कभर स्टोरी भिडियो

सुगतरत्नको टिमले कमिसन खानका लागि मात्रै जहाज किनेको हो (भिडियोसहित)

सुगतरत्नको टिमले कमिसन खानका लागि मात्रै जहाज किनेको हो (भिडियोसहित)


 

काठमडौं । ‘नेपालका लागि नेपाली’भन्ने अभियानका एक अभियन्ता हुन् ज्ञानेन्द्र शाही । उनी पेशाले चार्टड एकाउन्टेन्ट हुन् । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार भएको विषय बाहिर आएपछि यो अभियानले पनि सूचना संंकलन र अध्ययन गरिरहेको छ । अभियन्ता शाहीको तर्क र दावी अनुसार निम्नानुसार विधिबाट जहाज खरिद गर्दा अनियमितता भएको छः 

 

 

१. जहाज तोकिएभन्दा कम क्षमताको खरिद गरियो । कम क्षमताको जहाज भएका कारण यसमा  लगेज, यात्रु र इन्धन किफायती गरेर मात्रै राख्न मिल्छ । १२ टन कम वजनको जहाज ल्याउँदा यस्तो भएको हो । चार कक्षामा पढ्ने बालबालिकाले पनि नपत्याउने हावादारी बिजनेस प्लान बनाएर सबैलाई उल्लु बनाउन खोजिएको छ । कमिसन खानकै लागि जहाज खरिद गरिएको हो । 

 

२. रवीन्द्र अधिकारी र पूर्वपर्यटनमन्त्रीहरुको हस्ताक्षर भएको कुनै पनि कागज छैन । भोलि विषय अदालतमा पुग्यो भने उनीहरुले मुद्दा जित्छन् । त्यसो हुँदा यो काण्ड सेलाएर जान्छ । ४ अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको भन्ने कुरा  छ । तर त्यो भन्दा बढी भ्रष्टाचार भएको छ । 

 

३. जहाजमा फ्युल हालौं, लगेज हाल्न मिल्दैन । लगेज हालौं, फ्युल हाल्न मिल्दैन । लगजे र फ्युल दुवै हालौं, यात्रु हाल्न मिल्दैन । भनेपछि यो जहाज उडाएर के फाइदा छ ? अपरेटिङ कस्ट बढी भएपछि निगम झन डुब्छ । 

 

४. विमान खरिद प्रक्रिया पनि गलत छ । प्राविधिक त्रुटि पनि छ । प्रक्रियालाई त कर्मकाण्डी बनाएर सही प्रमाणित पनि गर्न सकिएला । तर प्राविधिक त्रुटिलाई मिलाउन सकिदैन । २४२ टनको पैसा पठाउने अनि २३० टनको जहाज ल्याउनु नै अक्षम्य हो । 

 

५. निगमले पैसा पठाउँदा एलसी खोल्नु पर्नेमा स्क्रो एजेन्टलाई पैसा पठाएको छ । नेपाली कानुनअनुसार यो बैंकिङ कसूर हो । यसो गर्न पाइन्न । एलसी खोल्नमा के समस्या हो ? त्यो स्पष्ट छैन । 

 

६. नयाँ जहाज खरिद गर्ने नै पैसा रहेछ भने किन १००० घण्टा उडेको पुरानो जहाजका लागि टेण्डर खोलियो ? कम्पनीसँग सोझै किन्दा नयाँ किन्नु पर्ने र कमिसन नपाउने देखेपछि पुरानो किन्ने योजना बनाइयो । र चार चार वटा बिचौलिया खडा गरेर कमिसन खाने काम गरियो । कमिसनकै लागि मात्रै ध्यान भएका कारण अहिलेसम्म धेरै तिर उडान अनुमति पाएको छैन, जहाज उडाउने चालकको जोहो पनि गरिएको छैन । 

 

७. नेपाल वायु सेवा निगमका सिए उमेश पौडेल यो भ्रष्टाचारका भित्री योजनाकार हुन् । केही कानुन व्यवसायीसमेतको मिलेमतोमा यो भ्रष्टाचार भएको छ । रमेशबहादुर शाहसहित ११ जना मुख्य दोषी छन् । 

 

८. सिड्नी उडान गर्ने भनेर बिजनेस प्लान बनायो निगमले । जहाज भने सिड्नीसम्म उड्न नसक्ने ल्यायो । अब जहाज सिड्नी जानु पर्योभने नयाँ दिल्लीमा वा कतै विश्राम गर्नु पर्छ । त्यसरी अर्को विमानस्थलमा पार्क गर्दा घण्टाकै १० हजार डलर भाडा तिर्नु पर्छ । अनि हुन्छ निगमको भलो ?