रोजगार मेरो परिवार मेरो कथा सफलताको कथा

'सावाँ' अक्षर नचिनेका श्रीमान् श्रीमती पढाउन ‘ब्रासलेट’ बेच्दै

- शकुन्तला लोथ्याल

'सावाँ' अक्षर नचिनेका श्रीमान् श्रीमती पढाउन ‘ब्रासलेट’ बेच्दै

काठमाडौं । युगान्डा, हाइटीजस्ता कयौं गरिबी मुलुक होस् या कतार, अमेरिका, सिंगापुरजस्ता धनी र विकसित, प्रतिष्ठित पद र उच्च ओहोदामा प्राय: पुरुषकै बाहुल्यता प्रस्टै देख्न सकिन्छ । या त भनौँ, राजनीतिमा होस् या अन्य विभिन्न क्षेत्रका पेसागत क्षेत्रमा त्यहाँ पनि उनीहरूकै पकड छ ।

 

पुरुषप्रधान समाजकै कारण अझै कयौं महिला आफ्नो हकअधिकारका बारे अझै अन्जान छन् । पुरुष प्रधान्ताले आफ्ना पीडालाई खुलेर भन्न नसक्ने अवस्था पनि छ । अझ भन्नु पर्दा समाजको मनोविज्ञानमा परिवर्तन हुन सकेको छैन । महिलालाई कमजोर दृष्टिबाट हेर्ने सामाजिक मनोविज्ञानले नै उनीहरू आफ्नो हकअधिकार प्राप्तिबाट बन्चित भएका छन् ।

 

पुरुष महिलाभन्दा तल्लो पर्नुलाई कहिल्यै स्वीकार गर्न तयार हँदैनन् । हुन त आफूलाई सर्वश्रेष्ट ठान्ने, छोरीभन्दा छोरा प्यारो, श्रीमती घरमा र श्रीमानले बाहिर काम गनुपर्ने परम्परादेखि चलिआएको रित नै हो । यद्यपि महिलालाई उच्च दर्जा दिने, वकालत गर्ने पुरुष हुदै नभएका भने होइनन् । छनत छन् तर थोरै ।

 

थोरैमध्येका एक हुन् सर्लाही जिल्लाको हरियोन नगरपालिका स्थितका २५ वर्षीय सन्तोस दास बानियाँ । जो, आफ्नो श्रीमतीको सफलतामा परिवारको सुन्दर भविष्य देख्छन र त्यसैमा रमाउँछन् । श्रीमतीको त्यही सफलता र खुसीका लागि विगत तीन वर्षदेखि गौशालाको पशुपति क्षेत्रको सडक पेटीमा बसेर हातमा बाँध्ने ‘ब्रासलेट’ को व्यापार गर्दै आएका छन् । गर्मीयामको गर्मी होस् या जाडोयामको काठमाडौंको  कठ्यांग्रिदो जाडो, यसलाई बेवास्ता गर्दै बानियाँ बिहानदेखि बेलुकासम्म निरन्तर  सडक पेटीमा ‘ब्रासलेट’ बनाउँने सामग्रीको पोको फिँजाएर ग्राहकको पर्खाइमा हुन्छन् । कमाइ पनि राम्रै गर्छन्, तर कुनै–कुनै दिन भने ‘बोहनी’ को पर्खाइमै बित्छ उनको  ।

 

घरको कमजोर आर्थिक स्थितिले गर्दा पढाइमा उनले 'सावा' अक्षरसमेत चिन्ने मौका पाएनन् । आमाबुबाका बूढेसकालको एक्लो सहारा बानियाँ, कृषि गरी वर्षभरी खानलाई समेत नपुग्ने स्थितिले घरव्यवहार नचल्ने देखेर आफ्नो जिम्मेवारी बोध गर्दै सुन्दर भविष्यको सपनामा वैदेशिक रोजगारीका लागि २०७० सालमा मलेसिया पुगे ।

 

उनले मलेसिया पुगेपछि थाहा पाए अशिक्षित भएकै कारण आफू ‘मेनपावर’बाट ठगिएको कुरा । दुई वर्षसम्म उनले मलेसियामा धेरै दुःखकष्ट भोग्नु पर्‍यो । त्यसपश्चात् भाग्य र नियतिसँग सम्झौता गर्दै जेनतेन त्यहाँबाट नेपाल फर्कन सफल भए ।

घर फर्केलगत्तै बानियाँ २२ वर्षको उमेरमा श्रीमती कमलासँग प्रेम विवाह बन्धनमा बाँधिए । प्रेम 'अन्धो' हुन्छ भन्ने धेरै पुरानो भनाइ छ । जुन आज पनि उत्तिकै 'नौलो' र 'सान्दर्भिक' छ । प्रेमले धनी, गरिब, शिक्षित, अशिक्षित, जात, धर्म, वर्णजस्ता यावत पक्ष नहेरी प्रेम गर्ने मनलाई मात्र हेर्छ, त्यसैले प्रेमलाई अन्धोको उपमा दिइएको होला । बानियाँ दम्पति पनि यस्तैयस्तै प्रेममा परका थिए । त्यही भएर अक्षरसमेत चिन्न नसक्ने बानियाँले पढेलेखिकी जीवनसंगिनी पाए । उनको २३ वर्षीया श्रीमती कमला अहिले शिक्षा विषयमा स्नातक प्रथम वर्षमा अध्ययनरत छिन् ।

