अर्थ कर्पोरेट देश

आज एकै दिन ४५ अर्ब राजस्व उठाउन सरकारलाई दबाब, लक्ष्य पुरा नहुने निश्चित

आज एकै दिन ४५ अर्ब राजस्व उठाउन सरकारलाई दबाब, लक्ष्य पुरा नहुने निश्चित

काठमाडौं। चालु आर्थिक बर्षको दोस्रो त्रैमासको आज अन्तिम दिन। यतिखेरर करदाता र कर उठाउने सरकार दुवै दबाबमा छन्। करदातालाई कर आज बेलुकीसम्म बुझाइसक्नुपर्ने दबाब छ भने सरकार आफूले तोकेको लक्ष्य पुरा गर्न लागिपरेको छ। 

 

यतिबेला सबै कर कार्यालय र भन्सारका प्रमुखहरु पुसका लागि तोकिएको लक्ष्य पुरा गर्ने दौडमा छन्। पुस मसान्तसम्मको तथ्यांकले समग्र बजेट कार्यान्वयन र राजस्व संकलनको तस्बिर देखाउने भएकाले पनि आफ्नो पर्फर्मेन्स इन्डेक्सु बलियो देखाउन सबैको दौडधुप चलिरहेको छ। 


सुस्त व्यवसायिक गतिविधि र कमजोर विकास खर्चको असर सरकारको राजस्व संकलनमा देखिएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसमम्मा ४ खर्ब २९ अर्ब रुपैयाँ र पुस महिनामा मात्रै १ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा त्यो पुरा नहुने देखिएको छ। 

 

आइतबार बेलुकीसम्मको राजस्व संकलनको अवस्था हेर्दा पुस मसान्तको राजस्व संकलन ४ खर्ब १० अर्ब रुपैयाँको हाराहारीमा हुने देखिएको छ। आइतबार बेलुकीसम्ममा देशका अधिकांश कर कार्यालय र भन्सार कार्यालयको राजस्व संकलन लक्ष्यको तुलनामा ७० प्रतिशत मात्रै भएको छ।

सबैभन्दा धेरै राजस्व संकलनको लक्ष्य पाएको ठूला करदाता कार्यालयले यो महिना लक्ष्यभन्दा करिब १० अर्ब रुपैयाँ थोरै संकलन हुने अनुमान गरेको छ। कार्यालयलाई पुसमा ४६ अर्ब ९९ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएकोमा ३८ अर्ब रुपैयाँ मात्रै संकलन हुने उसले अनुमान गरेको छ। 

 

आइतबार बेलुकीसम्ममा २६ अर्ब रुपैयाँ संकलन भएको छ, सोमबार एकदिन बढिमा १० अर्ब रुपैयाँ राजस्व आउला,ु कार्यालयका एक अधिकृतले भने, हाम्रो लक्ष्यभन्दा करिब १० अर्ब रुपैयाँ राजस्व थोरै उठ्ने अनुमान गरिएको छ।

मध्यमस्तरीय करदाता कार्यालयको अवस्था पनि उस्तै छ। कार्यालयले आइतबार बेलुकीसम्ममा करिब साढे दुई अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। सोमबार थप डेढ अर्ब संकलन भए मात्रै उसको ४ अर्ब रुपैयाँको लक्ष्य पुग्छ। ‘हामीले पाएको लक्ष्यअनुसार संकलन हुँदैन’, कार्यालयका एक कर अधिकृतले भने। 

 

भन्सार कार्यालयहरु पनि राजस्व संकलनको लक्ष्य पुरा नहुने अवस्थामा पुगेका छन्। सबैभन्दा धेरै राजस्व संकलन गर्ने वीरगञ्ज भन्सार कार्यालयले पुसमा लक्ष्यको तुलनामा ८५ प्रतिशत मात्रै राजस्व संकलन हुने जनाएको छ। 

 

कार्यालयका एक अधिकारीले १३ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पुरा हुने अवस्था नरहेको बताए। उनले पुसमा राजस्व संकलनको गति सुस्त रहेको र सवारी साधनलगायतका वस्तुको आयात पनि घटेको जानकारी दिए। 

 

यसैगरी भैरहवा भन्सार कार्यालयले पुसमा ७ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकोमा त्यसको करिब ७३ प्रतिशत मात्रै संकलन भएको छ। लक्ष्य पुरा हुने अवस्था नरहेको कार्यालयका एक अधिकारीले बताए। भैरहवाले सोमबारसम्ममा ८० प्रतिशत संकलन पुर्‍याउने कसरत गरिरहेको छ। यद्यपि यसका लागि पनि ६० करोड रुपैयाँ आवश्यक पर्छ।

 

पुसमा सबैभन्दा राम्रो राजस्व संकलन रसुवागढी भन्सार कार्यालयको छ। भन्सार प्रमुख पुण्यविक्रम खड्काले आइतबारसम्ममा लक्ष्यको तुलनामा १४० प्रतिशत संकलन भएको जानकारी दिए। उनका अनुसार पुसमा ६० करोड ४५ लाख ४५ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा ८५ करोड ८६ हजार रुपैयाँ संकलन भएको छ। रसुवाबाट पुस मसान्तसम्ममा ५ अर्ब ५९ करोड २१ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। जुन वार्षिक लक्ष्यको ७९ प्रतिशत हो।

 

आन्तरिक राजस्व र भन्सारअन्तर्गतका प्रमुख कार्यालयहरुको आइतबारसम्मको संकलनको अवस्था हेर्दा सोमबार एकैदिन सरकारले करिब ४५ अर्ब रुपैयाँ राजस्व संकलन गर्नुपर्ने देखिन्छ। तर ती कार्यालयले नै राजस्व संकलनको लक्ष्य पुरा नहुने बताइसकेका छन्। 

 

राजश्व नपुग्ने भएपछि अर्थमन्त्रालयले दूरसञ्चार प्राधिकरणको कोषमा रहेको ३ अर्ब रुपैयाँ राजश्व खातामा जम्मा गर्न निर्देशन दिएको छ।बिजमाण्डुबाट

राजस्व विभाग