मुख्य समाचार राजनीति

अब भ्रष्टाचार लुक्न र लुकाउन सम्भव छैनः प्रधानमन्त्री ओली

अब भ्रष्टाचार लुक्न र लुकाउन सम्भव छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकार भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि गरेका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औँ स्थापना दिवसमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘हामी भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि बढेका छौँ, अब भ्रष्टाचार लुक्न र लुकाउन सम्भव छैन । त्यसैले अब भ्रष्टाचार भ्रष्टका लागि पनि शत्रु नै हो ।’ 

 

प्रधानमन्त्रीले कारबाही गरेर दण्ड विधिबाट भन्दा नियन्त्रणको विधिबाट भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए । ‘ऋषिमुनि, सन्त र महात्माहरूको देश र त्यस्ताका सन्तति हामीले नगरे कसरी हुन्छ भ्रष्टाचार ?’ उनले भने ‘हरेकले भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्ने हो भने भ्रष्टाचार नै हुँदैन ।’ उनले भ्रष्टाचार ढाकछोप गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए । प्रधानमन्त्रीले सरकारका सबै निकायलाई भ्रष्टाचारबाट मुक्त राख्न आफूले अख्तियारलाई सहयोग गर्ने बताए ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले सार्वजनिक सेवा, खरिद र निर्माण कानुनअनुसार भएमा भ्रष्टाचार निवारण हुने बताए । उनले अख्तियार विकास निर्माणको बाधक नभई सहयोगी रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा भएका विकृति अन्त्य गर्ने कोसिस मात्र गरिने बताए । उनले अख्तियारले राष्ट्रिय गौरवको आयोजनाको काम अनुकरणीय हुनुपर्ने मान्यताका आधारमा ती आयोजनामा निगरानी गर्न थालेको बताए । 

भ्रष्टाचार प्रधानमन्त्री केपी ओली