बैंकिङ रोजगार

उद्यमशील कर्जाका लागि राष्ट्र बैंकले छुट्यायो दुई अर्ब

३.३३ प्रतिशतको ब्याजदरमै ५ करोडसम्म कर्जा पाइने 

उद्यमशील कर्जाका लागि राष्ट्र बैंकले छुट्यायो दुई अर्ब

काठमाडौं। सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले विभिन्न ६ शीर्षकमा उद्यमशील कर्जा दिने भएको छ । सहुलियतपूर्ण कर्जा अन्तरगत बैंकले ३.३३ प्रतिशत ब्याजदरमा तीन लाखदेखि पाँच करोड रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको हो । बैंकले महिला उद्यमीहरुका लागि त २.३३ प्रतिशतमै ऋण उपलक्ध गराउने भएको छ । 

 

बैंकले व्यवसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय ब्यवसाय विकास, उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा कर्जाका र  भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा गरि ६ शीर्षकमा सुलभ कर्जा प्रवाह गर्ने भएको हो । 

सरकारी ब्याज अनुदानमा उपलब्ध हुने ऋणको अन्तिम भूक्तानी अवधि पाँच बर्ष तोकिएको छ। 

सरकारी ब्याज अनुदानमा उपलब्ध हुने ऋणमा महिला उद्यमीमा ६ प्रतिशत ब्याज अनुदान पाइन्छ भने बाँकीमा ५ प्रतिशत अनुदान उपलब्ध हुन्छ। बैंकहरुले आफ्नो आधार दरको २ प्रतिशत बिन्दुमाथिसम्म मात्र यस्तो ऋणको ब्याज दर तोक्न सक्नेछन्। 

 

अहिले राष्ट्र बैंकले आधार दर ६.३३ प्रतिशत तोकेको छ। यसमा दुई प्रतिशत बिन्दु जोड्दा ८.३३ प्रतिशत ब्याज कायम हुन्छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकृष्ण श्रेष्ठले भने, सरकारले पाँचदेखि ६ प्रतिशतसम्म ब्याज अनुदान दिने हुँदा यस्तो ऋणको ब्याज उपभोक्ताले २.३३ र ३.३३ प्रतिशत तिरे हुन्छ।

 

सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि २०७५ अनुसार, व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाँच करोड रुपैयाँभन्दा बढी भएमा केन्द्रीय समन्वय तथा अनुगमन समितिबाट स्वीकृति लिनुपर्छ। पाँच करोडभन्दा बढि ऋण लिनेले २ प्रतिशत मात्र ब्याज अनुदान पाउने छन्।

 

व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा १० लाख रुपैयाँसम्म सामूहिक जमानीमै पाइन्छ। यसभन्दा बढि चाहिए ब्यवसायिक परियोजना धितो राख्नुपर्छ। परियोजनाको सम्भाब्यतालाई मूख्य आधार बनाएर धितो मूल्यांकन गरिन्छ।

उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाका लागि बैंक तथा वित्तीय संस्थामा ऋणीले सक्कल शैक्षिक प्रमाणपत्र धितो स्वरुप राख्नुपर्छ। विदेशबाट फर्किएकालाई उनीहरुको सीप अनुसार परियोजना धितो राखेर ऋण उपलब्ध हुनेछ।

 

महिला, भुकम्प पीडित तथा दलित कर्जा भने एकल तथा सामूहिक जमानीमा पनि उपलब्ध हुनेछ। १० लाख रुपैयाँभन्दा कमको कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषमा अनिवार्य सुरक्षण गराउनु पर्ने हुन्छ। सुरक्षण गरिएको कर्जाको शुल्कमध्ये २५ प्रतिशत बैंक तथा वित्तीय संस्था र ७५ प्रतिशत सरकारले ब्यहोर्ने छ। पाँच बर्षसम्म लिइएको ऋण साढे पाँच बर्षसम्म पनि भूक्तानी नभएमा बैकले सुरक्षण कोषबाट पैसा पाउने छ।

यस किसिमको सहुलियतपूर्ण कर्जाका लागि बैंकले करिव २ अर्ब रुपैयाँ छट्याएको छ । 

राष्ट्रिय बाणिज्य बैंक