विचार

के व्यापारिक रंगशाला बनाउन चन्दा जरुरी छ ?

भानुभक्त आचार्य 

के व्यापारिक रंगशाला बनाउन चन्दा जरुरी छ ?

दुःखी गरिबका घर बनाइदिने धुर्मुस–सुन्तलीलाई सरकारले चितवनको भरतपुरमा तीन अर्बको स्टेडियम बनाउने जिम्मा लगायो  । त्यो पनि पैसा खोजेर बनाउनु रे । नेकपाका अध्यक्षद्वय र वर्तमान प्रधानमन्त्री साक्षी । मेरा मनमा उठेका प्रश्नः

 

१. पाकिस्तानमा त वर्तमान प्रधानमन्त्रीेले घोषणैै गरे — पैसा छैन, विदेशी ऋणमा बनाउन सकिन्न । अनि अहिले ठूलो जलबिद्युत आयोजनाको लागि पैसा संकलन हुँदैछ । तर पनि प्रम इमरान खानले चन्दादाताहरुलाई सेयर दिने कुरा गरेका छन् । के नेपाल सरकारले आफूसँग पैसा नभएर टाट पल्टिएको घोषणा गरेको हो ?

 

२. सरकारले अनावश्यक भ्युटावरहरु बनाउने घोषणा र सिलान्यास गरेको गर्‍यैै छ । ती भ्युटावरहरुमा लाग्ने पैसा यता लगाउन मिल्छ । भ्यु टावरभन्दा स्टेडियम आवश्यक हो । धुमुर्स सुन्तलीले खर्चको पारदर्शी हिसाबकिताब राख्छन् । समयमा स्टेडियम बनाउछन् । कुरा खत्तम ।

 

३. नेपाल सरकारको भद्रगोल पारा देखेर सरकारका निकायहरुसँग विश्वास नभएर धुर्मुस सुन्तलीलाई गरिब दुःखीको बिजोग नहोस् भन्दै स्वदेश–विदेशमा भएका मानिसहरुले आफ्नो गास कटाएर चन्दा दिएका हुन् । पैसा बढी भएर राख्ने ठाउँ नपाएर दिएका होइनन् । ठूला संरचनामा सरकारले पैसा खोज्नुपर्छ । पारदर्शी र चुस्त व्यवस्थापन धुर्मुस–सुन्तलीको हुनसक्छ ।

 

४. भर्खरै रुकुमका कृष्ण ओली सरकारी कामकै सिलसिलामा विद्युतीय प्रवाहका कारणले गम्भीर घाइते भए । दुवै हात र एउटा खुट्टा काट्नु पर्यो । कर्तव्य पालनको सिलसिलामा भएको त्यस्तो गम्भीर घटनामा सरकारका निकायहरुले सम्पूर्ण खर्च व्यहोर्नु पर्ने । सबै पन्छिएछन् । त्यो घटनाबाट आहत भएका स्वदेशी विदेशी मनकारीहरुले कृत्रिम हात र खुट्टाका लाग्ने खर्च विभिन्न अभियानबाट उठाइदिए । 

 

अरब देशहरुमा नेपालीहरुलाई विभिन्न आरोपमा मृत्युदण्डको सजायँ दिइन्छ । ब्लड मनि तिर्दा तिनले सजाय माफी पाउँछन् । सरकारले हरेक विदेशजाने कामदारबाट कल्याणकारी शुल्क लिएको हुन्छ । तर, अप्ठेरो परेकालाई दिँदैन । पहुँचवाला भए भिन्नै कुरा । मृगौला पीडित, गम्भीर रोगी, आगलागी पीडित, भूकम्प पीडित, बाढी पीडित आदि अनेक शीर्षकहरु छन् — सरकारी उदासिनता र लापरबाहीका कारण मानिसले ज्यानै गुमाउन सक्ने । त्यस्ता बेला हो व्यक्तिले आफ्नो गास कटाएर मानवीयताका आधारमा चन्दा दिने । व्यापारिक प्रतिष्ठानहरु बनाउन सरकारले पैसा जुटाउने हो, नत्र सेयर बेचेर लगानी आह्वान गरौं, चन्दा होइन ।

 