 

पहिलेदेखि पारिवारिक व्यवहार त छँदै थियो बिहेपछि श्रीमती पढाउँनुपर्ने थप जिम्मेवारी उनको काँधमा थपियो । त्यहीँ जिम्मेवारीलाई लक्ष्य बनाएर बानियाँ बिहेलगत्तै आफ्नो नवविवाहित श्रीमतीलाई घरमा छोडी काडमाडौं हानिए । हाल गौशालास्थित जयबागेश्वरमा कोठा भाडामा लिएर बस्दै आएका उनले पशुपति मन्दिर परिषरका सडक छेउमा बसी ‘ब्रासलेट’ बनाउँने गरेका छन् । यसरी दिनभरीको मिहेनतले दैनिक हजार देखि दुई हजारसम्म कमाइ गर्छन् । पशुपति क्षेत्रमा बानियाँजस्तै ब्रासलेट बेचेरै जीविकोपार्जन गर्ने करिब २०–२५ जना छन् । ‘सडक छेउमा बसेर व्यापार गर्दा समय–समयमा महानगरीय प्रहरीले लखेट्छन्’, डरै डरमा बसेर काम गर्नुपर्ने दुखेसो पोख्छन् बानिया । तर, विदेश गएर भोग्नुपरेको दुःख, पीडाजस्तो आफ्नो देशमा कहिले पनि नहुने उनको अनुभूति छ ।

 

‘ब्रासलेट’ बनाउँन (बुन्न) धागो, पोते, अक्षर छापिएका रबरका टुक्रालगायत सामग्री चाहिने हुनाले थोरैलागतमा पनि यो व्यवसाय शुरु गर्न सकिने र आम्दानी पनि राम्रै हुँने बानियाँ बताउँछन् । ‘ब्रासलेट’ बनाउँने ग्राहक प्रायः साना केटाकेटी, र प्रेमप्रमिका (जोडी ) आउँने गर्छन् । तीमध्ये धेरैले आफूले मन पराएका मान्छेको नामको ब्रासलेट बनाएर लगाउँछन् । ग्राहकका इच्छाअनुसारका ‘ब्रासलेट’ बनाएर प्रतिगोटा १ सयदेखि २ सय रुपैयाँसम्ममा ब्रिक्री गर्छन् बानियाँ ।

 

उनको घरमा आमाबुबा, श्रीमती, र ५ महिने छोरी गरी जम्मा ५ जनाको परिवार छ । उनलाई परिवारसँग सँगै बस्न नपाएको दुखेसो छ । 'परिवारसँगै रमाएर बस्न कसलाई रहर हुँदैन र । सानो छोरी, श्रीमतीको धेरै याद आउँछ,' घरपरिवारसँग टाढा बसेर आफ्नो जिम्मेवारी निभाइरहेका बानियाँ मलिन अनुहार पार्दै भन्छन्, 'दैनिक जसो श्रीमतीलाई फोन गरिरा'को हुन्छु । सँगै बस्ने दिनको पर्खाइमा बसेकी श्रीमतीलाई उनको पढाइ सकिएपछि सँगै बस्नुपर्छ भनेर भन्ने गर्छु । काठमाडौंको महंगी एउटै कोठाको ५ हजार भाडा तिरेर बस्दा, खाँदा बाँकी घरपरिवार चलाउन ठिक्क पुग्ने कमाइले परिवार नै काठमाडौंमा ल्याएर बस्नलाई गाह्रो छ ।'

 

उनले आफूले नपढ्दा पाएको दुःख कहिल्यै बिर्सिन सक्दैनन् । प्रविधिको विकाससँग शिक्षाको आवश्यकता पनि बढिरहेको उनको अनुभव छ । त्यसैले पनि आफू नपढे पनि उनी श्रीमतीलाई पढाउँन चाहन्छन् । यसो त, एउटा परिवार बाबुमात्रै शिक्षित हुँदा बुबा मात्रै शिक्षित हुने तर आमा शिक्षित हुँदा परिवार नै शिक्षित हुन्छन् भन्ने भनाइ नै छ ।

 

आफूले नपढ्दा भोगेका पीडा यसरी सुनाउँछन्, ‘यो आधुनिक डिजिटल प्रविधिको युगमा नपढ्नुको पीडा मलाईभन्दा धेरै अरू कसलाई थाहा होलार ! श्रीमतीले फेसबुकमा लेखेर पठाउँदा अक्षर नचिनेर, फोनबाट मात्र कुरा गर्नुपर्ने बाध्यता छ ।' शिक्षा बिनाको जीवनलाई नजिकबाट बुझेका उनले श्रीमती र सन्तानका उज्ज्वल भविष्यका लागि हर प्रयास गर्ने संकल्प गरेका छन् ।

 

हरेक सन्तानका लागि आमा पहिलो शिक्षक हुन्छ, त्यसैले सन्तानका लागि बुबाभन्दा बढी आमा शिक्षित हुनुपर्ने उनको राय छ । श्रीमती शिक्षित भए आफूले काम गर्न नसकेको दिन पनि घरपरिवार सजिलै सम्हाल्न सक्ने उनको विश्वास छ । त्यही विश्वास पूरा गर्न नेपालमै काम गरी श्रीमतीको शिक्षा पूरा गर्ने ठूलो सपना छ, उनको।

सन्तोष दास बानियाँ