इतिहास र अनुभूति

वंशावलीलाई आधार मानिएका कुरा सत्य नहुन पनि सक्छन् (भिडियोसहित) भाग १

वंशावलीलाई आधार मानिएका कुरा सत्य नहुन पनि सक्छन् (भिडियोसहित) भाग १

पाठक एवं दर्शकहरुको अनुरोधबमोजिम नेपालआजले  ‘इतिहास र आज’ नामक शृंखलाबद्ध कार्यक्रम शुरु गरेको छ । यो शृंखलामा इतिहासका विद्वानहरुले नेपालको इतिहासबारे जानकारी दिनुहुनेछ । शृंखलाको पहिलो चरणमा हामीले त्रिभुवन विश्वविद्यालयमा ३५ वर्ष इतिहास अध्यापन गराउनु भएका प्रा.डा. सुरेन्द्र केसीलाई आमन्त्रण गरेका छौं । 

कार्यक्रम ‘इतिहास र आज’का प्रस्तोता हरिराम रिमालसँग कुराकानी गर्दै डा. केसीले नेपालको इतिहासलाई गोपालवंशदेखि जोड्नु भएको छ । गोपालवंश भन्दाअगाडि पनि नेपालमा कविलाहरुको राज्य भएको र त्यसबारे अनुशन्धान नै नभएको उहाँको ठहर छ । ‘इतिहास आज’का अतिथी विद्वानहरु मध्ये प्रथम अतिथी डा. केसीले इतिहासका तथ्य निम्नानुसार छन्ः 

इतिहास हाम्रो विगत हो । हामी इतिहास हौं । हिजोको पिँढीलाई आजको पिँढीसँग जोडेर भविष्यको बाटो पहिल्याउन इतिहास पढिन्छ । विगत थाहा नपाई वर्तमान थाहा पाउन सकिदैन । मैलमेरो बारेमा केही छाडेर गइन भने मलाई भोलिका पुस्ताले चिन्दैनन् ।  हिजोको, आजको र भोलिको पुस्ता जोड्न इतिहास पढिन्छ । 

 

इतिहास जे हो त्यसैको आधारमा बुझ्नु पर्छ । मिथक, दन्त्यकथालाई पनि इतिहास मान्न सकिन्न । मलाई मन परेका आधारमा त्यो इतिहासमा लेखिनुपर्छ भन्नेहरु पनि छन् । 

 

नेपालको इतिहास तथ्यमा भन्दा पनि मिथक र कल्पना बढी प्रभावि छ । वंशावलीहरु काल्पनिक नै छन् । मानिसहरु नै कसरी आए भन्ने कुरा पनि कथामा आधारित छन् । मानिसको जन्म करोडौं वर्षको रसायनिक प्रतिक्रियाबाट भएको छ । तर मानिसको आगमन नै इश्वरीय वरदान हो भनेपछि त कुरा गम्भीर हुन पुग्यो । कथा, पुराण र मिथकका आधारमा इतिहास लेखिनु हुँदैन । 

 

नेपालको इतिहास विवादमै पर्छ जस्तो लाग्छ । गोपाल वंश नै कसरी भयो भन्ने प्रश्न आउँछ । राजवंशबाट मानिसको उदय भएको होइन । मानवको विकासको क्रममा राजवंश स्थापना भएको हुन्छ । इतिहास बुझ्ने प्रशंगमा राज्य चिन्तित छैन । 

 

गोपाल वंश नै को हुन् भन्ने स्पष्ट छैन । राज्यसत्ता स्थापना हुनुअघिको इतिहास खै त ? राजवंशबाट इतिहास शुरु हुन्छ भनियो भने गलत हुन्छ ।  कविलाहरुको राज्यको चर्चा नै हुँदैन । मैले कविलाहरुको राज्यबारे खोज्नु पर्छ भनेको थिएँ । ३५ वर्ष मैले यो विषयमा संघर्ष गरेँ । केही भएन । फलतः अहिले कविला राज्यबारे इतिहास बेखबर छ । 

 

