मेरो परिवार मेरो कथा

आहा ! यस्तो पो प्रेम, युद्धमा जन्मिएको प्रेम कथा

वारमा प्यार !

आहा ! यस्तो पो प्रेम, युद्धमा जन्मिएको प्रेम कथा

फेब्रुअरी १४ अर्थात् प्रणय दिवस । माया गर्नेहरूको लागि बनेको यो दिवस हरेक प्रमिल जोडिले आफ्नो आफ्नो हिसाबमा मनाउँदै आएका छन् । सायद यस दिन धेरै जोडिले जुनी जुुनी सँगै रहने बाचा गर्छन् । ती कसम कति पूरा हुन्छन् त कति अधुरा । सबै मायाले जुनी जुनी सँगै हुने सौभाग्य पाउँदैनन् । मायाको वास्तविक परिक्षा सायद समयले नै बताउँछ । समय जत्ति बलवान् के होला संसारमा ? भौतिक शरीरको साथ बिना एक प्रेमीले आफ्नो मायालाई कत्तिको संगाल्न सक्छन् ? प्रेमिल जोडिमा एकको मृत्युपछि पनि के माया उस्तै रहिरहन्छ ? 

 

 

यस्तै सन्दर्भलाई समातेर इंग्ल्याण्डकी कवयित्री क्रिष्टिना रोजेट्टीले ‘ह्वेन आइ एम डेड माई डियरेस्ट’ नाम गरेको कविता नै लेखेकी छन् । उक्त कवितामार्फत कवयित्रीले आफ्नो अनन्तकालसम्म रहने प्रेमको व्याख्या गरेकी छन् । मृत्यु नै सबै थोक होइन, प्रेम गर्नेहरूको लागि कसैको मरण पछि पनि प्रेमले नयाँ आयाम पाउने सन्देश उनले दिएकी छन् । 

 

 

आफ्ना प्रेमी या श्रीमान्लाई उनको मृत्युमा रोइ कराइ नगर्न सुझाएकी छन् । किनभने उसको रोदान र उसले चढाएको फूलको स्पर्श अनुर्भति उनले गर्न पाउँदिनन् । कवयित्रीले बाँचुञ्जेल माया दर्र्शाउन कमजोर बन्ने र मरेपछि गरिने रितीरिवाजको खरो आलोचनासमेत गरेकी छन् । 

 

 

टीका बास्तोलाको प्रेमकथा ठ्याक्कै नभएपनि केही हदसम्म यस कवितासँग मिल्न पुग्छ । भनिन्छ, प्रेम कमजोरी पनि हो । तर बास्तोलाको जीवन बाँच्ने आधार नै त्यही प्रेम हो । त्यो अमर प्रेम जुन मोओवादी जनयुद्धताका उब्जिएको थियो । माओवादी आन्दोलनमा लागेकी बास्तोला पार्टीकै सहकर्मी भिम गिरीसँग प्रेममा परिन् । पाँच वर्षसम्मको प्रेम सम्बन्धपछि उनीहरूले विवाह गरे । विवाह बन्धनमा बाँधिएको दश महिनामै दुईको विछोड भयो । 

 

 

ज्यानको बाजी थापेर युद्धमा होमिएका उनीहरू आफ्नौ ज्यानको भर थिएन । यो वास्तविकता दुवैले बुझेका पनि थिए । खुुकुुरीको चोट अचानोले जान्दैन भन्ने उखानै छ । आफूले लिएको अडान र पति बेपत्ता हुनुुको पीडाको वास्तविकतामा आकाश जमिनको फरक थियो । तर खुशीमा नमात्तिने र दुःखमा नआत्तिने शान्ताले परिस्थितीको सामना गर्न सकिन् । 

 

 

जन युद्धमा लागेकाहरले १४ औं जन युद्धदिवस मनाइसके । बास्तोलाका पति बेपत्ता भएको आज १५ वर्ष भयो । श्रीमान बेपत्ता भएपछिका दिनहरू उनको लागि पक्कै सजिलो थिएन । पति बेपत्ता हुँदा उनी भर्खर २२ वर्षकी थिइन् । दिनउमेरमै पति गुमाएकी बास्तोलाले अर्को विवाह गर्ने र छुट्टै संसार बसाल्नेबारे सोचिनन् । अर्को विवाहबारे प्रश्न गर्दा उनले भनिन्, ‘यो मेरो कल्पना बाहिरको कुुरा हो । भुुलेर पनि म यो कुरा सोच्न सक्दिन । मेरो जीवनमा उहाँ आउनुभयो र जानुभयो र पनि मसँगै हुनुहुन्छ ।’

