विचार

बिग्रेका कम्युनिष्ट कुुर्सीमा नाच्दै 

शिव फुँयाल 

बिग्रेका कम्युनिष्ट कुुर्सीमा नाच्दै 

समाजमा वर्ग छ, त्यसैको कारणले विभेद छ । त्यो बिभेदलाई अन्त्य गर्न आन्दोलनमा होमिनु पर्छ । त्यसका लागि सिद्धान्त, निष्ठा बिचारमा प्रष्ट भएको संगठन चाहिन्छ । सिद्धान्त विचारका आधारमा संगठन, संगठनको बलमा संघर्ष । संघर्षको बलमा समाज रुपान्तरण गर्ने भन्दै आन्दोलनमा लाग्न प्रेरित गर्नेहरु आज के गर्दैछन् ? माक्र्सवाद बिज्ञानको पनि बिज्ञान हो । 

 

द्वन्द्वमा भौतिकवाद बिचार भनेर संगठन बनाउदै नेपाली समाजको समस्या राजनैतिक स्वतन्त्रता नभएको, भ्रष्टाचार धेरै भएको, सबैतिर बेथितिमात्र रह्यो, शासन सत्तामा क्षमता भन्दा नजिकका आसेपासेले यो देश लुट गरे भनेर हामीले भन्यौं ।

 

यो सबै कुराको अन्त्य गर्न कम्युनिष्ट पार्टी चाहिन्छ । त्यसमा संगठित हुनुपर्छ र संघर्ष गर्नुपर्ने आजको मूल काम हुन्छ भनेर निरन्तर राजनैतिक आन्दोलनमा लाग्दै पार्टीको पूर्णकालीन कार्यकर्ता बन्न र बनाउनमा तल्लिन भयौं । हामीलाई विश्वस्त पारियो । हामीसँंग सिद्धान्त बिचार छ त्यो सिद्धान्त बिचार मान्ने र लागू गर्ने नेताहरुको टिम छ । कार्यकर्ताहरुले संगठन बनाउदै संघर्ष गर्दै समाजमा कम्युनिष्ट पार्टी र त्यसका नेता कार्यकर्ताहरु अध्यनशिल लगनशील संघर्षशील ईमान्दार कर्तव्यबोध गर्ने समाजमा अन्याय नगर्ने र नसहने हुन्छन् भन्ने मान्यताका आधारमा काम गरेका थियौं ।

 

जनसमुदायहरु आशावादी नै थिए । १९९०मा ७० वर्ष शासन गरेको समाजवादी सोभियत सत्ता ध्वस्त हुँदा पनि नेपालमा असाधारण ढंगले कम्युनिष्ट पार्टी र नेताहरुमा जनताले बिश्वास गरेर संसारलाई चकित पारेका थिए । हिजो भनेका सबै कुरा सरकार नबनाएसम्मको लागि मात्रैं रहेछ भन्ने कुरा २०५१ मा पहिलो कम्युनिष्ट सरकार बने पछि देखिन थाल्यो । सरकार सबै जनताको नहुने पार्टीको मात्र हुन थाल्यो । कम्युनिष्ट विचारको आधारमा भन्दा सामन्ती बिचारको आधारमा चल्न थाल्यो । सामान्य सुधारलाई क्रान्तिकारी लेपन लगाउने काम भयो ।

 

सरकारमा भएको कम्युनिष्ट सरकार कम्युनिष्टको हैन र त्यो पार्टीले पूँजीवादी राजनैतिक प्रणालीमा रमाएको छ । त्यसलाई ध्वस्तपारी जनवादी शासनसत्ता स्थापना गर्ने र समाजका सबै समस्यालाई हल गर्ने भन्दै जनयुद्ध शुरु भयो । 

 

२०६२/६३ सम्म आईपुग्दा संबैधानिक राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको स्थापना र संबिधानसभामार्फत संविधान र संविधानमा समाजवादउन्मुख भनेर नेपालको संविधान पनि आयो । कम्युनिष्ट पार्टी गतिशील, कम्युनिष्ट नेताकार्यकर्ताहरु अध्यनशील र चिन्तनशील, अन्याय नगर्ने अनिन सहने, भ्रष्टाचार नगर्ने र समाज रुपान्तरणको अभियान सिद्धान्त बिचारमा निष्ठा ईमान्दार जनताको सेवक हुने र नयाँ समाज निर्माण  गर्नेबाट बदलिएर हिजो जे कारणले कम्युनिष्ट बन्नु पर्छ भन्ने मान्यता थियो त्यो कुरालाई लत्याएर आज पहिचान नै फेरिदिएका छन् ।

