खेल भिडियो

मेरो सपना भन्नु नै विश्व च्याम्पियन बन्ने हो (भिडियोसहित)

मेरो सपना भन्नु नै विश्व च्याम्पियन बन्ने हो (भिडियोसहित)

काठमाडौं । गुणराज रूचाल मुआ थाईका राष्ट्रिय खेलाडी हुन् । मुआ थाई भनेको थाइल्याण्डको राष्ट्रिय खेल हो । मुआ थाईमा स्वर्ण पदक जितिसकेका रूचालको लक्ष्य छ ‘वल्र्ड च्याम्पियन’ बन्ने । लक्ष्यमा अडिग रहेका रूचाल आफूलाई बक्सिङबाहेक अन्य कुरा सोच्ने फुर्सद नै नभएको बताउँछन् । 

 

नेपालमा अझै पनि ‘मुआ थाई’ अनौठो खेल मानिन्छ । थाइल्याण्डको युद्धमा प्रयोग भएको यस खेल थाइ आर्मीबाट सुरू भएको हो । रूचालले मुआ थाई खेल्न थालेको साढे ४ वर्ष भयो । यो दौरानमा १३ औं मुआ थाइ च्याम्पियनसिपमा वल्र्ड च्याम्पियनसँग भेट्ने मौका पाइसकेका छन् उनले । 

 

छोटो समयमै ‘मुआ थाई’ मा धेरै उपाधि पाइसकेका रूचालले अननगिन्ती पदक जितिसकेका छन् । सन् २०१६ मा नेपाल राष्ट्रिय मुआए संघबाट उत्कृष्ट खेलाडीको उपाधि पाएका उनले सन् २०१७ मा इन्डो नेपाल मुआए चयम्यिनसिपमा स्वर्ण पदक पाएका थिए । त्यसपछि २०१७ मा रूचालले थाइल्यान्डमै भएको वल्र्ड च्याम्पियनसिपमा सेमी प्रोफेसनल म्याच खेल्ने अवसर पनि पाए । त्यसको एक वर्षपछि अन्तर्राष्ट्रिय मुआए च्याम्पियनसिपमा स्वर्ण पदक र  भर्खरै राष्ट्रिय मुआए संघबाट २०१८ को बेस्ट प्लेयरबाट पुरस्कृत पनि भए । 

 

सानैदेखि नै खेलाडी बन्ने सपना बोकेका रूचालले सपना पूरा गर्नकै लागि आर्मीमा लागे । त्यतिबेला उनी आर्मीमा लाग्दा आर्मी क्ल्बमा ‘मुआ थाई’ थिएन । उनी मुआ थाईको पहिलो खेलाडी थिए । खेल्दै जाने क्रममा उनले बक्सिङ, कराते, तेक्वान्दो आदि पनि सिके । तेक्वान्दो र करातेमा उनी ब्लाक बेल्टधारी हुन् । भविष्यमा उनको यी सबै मार्सल आर्टमा डिग्री हासिल गर्ने सपना छ । 

 

खेल सँगसँगै उनी रेस्लिङको रेफ्रीको रूपमा पनि काम गर्ने गर्छन् । रेस्लिङ र बक्सिङ दुबैतिर लाग्दा समय दिन कत्तिको गाह्रो हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘आफूमा इच्छा भएपछि समय आफैं व्यवस्थित हुन्छ । रेफ्री र बक्सिङ दुवैलाई समय दिन गाह्रो छ । तर खाने मुखलाई जुँगाले छेक्दैन । जति व्यस्त भए पनि खाना खाने काम उपलब्ध भएरै छोड्छ । व्यवस्थापन गरिरहेको छु ।’ 

नेपालमा अझै पनि सबै कुरा छोडेर खेलमै मात्र समय दिन गाह्रो अवस्था छ । कुनै पनि व्यक्तिको जीवनमा आर्थिक पाटो महत्वपूर्ण हुन्छ । रूचाल भने आर्मी पनि भएका कारण आर्थिक पाटो व्यवस्थापन गर्र्न सजिलो भइरहेको बताउँछन् । खेलको लागि घर परिवारबाट पनि उनलाई पूर्ण रूपमा समर्थन छ । 

