक उतारचढावको शिकार पनि बनिन् । 

 


निकै संघर्षशील र जुझारु व्यक्तित्व भएकी झाँक्रीलाई राजनीतिबाटै बिस्थापित गराउने थुप्रै प्रयास पार्टी भित्र र बाहिरबाट भए, हुँदैपनि छन् । सामान्य बिषयवस्तुलाई उछालेर सामाजिक संजालमा कुप्रचार गरी उनको मनोबल गिराउने प्रयास पनि नभएका होइनन् ।  तर, सबै प्रकारका दुव्र्यवहार सहेर भएपनि राजनीतिको यात्रालाई उनले अघि बढाएकी छिन् । 

 


नेतृ झाँक्रीको पछिल्लो समय पुनः चर्चा चलेको छ । संसद्को अर्थ समितिमा मेलम्ची खानेपानी आयोजना र नेपाल टेलिकमको फोर जी सेवा बिस्तारमा जुन कडाइकासाथ उनी प्रस्तुत भइन् त्यसले मुलुकमा बढ्दै गएको भ्रष्टाचारबारे थुप्रै कुरा बाहिर ल्याउन मद्दत गरेको छ । 


नेतृ झाँक्रीसंग नेपाल आजको जम्काभेट हुँदा उनले धक फुकाएर कुरा गरिन् । त्यसक्रममा उनको पार्टी नेकपा र सरकारको कुरा भयो । 


अध्यक्ष ओली नै उदासिन 


नेतृ झाँक्रीले पार्टी सुधार्न प्रधानमन्त्रीसमेत रहेका केपी ओली बढी जिम्मेवार भएको आरोप लगाइन् । हतारहतारमा पार्टी एकता गरिएको परिणामको फल अहिले सबैले भोग्नु परेको उनको गुनासो छ । सुरुमा पार्टी एकताको प्रक्रियाका कुरा गर्दा आफूहरुलाई एकताबिरोधी भनिएको स्मरण गर्दै उनले ओली र प्रचण्डले हतारमा पिरती लगाउँदा अहिले विवाद सृजना भएको उल्लेख गरिन् । 

 


प्रचण्ड दोस्रो नम्बरका अध्यक्ष


नेकपामा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएपनि ओली नै एक नम्बरको अध्यक्ष भएको झाँक्रीको भनाइ छ । यसकारण पार्टीमा उत्पन्न समस्याको हल साझारुपमा खोज्नुपर्ने भएपनि ओली नै बढी जिम्मेवार रहेको उनको ठहर छ । 

 


खनाल, नेपाल, गौतमसंग पनि असन्तुष्ट


नेतृ झाँक्रीले पार्टीका अन्य शीर्ष नेताहरु झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतमहरु पनि निरीह जस्तै रहेको बताइन् । जतिबेला आवश्यक त्यो बेला मौन बस्ने र बेमौसममा बाजा बजाउँदै हिंडने नेता खनाल, नेपाल र गौतमको कमजोरी भएको उनले औंल्याइन् । यसको मार पार्टीमा आफूजस्ता थुपैै कार्यकर्ताले सहनु परेको उनको दुखेसो छ । 

 


भ्रष्टाचारबिरुद्ध बोल्न अपील


अर्थसमितिकी सदस्यसमेत रहेकी नेतृ झाँक्रीले नेपाल टेलिकमको फोर जी सेवा बिस्तारमा शंक व्यक्त गरेकी छिन् । ७ अर्बमा हुने काम २१ अर्बमा ठेक्का दिनुमा अनियमितता भएको हुनसक्ने उनको शंका छ । यो बिषयमा संसदीय समितिले थप अध्ययन गरिरहेको उनले जानकारी दिइन् । 


यस्तै, मेलम्ची खानेपानी आयोजनाबाट इटालियन सीएमसी कम्पनीलाई भगाएर गल्ती गरेको र यसको सम्पूर्ण दोष बहालवाला मन्त्रीले लिनुपर्ने उनको प्रष्ट भनाइ छ । 


उनले मुलुकमा बिद्यमान भ्रष्टाचारबिरुद्ध बोल्न लेख्न सबैलाई अपील समेत गरेकीछिन् । 

 


आशा देखाउनु छ, सरकारको बिरोध गर्दिन

 


सरकारको एक बर्षको काम र अहिलेको कार्यशैली सन्तोषजनक नभएपनि विकास र समृद्धि उन्मुख रहेको उनी बताउँछिन् । निराश भएका जनतालाई थप निराश बनाउने नभइ उज्यालो भविश्यतर्फ डोर्याउनुपर्ने भएकाले आफूले आशाको दियो बाल्न खोजेको उनको राय छ । 

 


पार्टी फुट्न दिन्नौ तर संकट आउँदैछ

 


नेतृ झाँक्रीले पार्टी र सरकारका लागि निकट भविश्यमै गम्भीर संकट आउन लागेको दाबी गरिन् । जस्तो संकट आएपनि पार्टी बिघटन हुन नदिने र सरकारलाई पनि सफल बनाउन प्रतिबद्ध रहने उनको भनाइ छ ।