कभर स्टोरी खेल भिडियो

डब्लुडब्लुईको फाइट फिल्ममा जस्तै सुटिङ गरेर तयार पारिन्छ (भिडियोसहित) 

डब्लुडब्लुईको फाइट फिल्ममा जस्तै सुटिङ गरेर तयार पारिन्छ (भिडियोसहित) 

काठमाडौं । नेपालमा रेस्लिङ खेलको शुरुवातकोे श्रेय भरत विसुराल (द हिमालयन टाइगर)लाई जान्छ । विक्रम सम्वत् २०१५ मा लमजुङ जिल्लामा जन्मिएका विसुरालको सेनादेखि पहलमान अर्थात रेस्लरसम्मको संघर्षको कथा रोचक छ । 

 

आजभन्दा ६ दशक पहिलेको त्यो गाउँको परिवेश जहाँ मानिस बिरामी हुँदा  औषधि नपाएर मर्थे । त्यहीँ गाउँले परिवेशमा हुर्किएका भरतकोे सानैदेखि सेनामा जाने  टूलो रहर थियो । बाबु, बाजे विश्वयुद्ध लडेकाले उनको कलिलो मष्तिस्कमा पनि एउटा लडाकुको छाप बस्यो ।

 

सानैदेखि चञ्चल स्वभावका विसुराल गाउँका दौंतरीसँग डन्डिबियो, भलिबल, गीर (क्रिकेट जस्तै खेल)जस्ता खेलहरु खेल्थे तर खेल क्षेत्रमै लाग्छु भन्ने सोच त्यो बाल्यकालमा कहिले आएन । 

विसुरालले सेनामा भर्ती भएर सानैदेखिको रहर र सपना पूरा गरे । सेनामा ११ वर्षसम्म काम गरेपछि स्वदेश फर्के र अमेरिका आउने जाने गरे । २०४६/४७ सालमा पञ्चायत ढल्ने गरी बहुदलीय व्यवस्था आएको बेला राजनीतिमा पनि सक्रिय भए । ‘राष्ट्रवाद जिन्दावाद’ भन्ने सोच बोकेका उनले बहुदल आएपछि ‘नेपाल कन्जरभेटिभ’ पार्टी खोले । राजनीतिमा उनको उद्देश्य देशको सीमा सुरक्षा र धर्मसंस्कृतिको संरक्षण गर्नु थियो । उनको पार्टीलाई कसैले पत्याएनन् र चुनाव हारे । 

 


राजनीतिक यात्रा शुरु गर्न नपाउँदै अन्त्य भएपछि उनी फेरि अमेरिका पलायन भए । अमेरिकामा उनलेरुपमा ठेलागाडीमा फलफूल व्यापार गरे । हँसिलो अनुहार र मिलनसार स्वभावका विसुरालका बारे ग्राहकहरुले सोध्दा कसैले पनि नेपाल नचिनेको उनले पाए । त्यहाँ कसैले पनि आफ्नो देश नचिनेको भान भएपछि नेपाललाई कसरी चिनाउने सोच्दै राजदुताबाससम्म पुगे । त्यहाँ पुग्दा नेपालको झन्डा राजदुतको पछाडि मैलो र निहुरिएको पाए ।

 

 

देशप्रतिको मायाले नै उनले खेल क्षेत्रमा पाइला टेके । टेलिभिजनमा रेस्लिङ हेर्दा खेलाडिको देशको नाम सुन्थे । रेस्ङिमा आफू चिनिन या कसैले रेस्लर, बलियो, भनेर प्रसंसशा गरुन् भनेर नभई देशलाई चिनाउँनलाई गएको विसुराल बताउँछन् । शारीरिक बनावट पनि बलियो भएकोले उनले रेस्लिङ खेलेर देश चिनाउने योजना बनाए ।
सन् १९९२ मा रेस्लर हुँदा विसुरालको उचाइ ५ फिट १० इन्च र तौल ८० केजीसम्मको सामान्य शारीरिक बनावट थियो । उनको ‘स्टोरीलाइन’बलियो भएर नै ‘नेसनल च्याम्पियनसिप रेस्लिङ’, ‘इन्टरनेन्मेन्ट च्याम्पियन रेस्लिङ’, ‘लगालग फिडेरेसन रेस्लिङ च्याम्पियन’ जस्ता क्लबमा खेल्ने मौका पाएको उनी बताउँछन् । 

 