 

आजको कम्युनिष्ट सिद्धान्त बिचारमा शून्य, शक्तिशाली नेताको अगाडि दास हुने र तिनको अन्याय सहने । कमजोर भएकाहरुलाई दास बनाउन खोज्ने मनोबृत्ति भएको, समुदायको हितभन्दा आफ्नो स्वार्थ पूरा गर्नका लागि सम्पूर्ण शक्ति लगाउने, जनतालाई शक्तिहीन सम्झने, व्यापारी, ठेकदार र तस्करीको हितमा काम गर्ने, भ्रष्टाचार गर्ने, अकुत सम्पत्ति थुपार्ने,  सामन्तवादी संस्कृतिलाई अंगाल्ने, साम्राज्यवादीहरुको हितमा काम गर्ने,  आईएनजिओ चलाउने, पैसा र बिदेश घुम्न पाए स्वघोषित ईश्वरलाई मान्यता दिने र होली वाईन निर्लज्ज ढंगले खाने, आज समाजमा सबैभन्दा बेईमान कम्युनिष्टहरु हुन्छन् भन्ने जबरजस्त स्थापित गरेका छन् ।

 

तत्कालीन फाईदाका लागि जोसँंग पनिर जुनसुकैं अवस्थामा मिल्ने र निजी फाईदा लिनसिपालु हुन्छन् भन्ने मान्यता समाजमा स्थापित गराउन थाले र पछिल्लो वाईडबडी विमान खरिदमा भएको भनिएको भ्रष्टाचारमा मन्त्रीको संग्लनता छ भन्ने कुराले त कम्युनिष्ट भन्न पनि लाज लाग्ने आजको स्थितिमा हामी छौं । 

 

बिद्यार्थी आन्दोलनबाट आएको युवा नेता अब अर्बांैमा भ्रष्टाचार गर्ने भए । कम्युनिष्ट पार्टीका जन संगठनहरु भ्रष्टाचारमा चुर्लुम्म डुबे कि बिद्यार्थी संगठनहरु निजी कलेजसँंग बार्षिक एकमुष्ठ रकम लिन्छन र संगठनको उच्च तहमा पुग्नु भनेको आर्थिक रुपमा सबल हुन पाईन्छ भनेर बुझ्ने र त्यसैका लागि भेला सम्मेलनमा लाखांै खर्च गर्ने अवस्थामा छन् । युवा संगठन मेनपावर चलाउनेसँंग मिलेर मानव तस्करीमा सामेल हुने, मजदुर संगठन पहिले आन्दोलन गर्न लगाउने र पछि आन्दोलनरत मजदुरलाई थाहा नै नदिएर  पैसा खाएर आन्दोलन रोक्ने यस्तो अबस्थामा पुगेको छ कम्युनिष्ट पार्टीको हालत ।

 

 पाएको उपलब्धिलाई सदुपयोग गर्दै समाज परिवर्तन गर्छु भन्नेहरु नीतिनिर्माणमा भूमिकामा भए पनि निर्णायक तहमा छैंनन् । पैसा हुनेहरुको वरिपरि नै संगठनमा माथिदेखितलसम्म निर्णायक ठाँउमा छन् । विचारधारात्मक काम गर्ने सिद्धान्तलाई मान्नेहरु र त्यसैको आधारमा जीवन चलाउन खोज्नेहरु लाई अपमानित गर्ने र जिम्मेवारीबाट जबरजस्त हटाउने काम भएको छ । 

 

जव राजनीतिक दर्शन र सिद्धान्त ओझेलमा पर्दछ तब सिद्धान्त र दर्शनको आवरणमा विचलन शुरु हुन्छ र नेपालको कम्युनिष्ट आन्दोलनमा अहिले त्यस्तै भई रहेकोले सर्व साधारण जनता र कार्यकर्ता पंक्तिमा निराशा र आक्रोस जन्मिएको छ । २००७ सालमा ५–७ जनाले स्थापना गरेको कम्युनिष्ट पार्टी विभिन्न आरोह अवरोहसँग जुध्दै यहाँसम्म आइपुग्दा हजाराै‌को वलिदान, लाखाै‌को त्यागर र करोडौको मिहिनेतवाट मात्रै संभव भएको छ । पूँजीपतिहरुले अर्बौं खर्च गरेर पनि वनाउन नसक्ने संगठन नेपालमा कम्युनिष्ट पार्टीले निशुल्क बरु जनताको लगानीमा नै वनाएको छ ।

 