 

नेपालको खेल क्षेत्रमा पहिला भन्दा अहिले धेरै परिवर्तनको महशुस गरेका छन् उनले । भन्छन्, ‘राष्ट्रले पनि खेल क्षेत्रलाई धेरै हेरिरहेको जस्तो लाग्छ ।’ खेलाडीको लागि डाइट मुख्य कुरा हो । नेपाल र विदेशी खेलाडीमा फरक नै डाइटले पार्ने गरेको उनको बुझाइ छ । भन्छन्, ‘डाइट नै हो मुख्य कुरा । डाइटमा निकै ध्यान दिनु पर्ने हुन्छ । अझ पहिला पहिला नेपालको डाइट नै चना भन्ने मात्र बुझिन्थ्यो । अहिले त्यसमा परिवर्तन आएको छ । के के खानुपर्छ भनेर खेलाडीले बुझ्दै गएका छन् । डाइटबारे क्लास पनि हुन्छ । विदेशीले डाइट फलो गर्दै गएका कारण पनि खेलमा सुधार हुन्छ । ’

 

रूचालले डाइटको लागि महिनामा २०– ३० हजार जति खर्च गर्छन् । त्यसको केही खर्च आर्मी क्लबले पनि हेर्छ भने केही भाग तलबबाट पनि व्यवस्थाप गर्नुपर्ने हुन्छ । 

 

मुआ थाई अन्य खेल भन्दा जोखिमपूर्ण हुने उनी बताउँछन् । उनको अनुसार यस खेलमा हात खुट्टा भाँच्चिने अनुहार बिग्रिने सम्भावना धेरै हुन्छ । कम्बोडियाको खेलमा उनको दायाँ हात फ्याक्चर भएको थियो । पूूरा समय बल्ल बल्ल खेल्न सके र जित्न भने सकेनन् । यो खेल नै अरूलाई भाँचेर नै आफू बलियो हुने खेल भएको कारण यस्ता कुरा सामान्य हुने उनले बताए । 

 

केही भएको खण्डमा उनको उपचारको जिम्मा पनि आर्मी अस्पतालको छ । जसकारण उनलाई त्यत्ति गाह्रो छैन् । अन्य सर्र्वसाधारण भन्दा उनलाई बक्सिङ खेल्न  सजिलै भएको उनको जिकिर छ । 

 

नेपालमा धेरै खेलाडीले खेल र अवस्थाबारे बेलाबेलामा गुनासो गरेका सुनिन्छन् । तर रूचाल आफनो खेलबाट सन्तुष्ट छन् । सोचेको काम पूरा भइरहेको र केही पनि अपुग नभएको उनले बताए । शतप्रतिशत माग पूरा नभएपनि आफूले चित्त बुझाउने हदसम्म सबै कुरा भइरहेको उनले जानकारी गराए । 

 

२१ वर्षको उमेरदेखि बक्सिङमा लागेका रूचाल अहिले २६ वर्ष भइसके । उनी अविवाहित नै छन् र तत्काल विवाह गर्ने या प्रेम सम्बन्ध बाँधिले सोच पनि नभएको उनले बताए । भन्छन्, ‘स्वतन्त्र भएर हिँडेको हुन्छु । केटी साथी धेरै बनाउने भेट्ने भएको भए अहिलेको अवस्थासम्म आउन गाह्रो हुन्थ्यो ।

 

खेलकै लागिमात्र मान्छेहरु भेटघाट गर्नेतिर ध्यान गयो । त्यसकराण पनि गल्फ्रेण्ड बनाउने तिर लागिनँ । नजिक हुन खोज्ने थिए तर मैले समय दिइनँ । जसरी हुन्छ वल्र्ड च्याम्पियन बन्ने इच्छा छ । मायामा फसियो भने बोझ भइन्छ ।’

गुणराज रूचाल मुआ थाई