कभर स्टोरी भिडियो

मेरो घरको दिसापिसाब बन्दा र काउली बनेर फर्किन्छ (भिडियोसहित)

मेरो घरको दिसापिसाब बन्दा र काउली बनेर फर्किन्छ (भिडियोसहित)

काठमाडौं । ललितपुर, चापागाउँ चोकबाट ढोलाहिटीको उकालो लागेपछि कृषि वैज्ञानिक मदन राईको घर पुगिन्छ । सानो क्षेत्रफलको बारीमा पनि धेरै प्रकारका बोटबिरुवा लगाउन सकिन्छ भन्ने उनको करेसाबारीले प्रमाणित गर्छ । करिब अढाइ रोपनी जमिनमा उनले के के मात्र फलाएका छैनन् ? तरकारीमा काउली, बन्दा, गोलभेडा, र फलफूलमा एभोकाडो,अम्बा, नास्पाती,भोगटे, आरु, अनार, अंगुर धेरैखाले फलफूल र तरकारीका विरुवा त्यहाँ देख्न पाइन्छ ।


 यसबाहेक थरीथरीका फूलले करेसाबारीलाई सुन्दर बनाइदिएको छ । हुन त नेपालमा रसायनको प्रयोग भित्र्याउने पहिलो विज्ञ नै उनी हुन् । तर उनको घरमा लगाइएका कुनै पनि विरुवामा अलिकति पनि रसायनिक मलको प्रयोग हुँदैन । त्यहाँ प्रयोग हुने मलजल नै राई परिवारका सदस्यको दिसापिसाब हो । दिसापिसाबलाई प्रांगारिक मलमा रुपान्तरण गर्नु पर्ने राईको मान्यता छ । उनी त्यही गरिरहेका छन् केही वर्षदेखि । 

 

उनको सानो करेसाबारीमा कसरी व्यवस्थित कृषि गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । धेरै मानिसहरु बोल्छन्, राईले गरेरै देखाएका छन् ।

 

आफ्नै परिवारको मलमुत्रलाई प्रांगारिक मलमा रुपान्तरण थालेको नै १० वर्ष भइसकेको उनी बताउँछन् । उनको विद्यालयमा पनि यही शैलीमा मलमुत्र संकलन हुन्छ, र प्रयोग पनि । 

 

काठमाडौंको माटो मलिलो छ । तर यस्तो माटोमा घर बनेका छन् । विकल्पमा कौसीखेती हुन सक्ने उनी औंल्याउँछन् । कौसीखेतीबाट धेरैले अग्र्यानिक तरकारीको आवश्यकता पूरा गरेका छन् । 

 

अग्र्यानिकका सम्बन्धमा राईको मत केही भिन्न छ । उनी भन्छन्, ‘वास्तवमा अग्र्यानिक भनेको हाम्रै शरीरबाट निस्कने चिज हो । कुनै पनि सजीव वस्तु मरेर सडेपछि त्यसको प्रयोग रूख विरूवाले गर्नु नै अग्र्यानिक हो ।’ 

 

दिसा पिसाबको उचित प्रयोगबाट प्रांगारिक मल बनाएर व्यवहारिक प्रयोग गर्न सकिने राई बताउँछन् । 

 

कृषि भनेको सामान्य रूपमा वनस्पतीको अध्ययन नै हो । यस्तो वनस्पति प्रत्येक मानिसले प्रत्येक ठाउँमा उब्जाउन सक्ने उनले बताए । उनी भन्छन्, ‘एउटा खुर्सानीको बोट रोप्नु या एउटा फूल रोप्नु पनि कृषि हो ।’ त्यसको प्रयोग काठमाडौंवासीले अधिक रूपमा गर्न सक्ने भन्दै उनले भने, ‘काठमाडौंको माटो सार्वधिक मलिलो मानिन्छ । यहाँ त घर घरमा कृषि गर्न सकिन्छ । घरको छत होस् या बगैचा, काठमाडौंमा कृषि सम्भव नहुने सायदै त्यस्तो कुनै ठाउँ छ ।’