खेल्दा नेपालको झन्डा सधै उनको साथमा हुन्थ्यो ताकि सबैले नेपाललाई चिनुन् । उनले अमेरीकामै बिबाह गरे पनि देशप्रतिको माया र सम्मानले त्यहाँको नागरिकता लिएनन् । उनी भन्छन्, ‘म जो हुँ नेपाली हुँ, सकेसम्म म आफ्नो जन्मभूमिमै रमाउँन चाहन्छु ।’ 

 

नेपालमा रेस्लिङ
नेपालमा २०६० सालमा रेस्लिङ भित्र्याएका उनले शुरुमा सामान्य, आर्थिक स्थिति कम्जोर भएका र फाइटिङमा चासो राख्नेहरुलाई जम्मा गरेर रेस्लिङ तालिम दिन्थे । तर उक्त खेलले रापेदेखि दुई पात पनि हाल्न नपाएको उनी बताउँछन् । खेलको विकास नहुनुमा विसुराल देश र नागरिकले खेलको महत्व नबुझ्नु, कमजोर आर्थिक स्थिति, राजनीतिक प्रभाव, खेलाडीको पृष्ठभूमि, आदि मान्छन् ।

 

रेस्लिङ शुरु गर्दादेखि अहिलेसम्म खेलमा फिट हुनेखालका, सुहाउँदो जिउडाल भएका, राम्रो पोषण पाएर हुर्केका र आर्थिक स्थिति बलियो भएका कोही पाएनन् । जसले गर्दा राम्रा खेलडी उत्पादन गर्न नसकेको र खेलाडीलाई राम्रो पैसा दिन नसक्दा खेलमा भविष्य नदेखेर खेलाडीले खेलसमेत छोड्ने गरेको उनी बताउँछन् । 

 

एकताबद्ध नहुनु पनि खेल विकासको बाधक हो । उनी भन्छन्, ‘मैले तालिम दिएका खेलाडी रेस्लिङ खोलेर उल्टै च्यालेन्ज दिने भइसके । उनीहरुलाई बुटी यो हो भन्ने मात्र छ त्यो बुटीको स्तर कस्तो छ हेर्दैनन् । ‘स्कील बिनाको स्केल’ आउँदैन भन्ने र कसरी सफल हुने कसैले बुझेको छैन् ।’

 

हरेक क्षेत्रमा राजनीतिक प्रभाव भएकोले गर्दा सरकार आफ्नो पार्टीको मान्छे छ भने सामान्य खेलसम्बन्धी जानकारी लिएकालाई पनि खेलकुद परिषदमा आवद्ध गराउँने तर उनलाई अहिलेसम्म पनि खेलकुद परिषदमा आवद्ध नगराएको उनी बताउँछन् ।

 

यो खेल महङ्गो खेल हो । कम्पोजिसन गरेर टेलिभिजनमार्फत प्रसारण गर्न धेरै पैसा लाग्छ । पुँजीको अभावले नै यो खेललाई आमजनतामाझ पुर्‍याउन नसकिएको उनको अनुभव छ । 

 

नेपालमा रेस्लिङको विकास कसरी हुन्छ ?
विसुराल भन्छन्, ‘घोप्टो परेर खेलेको खेल प्रोफेसस्नल रेस्लिङ होइन । मान्छेले पैसा तिरेर हेर्न जानु गोरु जुधाएको हेरे जस्तै हो ।’ 

 

रेस्लिङको विकास गर्न ठूलो संख्यामा खेलाडी लिनुभन्दा सानो टीम जसमा ६ फिट भएका तौल ८० भन्दा माथि भएका स्वस्थ, बलिया खेलाडीको छनोट हुनुपर्छ । खेलाडीमा गन्तव्य (डब्ल्युडब्ल्युइ)मा नपुगे पनि त्यहासम्म पुग्न सक्छु भन्ने साहस भएका खेलाडी छान्नुपर्छ । खेलाडीहरुको एक्सन, फेसन, परिवेश, प्रकृति, चरित्र, उद्देश्य, स्वास्थजस्ता विविध कुराहरु हेर्नुपर्छ ।  

 

उनी भन्छन्, ‘यो खेलको लागि खेलाडी जन्माउन मैले उसको शरीरसंँग सम्झौता गर्ने हो यसमा उसको परिवार साक्षी हुनुपर्छ । खेलाडीको खेलप्रति भित्री इच्छा र बलियो आत्मविश्वास हुनुपर्छ ।’ 

 

खेलको विकासका लागि सरकारले सच्चा भएर भ्रष्टाचार गर्नेलाई बचाएर नराख्ने र सबै खेललाई उत्तिकै प्रोत्साहान गर्नुपर्छ । 

द हिमालयन टाइगर भरत विसुराल