नेपालमा राज्यसत्ताको प्रादुर्भाव र संरचना निर्माणको परिघटना गोपाल वंशको बेला भयो । मानवशास्त्री रामनिवास पाण्डेले ‘नेपाल कन्टिन्युटी एन्ड चेन्ज’ भन्ने पुस्तकमा ‘एनसेन्ट नेपाल’ भन्ने एक आर्टिकल छ । जहाँ गोपाल वंशी आर्य थिए भनिएको छ । 

 

गोपालहरु मंगोल थिए भन्नेहरु पनि छन् । तर त्यो साँचो होइन जस्तो लाग्छ । 

 

गोपाल वंशको बेला पशुपालन थियो । सम्पत्तिको रुपमा पशु नै महत्वपूर्ण थियो । गोपाल भनेको गौ पालक भनेको हो । गोपालले आठ वंश, महिषपालको ३ वंश शासन भएको कुरा छ । ६६६ वर्ष यी दुईले शासन गरे । 

 

किराँतहरु तिब्बतको ल्हासाबाट ब्रम्हपुत्र नदीको किनारै किनार पूर्वी नेपालमा प्रवेश गरेर काठमाडौं उपत्यका आएको अनुमान छ । महिषपाललाई विस्थापित गरेर इशापुर्व ६ सय वर्षमा किराँत राज्य स्थापना गरे । १९५९ वर्ष किराँतहरुले राज्य गरे भन्ने छ । वंंशावलीका आधारमा इतिहासमा उल्लेख छ । वंशावली पिच्छे फरक छ । किराँतकै राज्यको पुष्टि गर्ने ठोस आधार प्रमाण भेटिन्न । वंशावली मात्रै हो । लिच्छवीहरुको डकुमेन्टमा किराँतको शासन अनुमान गर्न सकिन्छ । 

 

लिच्छवीहरु ककेसाइड जातीका हुन् भन्ने छ । रेकर्डेड इतिहास छ उनीहरुको । प्रमाणिक राजामा मानदेव नै हुन् । ४६४ एडीको चाँगुनारायण स्तम्भले त्यो देखाउछ । जय बर्माको १८५ एडीको मूर्ती फेला परेको छ । बर्मा र देवको फरक पनि बुझ्न सकिएको छैन । 

 

लिच्छवीकालमा लेखिएका स्तरीय संस्कृतका लिपीहरु फेला परे । ७ सय मानिस अटाउने सभागृहहरु बनेको भन्ने छ । भद्राधिवास, कैलाशकुट भवनहरु काठमाडौंमा बनेको भन्ने छ । टाढाटाढासम्म नेपालको प्रशिद्धी फैलिएको भन्ने छ । हुयन साङ चिनियाँ यात्रीले पनि लेखेका छन् नेपालको प्रशिद्धी । 

 

नेपालको सार्वभौमिकता यो कालमा स्थापित भयो । मानदेवको पालामा नेपालको सीमा पनि निर्दिष्ट गर्छ । 

 

त्यो बेला कपिलवस्तु राज्य थियो । त्यसकै समानान्तरमा देवदह भन्ने राज्य पनि थियो । त्यसपछि विदेह अर्थात मिथिला थियो । त्यसपछि यी राज्यहरु नष्ट भए । अनि अनकण्टार भूभागमा रुपान्तरण भयो  । जंगगले ढाकियो । ११ औं शताब्दीमा सिम्रौनगढ राज्य देखा पर्यो । पछिल्लो कालमा मकवानपुर राज्य देखा पर्यो । यो तरिकाले तराईमा राज्यहरु स्थापना भए । 

 

 

इतिहासमा एक अन्धकार युग पनि छ । लिच्छवी र मल्लकालको बीचको कुरा थाहा छैन । नुवाकोटे ठकुरी र बैश्य ठकुरीको कुराले त्यो काललाई जोड्छ । लिच्छवीका जयदेव द्वितीयको नाम आउँछ । त्यसपछि लिच्छवीकालमा कमजोरी देखा पर्न थाल्छन् । अन्धकार युग भनेर चुप लागेर बसियो । अनुसन्धान र अध्ययन गरिरहने इतिहासकार हुने हो ।