अर्थ बैंकिङ

सीमाबाहिर कर्जा प्रवाह, राष्ट्र बैंकले गरायो सचेत

सीमाबाहिर कर्जा प्रवाह, राष्ट्र बैंकले गरायो सचेत

काठमाडौं : पुस मसान्तमा अधिकांश बैंकको कर्जाको तुलनामा निक्षेप र प्राथमिक पुँजी (सीसीडी) अनुपात ८० प्रतिशत नाघेको छ। नेपाल राष्ट्र बैंकले तोकेको सीमाबाहिर गएर कर्जा प्रवाह हुन थालेपछि बैंकलाई सचेत गराइएको बैंकका प्रवक्ता नारायणप्रसाद पौडेल बताउँछन्।

 

‘हामी बैंकहरूको मासिक रूपमा सीसीडी गणना गरेर नियम उल्लंघन गर्नेलाई कारबाही गर्दै आएका छौं’, उनले भने, ‘राष्ट्र बैंकले सीसीडीको अधिकतम सीमाभन्दा माथि गएर कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थालाई नियम मिचेर दिइएको कर्जा रकममा बैंकदर बराबरको रकम कारबाही स्वरूप लिँदै आएको छ।’ जति महिना सीसीडी सीमाभन्दा बाहिर जान्छ प्रचलित ब्याजदरले हिसाब गरेर राष्ट्र बैंकलाई बैंक तथा वित्तीय संस्थाले जरिवाना तिर्नुपर्ने पौडेलले बताए। उनले गत महिना पनि दुई बैंकलाई कारबाही गरेको बताए। बैंकदर भन्नाले राष्ट्र बैंकले अल्पकालका लागि बैंकहरूलाई ऋण दिँदा लिने ब्याजदर हो। अहिले बैंक दर ७ प्रतिशत हाराहारीमा छ।

 

पुस मसान्तमा सात वाणिज्य बैंकले तोकिएको सीसीडी अनुपातभन्दा माथि गएर कर्जा दिएका छन्। बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंकले संकलन गरेको निक्षेप र त्यसको प्राथमिक पुँजी जोड्दा हुन आउने रकमको ८० प्रतिशतसम्म मात्र कर्जा दिन अनुमति दिएको छ। सञ्चालनमा रहेका २८ वाणिज्य बैंकले पुस मसान्तसम्म २५ खर्ब ५४ अर्ब निक्षेप संकलन गरेका छन् भने २३ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा दिएका छन्। २८ वाणिज्य बैंकको प्राथमिक पुँजी तीन खर्ब ८० अर्ब जति छ। यसबाट औसतमा हिसाब निकाल्दा बैंकहरूले उनीहरूको निक्षेप र प्राथमिक पुँजी योगको ७९ दशमलव ९ प्रतिशत कर्जा दिएका छन्। करिब ८० प्रतिशत हाराहारीमा कर्जा विस्तार भइसकेकाले अब बैंकहरूले कर्जा विस्तार गर्ने ठाउँ छैन। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

नेपाल राष्ट्र बैंक