कभर स्टोरी भिडियो

गीत गाउन पनि नपाइने भनेपछि यो यमराजकै शासन भइगयो (भिडियोसहित)

गीत गाउन पनि नपाइने भनेपछि यो यमराजकै शासन भइगयो (भिडियोसहित)

काठमाडौं । नेपालआजका नियमित भिडियो स्तम्भकार विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले यसपटक गायक पशुपति शर्माको ‘लुट्नसम्म लुट कान्छा’ बोलेको गीतलाई नेकपाको युवा संघले दिएको चेतावनीको कडा विरोध गरेका छन् । डा. केसीले सर्जकहरुले यस्ता गीत गाउन नपाउने हो भने वर्तमान शासनलाई ‘यमराजकै शासन’ मान्नु पर्ने उनको ठहर छ ।

 

विश्लेषक केसीले पशुपति शर्माको गीतले वर्तमान सरकारको अनुहार प्रष्ट पारेको दावी गरेका छन् । यो भन्दा कडा गीत, अभिव्यक्ति त अहिले पनि अरुले व्यक्त गरिरहेको सन्दर्भमा शर्माको गीत विवादमा पर्नुको कुनै औचित्य नरहेको उनले उल्लेख गरे । पञ्चायतकालमा पनि यसभन्दा कडा गीतहरु, प्रहसनहरुमा प्रतिबन्ध नलागेको उनले स्मरण गरे । 

 

गीत गाएकै कारण पशुपति शर्माको ‘सांगीतिक करियर समाप्त होला’ भन्ने धम्कीयुक्त विज्ञप्ति जारी गर्ने युवा संघले लोकतान्त्रिक मूल्य मान्यता आत्मसात गर्न नसकेको र अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको डा. केसीले बताए । 

 

 

नेपालको संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गीतमा नभएको केसी बताउँछन् । उनी भन्छन्, ‘राष्ट्रिय अखण्डतामा खलल पार्ने, जातजातबीचको सम्बन्ध बिगार्ने, सामाजिक विद्वेष फैल्याउने जस्ता विषयमा मात्रै धारणा अभिव्यक्त गर्न पाइँदैन । बाँकी कुरा बोल्न पाइन्छ । यहाँ त सरकार, राष्ट्रपतिको विलासी जीवनशैली, राजनीतिक विकृतिबारे उल्लेख भएको छ । त्यो कुरा युवासंघले मानेन । धम्की दियो । यसबाट यो देशमा यमराजको शासन नै रहेछ भन्ने स्पष्ट भयो ।’

 

पशुपतिको गीतमा ‘कार्यकर्ता कुकुर जस्तै भुक्छन्’ भनिएकोछ । यो वाक्यलाई डा. केसी लाक्षणिक ठान्छन् । उनको मतमा कुकुर भनिनु त अहिले राम्रो कुरा हो । अर्को अर्थ नेकपाका कार्यकर्ताहरु राष्ट्रघात भइरहेको विषयमा शान्त बस्छन् । बोल्नु पर्ने विषयमा बोलिदिँदैनन् । यो अर्थमा कुकुर जस्तै भुक्छन् भनिएको विश्लेषण डा. केसीले गरेका छन् ।