कभर स्टोरी भिडियो

तीन दिनअघिसम्म विवेकशील साझाका कार्यकर्ता भन्थे, ‘ढूक्क हुनूस्, पार्टी फुट्दैन’(भिडियोसहित)

तीन दिनअघिसम्म विवेकशील साझाका कार्यकर्ता भन्थे, ‘ढूक्क हुनूस्, पार्टी फुट्दैन’(भिडियोसहित)

काठमाडौं । विवेकशील साझा पार्टीका काभ्रे संयोजक हुन् भूषणकुमार श्रेष्ठ । श्रेष्ठ व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका छन् । अटो नेपाल नामक म्यागजिन उनी चलाउछन् । विवेकशील साझा पार्टीबाट उज्वल थापाको समूह पुस २७ मा फुटेको छ । यो घटनाको तीन दिन अघि श्रेष्ठसँग नेपालआजले कुराकानी गरेको थियो । कुराकानीका क्रममा श्रेष्ठलाई हामीले सोधेका थियौं, ‘तपाईंहरुको पार्टी त फुट्दैछ रे नी ?’ जवाफमा संयोजक श्रेष्ठले आफ्नो पार्टी कुनै पनि हालतमा नफुट्ने दावी गरेका थिए ।

 

विवेकशील साझाका नेताहरुले लुम्बिनीमा बिरुवा रोपेर कसम खाएको र त्यो बिरुवा झै  यो पार्टीको जरा भित्रभित्रसम्म पग्ने भन्दै पार्टी बलियो रहेको प्रष्ट पार्न बिम्ब उपयोग गरेका थिए । तर संयोग यस्तो पर्‍यो कि विवेकशील साझाका कार्यकर्ताहरुको चाहनाविपरीत यो पार्टी जोडिएको दुई वर्ष पुग्न नपाउँदै फुटेको छ । 

 

अब उज्वल थापाको विवेकशील नेपाली र रवीन्द्र मिश्रको साझा पार्टी मिलेर विवेकशील साझा बन्यो । अब थापाको नेतृत्वमा नयाँ पार्टी दर्ताको प्रक्रिया शुरु भइसकेको छ । 

 

विवेकशील साझाका काभ्रे संयोजक श्रेष्ठले आफ्नो पार्टीले कर्मचारी, विद्यार्थीमा संगठन नबनाउन लिएको नीति राम्रो रहेको दावी गरे । अरुले यो पार्टी भर्चुअल भनेर आलोचना गरे पनि पार्टी भूगोलमा सशक्त रहेको श्रेष्ठ उल्लेख गर्छन् । राजनीतिलाई कमाईखाने भाँडो बनाउने कांग्रेस कम्युनिष्टहरुका कारण आफूहरु जस्तै लाखौं युवा विवेकशील साझामा आएको उनी जिकिर गर्छन् । 

 

विवेकशील साझाले आफ्ना नेता कार्यकर्ताको आफ्नै केही रोजगारी वा व्यवसाय हुनुपर्छ भन्ने नीति लिएको छ । आयको स्रोत नै राजनीतिलाई बनाउँदा राजनीति फोहोर हुन्छ । फोहोर राजनीतिले देश विकास हुँदैन । 

 

कांग्रेस र कम्युनिष्टको इतिहास नेपालमा ७० वर्षको छ । नयाँ राजनीतिक दल स्थापित हुन गाह्रो छ । यसकारण यसपटक विवेकशील साझालाई सजिलो भएन । नयाँ भए पनि विवेकशील साझाले प्रदेश ३ मा तीन जना सदस्य पठाउन सफल भयो । 
जनताले आफ्नो स्तरअनुसार आफ्नो नेता  छान्छन् ।

 

विवेकशील साझामा राजनीति गर्नेहरु अधिकांश पढेलेखेका युवाहरु छन् । उनीहरु आम नेपाली जनताको स्तरभन्दा माथिल्लो तहको कुरा गर्छन् । यस्तोमा तल्लो तहका, चेतनास्तर तल्लो रहेका नेपालीहरुले के उनीहरुलाई भोट देलान् ? भूषणकुमार श्रेष्ठ भन्छन्, ‘यो चुनौतीको विषय हो । तर अबका जनता चेतनामा माथिल्लो तहमा गइससके ।’