">

 

कसरी संकलन गर्ने दिसा पिसाब ? 
राईको घरमा सबैले प्लास्टिकको बाल्टिनमा दिसा पिसाब गर्छन् । त्यही लगेर ठूलो ड्रममा संकलन गरिन्छ । पिसाबलाई एकदेखि तीन महिनासम्म त्यसमा पानी नमिसाई सढाउनुपर्छ । सढेपछि त्यसको एक भाग पिसाब र चार, पाँच भाग पानी मिसाएर बिरुवामा हाल्यो भने विरूवा हलक्क बढ्ने उनले बताए । यसो गर्दा दिसा पिसाबमा खर्च हुने पानी बच्ने र तीन करोड रुपैयाँ त काठमाडौंबासीले पिसाब बेचेरै कमाउन सक्ने उनको बुझाइ छ ।  

 

घरघरमा हुने सेफ्टी ट्यांकी नै एक किसिमको ‘एटम्ब बम्ब’ भएको भन्दै उनले भने, ‘त्यहाँ यत्ति धेरै हानीकारक किटाणु हुन्छ, भोलिको दिनमा यदि भूकम्प आयो भने पनि त्यो सबै फुटेर बाहिर निस्कन्छ ।’ हैजा फैलाउने ठूलो माध्यम नै ‘सेफ्टी ट्यांकी’ भएको भन्दै उनले थपे, ‘त्यसकारण यो भयंकर ठूलो समस्या हो । मेरो घरमा शौचालय नै छैन । बाल्टिनमा दिसा पिसाब गर्छौ । त्यो बन्दा, स्याउ, काउली, केरा, अम्बा भएर आइरहेको छ ।’

 

पहिला पहिला ‘खेतको पेटमा ,पेटको खेतमा’ भन्ने गरिन्थ्यो । अहिले त्यो चक्र नै तोडिएको भन्दै हाम्रो अज्ञानता नै अहिलेको मुख्य समस्या भएको उनले दर्शाए ।  

 

काठमाडौंलाई उचित निकास दिन नसकेको भन्दै उनले मेयर विद्यासुन्दर शाक्यलाई ‘नालायक’ को संज्ञा दिए । ‘मेयर भएर उनले गरेका काम सबै गलत छन् । मेयर भनेको सडकको मुख्य मान्छे हो । सडक सफा र सुरक्षित भएन भने त्यो सहर राम्रो नै भएन । तर हाम्रा मेयर साहब सडक नै घुम्नु हुन्न । मेयर र नगरबासीलाई आफ्नो दिसा पिसाब सडाएर प्रविधिको प्रयोगले त्यसलाई संकलन गर्नुस् भन्न चाहन्छु’, उनले भने ।  

 

उनले संसारको ७२ वटा सहर घुमे तर काठमाडौं जत्तिको सुन्दर सहर अरू कुनै देखेनन् ।  उनले भने, ‘काठमाडौं जति सुन्दर कहीँ छैन । यसलाई नर्क बनाइएको छ । हामीले चाह्यौं भने स्वर्ग बनाउन सक्छौं । मेयर नै यो कामको अगुवा हुन् ।’ 

 

मानिसले अरू केही गर्न नसके पनि गुहु बेचेर नै मनग्ये आम्दानी गर्न सक्ने सम्भावना उनले देखेका छन् । प्रत्येक व्यक्तिले दिनमा आधा किलो दिसा गर्दा पनि महिनामा त्यो डेढ सय किलो बराबार हुन जान्छ । त्यो भनेको त धेरै ठूलो मल भएको भन्दै उनले भने, ‘त्यो त पैसामा बिक्छ । वर्ष दिनमा प्रति व्यक्तिको सातसय लिटरसम्म पिसाब संकलन गर्न सकिन्छ । त्यसलाई बेच्न पनि सकिन्छ । यसवाहेक उक्त दिशा पिसाबलाई आफैंले पनि मलको रुपमा प्रयोग गर्न सकिन्छ ।’

मदन राई