कर्पोरेट ओटोमोबाइल

विश्वकै सस्तो कार ‘टाटा नानो’को उत्पादन बन्द हुँदै

विश्वकै सस्तो कार ‘टाटा नानो’को उत्पादन बन्द हुँदै

काठमाडौं। भारती अटोमोबाइल कम्पनी टाटाको नविन प्रोडक्ट टाटा नानोको उत्पादन बन्द हुने भएको छ । विश्वकै सबैभन्दा सस्तो कारको परिचय बनाएको नानोको उत्पादन  यहि वर्षदेखि बन्द गरिने कम्पनीले जनाएको हाे । 

 

भारतकै ठूलो कार उत्पादक कम्पनी टाटा मोटर्सले विगत १० वर्षदेखि सानो आकारमा नानो उत्पादन गर्दै आएको थियो ।

 

भारतीय उपभोक्ताले नानोलाई त्यति नरुचाएको र कारको उत्पादन लागत समेत बढी रहेकाले बन्द गर्नु परेको कम्पनीले बताएको छ ।

 

यसै सन्दर्भमा टाटा मोटर्सका अध्यक्ष मयङ्क पारीकले सबै विषयलाई मध्यनजर गर्दा नानो कारको उत्पादन कम्पनीको हितमा नरहेकोले बन्द गर्नु परेको बताएका छन् । उनले भने, ‘अब हामी नानो कारमा थप सुधार गर्न लगानी थप्ने स्थितिमा छैनौं ।’

 

टाटाले सन् २००९ मा निकै तामझामका साथ नानो कार बजारमा ल्याएको थियो । बजारमा शुरुका दिनमा यसको बजार मूल्य २ हजार २०० अमेरिकी डलर थियो ।

भारतीय प्रसिद्ध उद्योगी एवं टाटा समूहका पूर्व अध्यक्ष रतन टाटाको योजनामा उक्त कारको उत्पादन थालिएको थियो । ठूलो संख्याका भारतीयलाई सस्तोमा कार दिने सपना उनको थियो । अहिले ८१ वर्ष पुगिसकेका रतनमा मोटरसाइकल, स्कुटर जस्ता दुई पाङ्ग्रे सवारी चढ्ने ठूलो संख्याका भारतीयलाई कार चढाउने तीव्र इच्छा थियो ।

 

 विश्लेषकहरु पनि रतनको योजनामा सहमत देखिन्थे, किनभने लाखौं भारतीयलाई यो कार बरदान सावित हुने अपेक्षा थियो । त्यसलगत्तै, विश्वभर यो कारले “विश्वकै सस्तो कार” को उपनाम पाएको थियो ।

 

तर, यो कारको बिक्रीमा मन्दी आयो । “यो मार्केटिङमा भएको असफलता हो,” अटोकार इन्डिया म्यागजिनका सम्पादक होरमाज्द सोब्रब्जीले भने । “यो कारलाई गरिबको कार भनियो र भारतीयहरु आफ्नो इज्जत, प्रतिष्ठाप्रति ज्यादै सचेत छन् । मोटरसाइकलको विकल्पमा यो कारले बजार लिन सक्थ्यो, तर बजार प्रवर्द्धन त्यस किसिमबाट भएन ।”

 

यो कारमा सुरक्षा पनि अर्को चासोको विषय थियो । कारको इन्जिनमा आगलागीका कैयौं घटना भएका थिए । शुरुका दिनहरुमा यो कार प्रति महिना २५ हजार थान बिक्री गर्ने योजना थियो, तर एक दुई वर्षभित्रै यसको प्रति महिना बिक्री सयमा झरेको थियो ।

 

सन् २०१३ मा टाटा मोटर्सले बिक्री बढाउन यो कारमा स्तरोन्नति गरेको थियो । भारतमा नानो समेतका सानो मोडेलका अरु कारहरुको पनि बिक्री बढ्न सकेन । “एउटा सपनाको अन्त्य,” दैनिक पत्रिका मिन्टको मुख्य समाचारको शीर्षकमा भनिएको छ ।