५. देशभरि पप्पु कन्स्ट्रक्सन जस्ता सयौं निर्माण कम्पनीहरु छन्, जसले टेन्टरमा आएको आधाभन्दा बढी रकम नेता कार्यकर्तालाई पोस्छन् । नत्र तिनले या त टेन्डर पार्न सक्दैनन् या राजनीतिक अवरोधका कारणले काम गर्न सक्दैनन् । देशभरि मेडिकल कलेज खोलेर पैसा कमाउन तम्सेका माफियाहरु छन्, जो मेडिकल कलेजमा हो भने अहिल्यै अर्बौ लगानी गर्न तयार छन् । देशमा पैसा बढी भएर स्वीस बैक वा अन्य देशमा पैसा राख्ने मानिसहरु छन्, जो कर छल्न वा कालो धन सेतो पार्न पैसा विदेश लान्छन् र विदेशी लगानी भनेर स्वदेश ल्याउछन् । तिनीहरुको सम्पति खोजौं, राष्ट्र निर्माणमा लगाऔं ।

 

६. देशभरिका पूर्णकालीन राजनीतिक कार्यकर्ताहरुको आम्दानीको स्रोत र सम्पति छानबिन गरौं । अकुत सम्पत्ति पत्ता लगाऔं । हरेक प्रदेशमा त्यस्ता स्टेडियम बन्न सक्ने गरी पैसा छ । अरु त अरु मालपोत कार्यालय, भन्सार र यातायात कार्यालयमा हुने भ्रष्टाचार तीन महिना निगरानी गर्ने हो भने पनि तीन–चारओटा स्टेडियम बन्न सक्छन् । एनसेलको बिक्रीकर बापत २५–३० अर्ब अझै उठाउन बाँकी छ । अरु राजश्व छल्ने र तिर्न आनाकानी गर्ने कति छन् कति ।

 

७. नेताहरु विदेश गएर उपचार गर्न माहिर छन् । वर्तमान प्रधानमन्त्री, सत्तापक्ष र विपक्षी दलका नेताहरुले नै सरकारी ढुकुटीबाट उपचारखर्च भनेर एक अरबभन्दा बढी करोड खर्च गरेका छन् । मितव्ययिता भन्ने कुरै छैन । गृह मन्त्रालयले कार्यकर्ता पोस्न बर्सेनी करोडौं रुपैया खर्च गरिरहेको छ । जुन सरकार होस्, खर्च बढेको बढ्यै छ । घटेको छैन । घरभएका नेताहरु डेराभाडाको पैसा समेत थापिरहेका छन् । निजी काममा उपत्यका बाहिरजाँदा समेत भ्रमणभत्ता लिन्छन् । विदेश पुगेर आफन्त वा साथीसँगीकोमा बस्ने र स्वदेश फर्किँदा होटेलको बिल बुझाएर डलर लिने त कति छन् कति । तिनको छानबिन गरौं, पैसा निकालौं ।

 

८. चन्दा माग्नुको साटो सेयर बेचेर लगानी गर्न लगाउन सकिन्छ । स्वदेश–विदेशमा भएकाले गच्छेअनुसार सेयर किन्छन्, लगानी गर्छन्, बनाउछन् । कम्तीमा उनीहरुको स्वामित्व रहन्छ । खेलकुद आधारभूत आवश्यकता (गास, बास र कपास) भन्दा माथिको आवश्यकता हो । क्रिकेट स्टेडियम बनाएर त्यसलाई भाडामा लगाएर पैसा आर्जन गरिने हो । यस्तोमा व्यापारिक लगानी नजुट्ने कुरै छैन । अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा “मेरो धरहरा मै बनाउछु” भन्ने कार्यक्रम ल्याए । उनले एक महिनाको तलब पनि हाले । तर, एक करोडको हाराहारी मात्रै पैसा उठ्यो । कार्यक्रम फ्लप भो कारण थियो व्यापारिक टावर बनाउन चन्दा आह्वान । अहिले फेरि अर्कै मोडालिटीमा काम अघि बढेको छ । अर्थात् चन्दावाला मोडालिटी फेल हुन्छ ।

 

कुन आधारमा चन्दा माग्छन् हौं ? छक्क पर्छु । धुर्मुस र सुन्तलीको मानवीय उपकारकर्ताको छवि पनि सिध्याउने भए । श्री पशुपतिनाथले रक्षा गरुन् ।