समाचार प्रदेश १

काजकिरिया गरेको ६ महिनापछि मृतक फर्किए !

काजकिरिया गरेको ६ महिनापछि मृतक फर्किए !

झापा । उनी जीवित छन् । तर, हातमा छ, मृत्युको प्रमाणपत्र । काजकिरिया भइसकेको छ । यति मात्र होइन, जीवन बिमाबापतको १० लाख रुपैयाँ पनि उनको परिवारले बुझिसकेको छ । यो यथार्थता हो, मोरङ बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सुवास तामाङको । भयानक दुर्घटनाबाट बाँच्न सफल तामाङलाई स्वास्थ्यमा सुधार आएपछि साउदी सरकारले नेपाल पठाएको थियो । तर, नेपाल आएपछि उनले आफ्नो बारेमा जे सुने, त्यसपछि भने उनमा मानसिक आघात पर्न गयो । मृत्युको प्रमाणपत्र देखाउँदै उनले भने, ‘यही हो मेरो पासपोर्ट । यही पासपोर्ट नै मेरो मृत्यु भइसकेको प्रमाण बनेछ ।’

 

उनी कार्यरत होन्डाइ कम्पनीले उनको पासपोर्ट अर्कैको शवका बाकसमा राखिदिएछ । उनलाई साउदी पठाउने म्यानपावरले पनि यथार्थ बुझ्न तत्परता देखाएन । साउदीबाट आएको शवको बाकसमा उनको नाम र पासपोर्ट राखिएकै कारण परिवारले मृत्युसंस्कार गर्यो । ‘साउदीबाट आएको शवको बाकसमा मेरो नाम र पासपोर्ट राखिएकै कारण मेरो काजकिरिया गरिएको रहेछ म जिउँदो हुँदाहुँदै,’ तामाङले भने ।

 

साउदीमा उनीसँगै काम गर्दै आएका कपिलवस्तुका टेकेन्द्र भण्डारीसहित केही साथी चढेको ट्याक्सी २४ असार २०७२ मा दुर्घटनामा परेको थियो । उनीहरू कम्पनीबाट तलब बुझेर फर्किँदै थिए । त्यस दुर्घटनामा टेकेन्द्रसहित पाँच जनाको मृत्यु भयो । उनी घाइते भए । तामाङको साउदीकै एक अस्पतालमा उपचार भइरहेको थियो । तर, कम्पनीले भने टेकेन्द्रको शवको बाकसमा तामाङको नाम र पासपोर्ट राखिदियो । तामाङको परिवारलाई पनि उनको मृत्यु भइसकेको र शव पठाउन लागेको जानकारी कम्पनीले गरायो ।

 

तामाङको भनिएको शव उनकै घर बेलबारी लगेर जलाइएको थियो । ‘शव’ जलिरहँदा तामाङ भने कोमामा थिए । चार महिना कोमापछि उनको होस खुलेको थियो । त्यसपछि मात्र श्रीमान् जीवितै रहेको सन्तोषीले थाहा पाएकी थिइन् । काजकिरिया सकिएको ६ महिनापछि तामाङलाई नेपाल पठाइएको थियो । त्यसयता उनी निरन्तर आफ्नै घरमा छन् । एकोहोरो हाँसिरहने र रिसाइरहने समस्या उनमा बढ्दै गएको छ ।

 

सन्तोषी पनि जीवित श्रीमान्को काजकिरिया गर्नुपर्दा अत्यन्तै दुःखित छिन् । श्रीमान्को भनिएको शव ल्याएर जलाउँदासम्म आफू बेहोस भएको र शव देख्ने कसैले पनि होइन नभनेकामा उनी आश्चर्यचकित छिन् । ‘त्यसबेला जलाइएको शव मेरो श्रीमान्को होइन भनेर कसैले पनि भनेनन् । म पनि हो नै भनेर मृत्युसंस्कारमा सहभागी भएँ ।

 

अहिले भने गाउँ परिवार र समाजले हामीलाई पहिला नै त्यो शव तिम्रो श्रीमान्को होइन भनेर थाहा थियो भन्ने गरेका छन् । उनीहरूका यस्ता कुराले पनि मेरो श्रीमान्को स्वास्थ्यमा मानसिक समस्या देखिन थालेको हो,’ सन्तोषीले भनिन्, ‘मलाई मेरो श्रीमान् जिउँदो छँदै किरिया गर्न किन बाध्य गराइयो ? एकपटक विधवा भएकी मैले पुनः जसको किरिया गरेको थिएँ, उसैको पोते र सिन्दुर लगाउनुपर्यो । खोजी गरी कारबाही अघि बढाइयोस्,’ सन्तोषीले भनिन् ।

 

हिन्दू धर्मशास्त्रअनुसार किरिया गरेको मान्छे जिउँदै आए पुनः जन्माउनुपर्ने, न्वारान र विवाह सबै गर्नुपर्ने परम्परा छ । दुई सन्तानका बाबु तामाङ सिटी रिक्सा चलाएर जीविकोपार्जन गरिरहेका छन् । उनले म्यानपावर कम्पनीका कारण आफू यो हालतमा पुगेको भन्दै क्षतिपूर्तिको मागसमेत गरेका छन् । यो समाचार राजधानी दैनिकबाट लिइएको हो । 

झापा सुवास तामाङ