समाचार

विद्याभूषण पदकमा त्रिभुवन विश्वविद्यालयको मनपरी

विद्याभूषण पदकमा त्रिभुवन विश्वविद्यालयको मनपरी

काठमाडौं । स्‍नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई दिइने विद्याभूषण पदक तथा अन्य पुरस्कारमा त्रिभुवन विश्वविद्यालयले मनपरी गरेको छ । वार्षिक र सेमेस्टर प्रणाली पढेकालाई एकै डालोमा राखेर पदक पाउने विद्यार्थी छानिएको छ । त्यसो गर्नु गलत भएको जानकारहरुको भनाइ छ । किनभने यी दुई प्रणालीमा पढाउने र नम्बर दिने शैली फरक छन् ।

 

त्रिविअन्तर्गत स्‍नातकोत्तर तहमा २०७२ सालसम्म वार्षिक प्रणालीबाट मात्र पढाइ हुन्थ्यो । त्यही वर्षदेखि केही क्याम्पसमा सेमेस्टर र केहीमा वार्षिक प्रणालीबाट पढाइ भइरहेको छ । यो वर्षदेखि सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गरिएको छ । गत शैक्षिक सत्रमा भौतिक संरचना र पर्याप्त शिक्षक भएका क्याम्पसमा सेमेस्टर र संरचना पर्याप्त नभएका क्याम्पसमा वार्षिक प्रणालीबाटै पढाइ भएको थियो ।

 

पढाइको प्रकृतिअनुसार यी दुई थरि विद्यार्थीको मूल्यांकन तरिका फरक छ । सेमेस्टरमा उपस्थितिलाई अनिवार्य मानिन्छ । कुल एक सय पूर्णांकमा ४० प्रतिशत अभ्यासमूलक कार्य र ६० प्रतिशत सैद्धान्तिक विषयका लागि अंक दिइन्छ । वार्षिकअन्तर्गतका विद्यार्थीको एक सय पूर्णांकमै परीक्षा लिइन्छ। सेमेस्टरमा पढेका विद्यार्थीले उच्च अंक ल्याउँछन् । अधिकतम चार जीपीएसम्म दिइन्छ । वार्षिक परीक्षाका विद्यार्थीलाई प्राप्तांकलाई प्रतिशतमा गणना गरेर नम्बर दिइन्छ । यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।