यसको पछाडिको मुख्य रहस्य भनेको नै कम्युनिष्ट दर्शन र सिद्धान्त हो । तर जब दर्शन र सिद्धान्तलाई एकातिर पन्छाएर कम्युनिष्ट पार्टीका नेता र कार्यर्ताले व्यवहार गर्न थाल्दछन् तब यो पार्टीले सवै जनताको हित गर्न सक्दैन । स्वभाविक रुपमा शक्ति हुनेहरु र शक्ति नहुनेहरुबीच खाडल पैदा हुन्छ र नेता र कार्यकर्ताहरुको बीचमा लामो दूरी पैदा हुन्छ । अहिले नेकपा त्यही प्रक्रियामा छ र यदि यस्तै भयो भने ढिलो वा चाडो यो पार्टी विगठनको बाटोमा जान्छ । तर यदि यस पार्टीमा संलग्न सचेत वर्गले कम्युनिष्ट पार्टीको दर्शन सिद्धान्त र आदर्शअनुसार व्यवहार गर्न सक्ने हो भने अहिले भएको वेथिति छिनमै निमिट्यान्न हुन्छ र दशकौंसम्म कम्युनिष्ट पार्टीले समाजको सवै भन्दा तल्लो तहमा रहेका जनताको पक्षमा काम गर्दै समाजलाई आमूल रुपान्तरण गर्न सक्दछ ।

 

त्यसकारण देशभरी कम्युनिष्ट पार्टीको सञ्जाल भएको यस अवस्थामा यस पार्टीमा आवद्ध सवै नेता तथा कार्यकर्ताहरुले एकपटक फेरि जिज्ञासु मनोभावका साथ कम्युनिष्ट दर्शन, सिद्धान्त, आदर्शको वारेमा अध्ययन गरी तदनुरुप व्यवहार गरेर पार्टी भित्रकाका विकृति र विसंगतिहरुलाई निमिट्यान्न गर्ने गरी काम गर्ने बेला आएको छ । यदि समयमा नै सोच र व्यवहार बदल्न सक्यौं भने मात्रै कम्युनिष्ट पार्टीलाई सवलीकरण गर्न सकिन्छ । अन्यथा सिमित केही व्यक्तिलाई निश्चित समयको लागि फाइदा होला तर देश, समाज र जनतालाई भने जुन जोगी आए पनि कानै चिरेको हुनेछ । 

 

यसो हुनुको कारण पूूँजीवादी सामाजिक व्यवस्थामा व्यक्ति केन्द्रीत हुने र जसरी पनि नाफाचाहिने भएकोले यस्तो हुन गएको हो । राजनैतिक प्रणालीमा पूँजीवाद भए पनि चिन्तन प्रणालीमा सामन्तवाद छ । त्यसकारण अहिले भएको सामाजिक व्यवस्थाले जनताको हितमाकाम गर्न सक्दैन भन्ने कुरा आन्दोलन क्रान्तिबाट आएकाहरु पनि पञ्चायतकाल कैं शैलीमा आफूलाई रुपान्तरण गरे ।

 

त्यसकारण अब नयाँ ढंगले फेरि एक पटक नयाँ समाज निर्माणका लागि उत्पादक शक्तिमाआएको परिवर्तन, बिज्ञान र प्रविधि, विचारधारा द्वन्द्वात्मक भौतिकवाद, राजनैतिक प्रणाली प्र्रत्यक्ष सहभागितामुलक स्वामीत्व सामाजिक हुने समाजवादी सामाजिक व्यवस्थाको लागि योजनाबद्ध ढंगले सिद्धान्त र विचारलाई केन्द्रमा राखेर संगठनको आधारमा संघर्ष, संघर्षको बलमा सामाजिक रुपान्तरण गर्दै अगाडि बढ्न्पर्छ ।  समाजमा हुने सबै खालका बिभेदको अन्त्यगरि नयाँ समाजको निर्माणका लागि अविचलित भएर निरन्तर राजनैतिक, सामाजिक, सांस्कृति रुपान्तरणमा लाग्नुपर्छ ।

 

यसका लागि कम्युनिष्ट आन्दोलनमा लागेरै सम्भव हुन्छ । कम्युनिष्ट भनेका अध्ययनशील, गतिशील, मानवमाथि कुनै पनि प्रकारको बिभेद नगर्ने र समाजका सबैभन्दा राम्रा मान्छे हुन भन्ने कुरालाई केन्द्रमा राखेर काम गर्न जरुरी छ ।आज हामी युवाहरुले यहि बहस गर्नु आवश्यकता हो ।