 

 

मध्यरातमा बाहिर केही आवाज आएपनि बास्तोला झसंग हुन्छिन् । बेपत्ता पति उनलाई खोज्दै पो आए कि, भन्ने भान हुन्छ उनलाई । उनलाई पति फर्केर आउने आशा अझै छ । धेरै सम्झिने मान्छेलाई सपनामा पनि देखिँदैन भनिन्छ । यो भनाई बास्तोलालाई मिलेको छ । श्रीमान बेपात्ता भएको १५ वर्ष बितिसक्दा उनले पतिलाई सपनामा तीन देखि चारपटक भन्दा वाहेक देखेकी छैनन् । 

 

 

बुढेसकालको लागि सहारा चाहिन्छ भन्ने धेरैको विश्वास छ । जब शरिर बुढो हुँदै जान्छ, छोराछोरी पनि आफ्नो बाटो लागिसकेका हुुन्छन् । खोला सधैं तलतिर नै बग्छ । बगिजाने खोलाजस्तै हो माया पनि । सधै तल तल बग्ने । त्यस्तै हो छोराछोरीको माया पनि । 
तर बास्तोलाका कुनै सन्तान छैनन् । युद्धकालमा व्यक्तिगत जीवन कम भएको हुँदा यसबारे सोच्ने उनीहरूले फुुर्सद नै पाएनन् । तर आज सबभन्दा बढी बास्तोलाको मनमा यही कुरा खड्किन्छ । भिमको नाशोमात्र भएको भएपनि उनी त्यसको राम्रो पालनपोषण गर्थिन् । पतिको आभास सन्तानबाट पाउथिन् । तर वास्तविकतामा ढल्न जानेकी बास्तोला त्यत्ति धेरै चिन्तित पनि छैनन् ।

 

 

शाहसी भावमा उनले भनिन्, ‘जुन उमेरमा मलाई उहाँको सबभन्दा धेरै साथ चाहिएको थियो, त्यो समयमा उहाँ मसँग हुनु भएन । मानसिक साथ त्यतिबेला चाहिएको थियो जतिबेला मेरो जीवनको संघर्ष सुरु भयो । बुढेसकालमा त शारिरीक समस्या त हुने हो । सहनुुपर्ने यत्तिका धेरै दुःख त झेलें मैले । त्यसकारण बुढेसकालको लागि म त्यत्ति चिन्तित छैन ।’ 

 

 

माया गर्ने मानिस केही समय आफ्ना आँखाबाट टाढा गए त कति न्यास्रो लाग्छ । बास्तोलालाई झन् कस्तो होला ? मरे या बाँचे भन्ने खबर नै नभएका पतिलाई हेर्र्न लालायित हुन्छन् बास्तोलाका आँखा । ‘कतिले भूत हुन्छ भन्छन्, कहिलेकाहीं भूूत नै भएर आइदिए पनि हुन्थ्यो जस्तो लाग्छ’, उनको भनाइबाट पतिप्रतिको न्यास्रो स्पष्ट झल्कन्छ ।  

 

 

सक्रिय राजनीति छोडेपछि समय बिताउन र पतिको न्यास्र्रोलाई भुलाउन भएपनि उनी कृषिकर्ममा लागिन् । कृषिमा अहिले उनले प्रेमको नयाँ आभास पाएकी छन् । हरेक बोट विरूवासँग उनी बोलिरहेकी हुन्छिन् । दुःख र सुखका कथा उनी तिनै विरूवालाई सुनाउँछिन् । किनभने बास्तोलालाइ लाग्छ, उनका पति तिनै बोट विरूवाको स्वरूप बनेर उनी सामु आएका छन् । 

 

ठूला ठूला विद्वानले प्रेमका विषयमा धेरै शब्द कोरे । क्रिस्टिना रोजेट्टीको कवितामा जस्तै बास्तोलाको प्रेम गर्ने शैली फेरिएको छ । पतिको भौतिक शरिरको साथ नहुँदा उनी बिलौना गर्दिनन् । बरू माया गर्ने नयाँ आयाम खोज्ने गर्छिन् । प्रकृतिका हरेक छहरामा उनले प्रेमको आभास गर्न छोडेकी छैनन् । अहा ! प्रेम होस् त यस्तो ।  
 

र याे पनि

जनयुद्धमा पति बेपत्ता भए, अहिले जीवनको भर खेतीपाती (भिडियोसहित)