खेल

इंग्लिस प्रिमियर लिगः लिभरपुलको पहिलो हार, म्यानचेस्टर सिटी विजयी

इंग्लिस प्रिमियर लिगः लिभरपुलको पहिलो हार, म्यानचेस्टर सिटी विजयी

एजेन्सी । जारी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको लिभरपुललाई म्यानचेस्टर सिटीले पराजित गरेको छ । बिहिबार सम्पन्न खेलमा लिभरपुल सिटीसँग २–१ गोलले पराजित भयो । लिभरपुलको यो सिजनको पहिलो हार हो । जीतसँगै दोस्रो स्थानमा रहेको सिटीले लिभरपुलसँगको दूरी चार अंकले घटाउन सफल भएको छ । ५० अंक बनाएको सिटी उपाधि होडमा फर्किएको छ ।

 

लिभरपुलको २१ खेलबाट ५४ अंक पुगेको छ । सिटीको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुललाई हार चखाउन घरेलु टोलीका सर्जियो एगुएरोले ४०औँ मिनेटमा गोल गरे । अगुएरोको गोलपछि आक्रामक देखिएको लिभरपुलले ६४औँ मिनेटमा बराबरी गोल फर्कायो ।

 

लिभरपुलका रोबर्टो फिर्मिनोले बराबरी गोल गरेका थिए । तर, ७२ औँ मिनेटमा राहिम स्ट्रलिङको पासमा लेरोय सानेले उत्कृष्ट गोल गर्दै सिटीलाई जिततर्फ उन्मुख गराए । त्यसपछि अन्तिमसम्म लिभरपुलले गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन ।