कभर स्टोरी कला साहित्य समाज

राति सिरक भित्र लुकेर म्यासेज गर्छु नी !

कतै तपाईंका छोराछोरीको पनि यस्तै हालत त छैन ?

राति सिरक भित्र लुकेर म्यासेज गर्छु नी !

शुक्रवारको साँझ । काठमाडौं उपत्यकामा सिमसिम हिउँदे झरी । निकै जाडो थियो । कार्यालयको काम सकेर मित्र धु्रवसंग मध्यबानेश्वर पञ्चकुमारी नजिकै चिया खाएपछि घरतर्फ लागें । 

करिब ७ बजेको हुनुपर्छ । बर्षाले हिलाम्य सडक र सूर्य ढल्किसकेकाले अँध्यारो बाक्लिदै थियो । म पानीले नभिजाओस भनेर हातले टाउको छोप्दै छिटोछिटो हिंडिरहेको थिंए । घर जाँदा मुख्य सडकबाट केहीबेर साँघुरो गल्ली भएर जानुपर्छ । अँध्यारो थियो गल्ली । झन साँझको समय पानी परेकाबेला त निष्पट्टै !

‘मसंग मोबाइल छ भन्ने बाआमालाई थाहै छैन । ’ एक्कासी यो सुमधुर आवाज मेरो कानमा पर्यो । यसो दायाँबायाँ हेरेको,  त्यहीं साँघुरो गल्लीको एउटा कुनामा एकजोडी आपसमा कस्सिएका । अँध्यारोमा ठम्याउन मुश्किल भएपनि मैले स्कूले केटाकेटी हुनपर्छ भन्ने अनुमान गरे । उनीहरु छेउको पर्खालको आडमा अंकमाल गरेर उभिएका थिए । माघ महिनाको चिसो अझ त्यसमा यो कडा झरी पनि उनीहरुका लागि सामान्य थियो । आलिंगनको तातो र मीठा गफले उनीहरुलाई त्यहीं स्वर्ग थियो । 

मैलै केही टाढाबाट लुकेर उनीहरुलाई हेरें । केही थप संवाद सुन्न खोजें । कहिं चिन्छु कि ...मनमा यस्तै बिचार आयो । केहीबेर भिजेरै भएपनि कान उतैतीर तेर्सिए ।  प्रष्टरुपमा पुरुष आवाज सुने-

‘आज म कहाँ जाउँ न । ’
‘नाइ लाज लाग्छ...’
‘कस्तो माया गर्छु !’
‘म पनि गर्छु नी !’
‘नगएपनि म्यासेन्जरमा कुरा गरौंला नी त हुन्न ? ’
‘हुन्छ नी !’
‘अनि बाआमाले थाहा पाउँदैनन् ?’
‘सिरक भित्र लुकेर म्यासेज गर्छु नी । ’


यति संवाद सुनेपछि म खल्र्यामखुर्लुम भए । बाँकी कुरा सुन्ने धैर्यता भएन । आफनो दश बर्ष लागेको छोरो सम्झें । हतारहतार कोठातर्फ पाइला लम्काए । 

यसपछि मेरो दिमाग घुमेको घुम्यै भयो । होइन आजभोलिका केटाकेटी के भएका ? ती दुई जना त्यो रात संगै त बसेनन ? शारीरिक सम्बन्ध भयो कि ? मनमा अनेकौं प्रश्न आए । 

यो जोडी त समाजको प्रतिबिम्ब मात्र हो । आजभोलि केटाकेटीका हातमा मोबाइल र त्यसको प्रयोग कसरी भैरहेको छ भन्ने कुराको सानो उदाहरण मात्र हो यो । सम्बन्ध सामान्यरुपमा अघि बढ्ने हो भने त केही भएन तर यसले अपराधको रुप लियो भने के होला ? 

मारपीट, गर्भवति हुने, ब्ल्याकमेलिङ गर्ने, आत्महत्या, हत्या सबै प्रकारका घटना हुने सम्भावना प्रबल छ । हाम्रो समाजमा दैनिक यो प्रकारका घटना भइनैरहेका छन । अझ त्यसमा पनि आफना बालबालिका के गर्दैछन् ? कसको संगतमा छन् ? मोबाइलको प्रयोग कसरी गरिरहेका छन् ? भन्ने सामान्य ख्याल पनि अभिभावकले गरेको पाइदैन । यसले डरलाग्दो रुप लिइरहेको हामी कतिपय अभिभावकले भेउसमेत पाउँदैनौ । 

रातभरको अनेकौं तर्कनापछि बिहान भयो । उठेर मोबाइल खेलिरहेको दश बर्षे छोराको अनुहार हेरें । अघिल्लो साँझको जोडीलाई सम्झें । मोबाइलको लतबाट कसरी यसलाई छुटाउने....उपाय खोज्दाखोज्दै ब्रेकफाष्ट लिएको पत्तै भएन । दिउँसो अफिस आउँदा त तपाईको हातमा मेरो आलेख परिसकेछ !