विचार

दुई तिहाइको निरीह सरकार 

पूर्ण ओली

दुई तिहाइको निरीह सरकार 

करिब साडे ३ बर्षअघि मैले बाटो बिराएको देश नामको किताब प्रकाशित गरेको थिएंँ । अहिले आएर कतै देशले साच्चै नै बाटो बिराएको भान हुंँदैछ । जनताका आधारभूत आवश्यकता ज्यूँ का त्यूँ छन् । किसानले समयमा मल बीऊ नपाएर पर्याप्त मात्रमा उत्पादन गर्न सक्तैनन् । भारतको नियन्त्रणमा रहेका कोशी गण्डकीजस्ता ठूला सिचाईंहरुबाट सम्झौताअनुसार समयमा नेपाली कृषकलाई पानी नदिएर धान गहुँ लगाउन किसानहरुले सरकारको मुख ताकेर बस्नुपरेको छ । उत्पादित  धान उखुले समयमा मुल्य पाउंदैनन् । गाउँघरमा पानीको अभावमा उत्पादन नभएर खडेरी पर्ने गरेको छ । मेलेम्चीको अनिश्चिताको कारण काठमाडांैलगायत सबैतिर खानेपानीको अभाब कुरा गरेर साध्य छैन् । 

 

गाउँगाउँसम्म  पानी आपूर्तिको अभियान, कृषकलाई आवश्यक मल कारखानाको स्थापना, मल बीऊ र प्राबिधिक गाउँगाउँसम्म पुर्‍याउनुको साटो सरकारबाट जनतामा नयाँ नयाँ सपना फेरि पनि बाँडिदैछ तर शहर सफा राख्ने फोहोरको स्थायी ब्यबस्थापन गर्न भने अझै पनि महानगरपालिकालाई दबाब दिन चुकिरहेको छ सरकार ।

 

अर्कोतर्फ सरकार जनताको दैनिकी आधारभूत आवश्यकता परिपूर्तिभन्दा चलिरहेको धर्म संस्कृति परम्परा बिरोधी गतिबिधिमा लागेकोे भान केही समयअघि सम्पन्न एशिया प्यासिफिक समिटको नाममा आएको क्रिष्चियन धर्मको प्रचारमा सक्रिय भएर भाग लिएकोबाट देखियो । दुई बिशाल देश चीन र भारतको बीचमा रहेको सानो मुलुक दुबै छिमेकीलगायत सबै देशहरुसंँग मिलेर जानको लागि  स्पष्ट असंलग्न परराष्ट्र नीति अपनाउनुकोे साटो पश्चिमा देशहरुको पिछलग्गु भएको देखिन्छ ।

 

सबै धर्म जातजातीको दबाबमा सरकारी बिदा दिने निर्णय गर्ने सरकारले फेरि पनि नेपाल एकिकरण गर्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा बिदा दिन कन्जुस्याइ गर्नु सरकारको ठूलो भूल देखिन्छ । राष्ट्रियता र राष्ट्रवादको पाठ पढाउने कम्युनिष्ट सरकारले नेपाल राष्ट्रलाई एकता गर्ने ब्यक्तिको महत्व नबुझ्ने सरकारले जनताको धर्म परम्परा रितिरिवाज कसरी बुझ्न सक्ला र ।

 

सरकारले  ठूलाठूला योजना र कार्यक्रमहरुको बारेमा चढाइबढाइ गरेर बोल्नुभन्दा साना तर जनताका मन छुने सानै कुराको कार्यान्वयन गरे पनि सरकारले धेरै जस पाउने थियो । पहिला व्यापारीहरुले टाउकोमा टेकेको सरकारलाई अहिले आएर निजामती कर्मचारीले समेत टाउकोमा टेकेको देखिन्छ । यसको ज्वलन्त उदाहरण कर्मचारी खटाएको ठाउँमा नजानु र भ्रष्टाचार झनै बढेर जानु हो । तर सरकाले अनुशासनहीन कर्मचारीलाई समेत कारबाही गर्ने हिम्मत गर्दैन् । दुइतिहाइको बहुमतको सरकार आज निरिहजस्तो भएको छ । 

 

कैलालीको टीकापुर हत्याकाण्डमा हत्या योजनाकारका आरोपित रेशम चौधरीलाई सदनमा सपथ खुवाएर सरकारले प्रहरीलगायत सुरक्षा निकायको बिश्वास गुमाउँदै गएको छ । सरकारमा बसेका बरिष्ठ सल्लाहकार एबं पूर्वप्रधानमन्त्रीहरुले सकेसम्म प्रधानमन्त्री केपी ओलीलाई सल्लाहको नाममा बद्नाम गराउंदै अलोकप्रिय बनाउन सक्ने कुरा प्रधानमन्त्रीले समयमा बुझे राम्रो होला । नत्र जनताबाट टाढा पुग्न एउटा दुइटा घटनाले पर्याप्त हुन्छ भन्नेकुरा पूर्बराजा ज्ञानेन्द्रका केही गल्तीका कारण आज राजसंस्था नेपालबाट समाप्त भएको कुराको ख्याल गर्न सके हालको सरकारलाई फाइदै होला ।

 

शिक्षा र स्वास्थ्य बिधेयक पनि डा. गोबिन्द केसीका जनप्रिय केही मागसमेतलाई उपेक्षा गरेर पास गराइएकोले यसले जनतामा सरकारको छवि अवश्य धुमिलिनेछ । अब पनि डा. गोबिन्द केसीका मागलाई सरकारले समर्थन नगरे बिरोधी दलले समेत सडक र सदनमा राम्रो मसला पाउनेछ ।  त्यसैले सरकारले अझै पनि जनताका लागि बनेको सरकारले जनताकै लागि राखिएका गोबिन्द केसीका माग पूरा गर्दा दुबै पक्षको अवश्य हित हुनेछ । यस बिधेयकलाई सबैको हितहुने गरी पासगरी डा. गोबिन्द केसीका मागलाई सम्बोधन गर्नु नै सरकार र जनताको हितमा हुनेछ । 

–     [email protected]  
    चाबहिल सरस्वतीनगर काठमाडाैं ।