समाचार

एकीकरणको मुहानमा पृथ्वीनारायणको खोजी

– जमुना गजुरेल 

एकीकरणको मुहानमा पृथ्वीनारायणको खोजी

आए फिरङ्गी जब देश खान 
साम्राज्य जोड्ने दिनकै बिहान 
हराई उसको, बल देश रक्षा 
गर्ने महा मानवकै उपेक्षा 
जसले जगाए, सब वीरलाई 
त्यही वीरले देश सधैँ बचाए 
तिनै सिमानाबीच भूमि वास 
बसेर गर्छौँ अब सत्प्रयास 
बसेर उनकै प्रतिमा विनाश 
लागेन निद्रा, न त भोक प्यास 
थिएन होला मनमा विलास 
त्यागेर सारा दरबार भोग 
जागेर यो जीवन राष्ट्र योग 
उठाई जसको अब भव्य रुप 
तस्वीर राखी गरी धुप दीप 
सजाई अग्लो थलमा उज्यालो 
जीवन्तको शालिक हेर्ने पालो 
दिऊन् सदा दिव्य महान वाणी 
धारा प्रजा नीति मिलोस् त्रिवेणी 
सुस्ताइराछन् स्थिर भो जमाना 
अस्थिर पो भो यो सिमाना 
नेपाल, नेपाल बनाइदिऊन् 
हिमाल हाँसोस् दिनरात झन्झन् 
पहाड नाचून् र सधैँ तराई 
गाएर बाँचून्, अरु बाँच्न पाई।(शिवप्रसाद आचार्य, शिखरबेंसी, नुवाकोट)


शुक्रबार पुस २७ गते पृथ्वीजयन्ती । नुवाकोट, दुप्चेश्वर गाउँपालिका–७ शिखरबेंसीका शिवप्रसाद आचार्यको द्वन्द्वका समयमा देवीघाटमा रहेको पृथ्वीनारायण शाहजस्ता राष्ट्रनिर्माताको शालिक आफ्नैसामु ढालिँदा हृदय छियाछिया भयो । उनजस्तै नेपाल एकीकरणको मुहान(विसं १८०१) नुवाकोटका नागरिकले आधुनिक नेपालका जन्मदाता एवं राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायणलाई सधैँ श्रद्धा र सम्मान दिने गर्छन् । 

पृथ्वीनारायणको जन्मजयन्तीका अवसरमा सरकारीस्तरबाट कुनै कार्यक्रम यस पटक नभए पनि विभिन्न राजनीतिक दल तथा राजावादी सङ्घसंस्थाले राष्ट्रिय एकता दिवसका रुपमा यस दिनलाई मनाउँदैछन् । देहत्याग भएको स्थान देवीघाटमा पृथ्वी स्मारक संरक्षण समिति र नुवाकोट साततले दरबारमा पृथ्वीजयन्ती दिवस समारोह समितिले पृथ्वीनारायण शाहको सम्झना गर्दै विशेष कार्यक्रम गर्दैछन् । 

नुवाकोट नेपालको दोस्रो राजधानी, पृथ्वीनारायणद्वारा ‘दिव्योपदेश’ दिइएको थलो र उनले देहत्याग गरेको भूमि भएका कारण पनि उनको सही मूल्याङ्कन अन्यत्रभन्दा यहाँ बढी हुने गरेको नुवाकोटवासी बताउँछन् । त्यसबाहेक नेपाल एकीकरणसँगै यहाँ भित्रिएका मुसलमान र हिन्दू धर्मावलम्बी ठकुरी, मगर, नेवार, दलित तथा बाह्मण समुदायको जातीय विविधताको उदाहरणका रुपमा रहेको नुवाकोटले पृथ्वीनारायणकै कारण फैलिएको नेपाल चार जात छत्तीस वर्णको सुन्दर फूलबारी हो भन्ने चित्र पस्किएको छ । एकीकरण कालदेखि शुरु भएको यहाँको सांस्कृतिक पर्व, मेला र जात्रासँगै रहनसहन र ऐतिहासिक धरोहरलाई चिनाउने धार्मिक मठमन्दिर, गुम्बा, नौकोट र नुवाकोटका साततले दरबारलगायत अनेकौँ साक्षी प्रमाणले उनको पौरख र अस्तित्वलाई सम्झाउँछन् । 

‘नेपाल दुई ढुंगाबीचको तरुल हो’, ‘घूस लिने र दिने देशका महाशत्रु हुन्’ भन्ने आशयका पृथ्वीनारायणका कैयौंँ उद्गार दिव्योपदेशका नामले आज पनि सान्दर्भिक मानिन्छन् । बाइसे तथा चौबीसेसहितका राज्यलाई एकीकरण गरेर विशाल राज्य खडा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पृथ्वीनारायणको योगदानको कदर गर्दै विगतमा पृथ्वीजयन्तीलाई पर्वकै रुपमा मनाउँदै आएका विदुर नगरपालिकाका रामकृष्ण भट्ट भन्छन्, “यो वर्ष पनि सरकारले सार्वजनिक बिदा दिएन तर क्रिसमसमा बिदा दिने तर आफ्नै इतिहासलाई भुल्ने काम राम्रो भएन । सङ्घीयताको नाममा सरकारले मुलुकमा महत्वपूर्ण योगदान दिने व्यक्तिलाई बिर्सनु हुँदैन ।” 

दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले उनको दूरदर्शिताको कदरका लागि भए पनि दिवस मनाउनुपर्ने इतिहासविद्को भनाइ छ । एकथरिले उनी मुलुक एकीकरण गरेर राष्ट्रनिर्माता बन्न सफल भएको भन्छन् भने अर्काथरिले उनलाई पहिचान विरोधीका रुपमा अथ्र्याएका छन् । “उहाँलाई राष्ट्रनिर्माता वा तानाशाह जसरी अथ्र्याए पनि उनले दिएको दिव्योपदेश भने आजपर्यन्त सान्दर्भिक मानिन्छ”, राप्रपा नुवाकोटका नेता विष्णुप्रसाद सापकोटाले भने । राष्ट्रनिर्माता पृथ्वीनारायणको योगदान बिर्सिनेलाई इतिहासले माफी नदिने चेतावनी सापकोटाले दिए। 

दिव्योपदेशलाई कार्यान्वयनमा ल्याए मात्र उनप्रति सच्चा श्रद्धाञ्जलि हुने लिखु गाउँपालिका ढिकुरे नुवाकोटका इतिहास जानकार यादवप्रसाद पाण्डे बताउँछन् । “यो दिवस नेपाल प्रज्ञा–प्रतिष्ठान वा एकदुई सङ्घसंस्था र व्यक्तिले मात्र मनाएर हुँदैन, देशव्यापीरुपमा मनाउनुपर्छ” उनले भने । दिव्योपदेश नयाँ ढङ्गबाट अध्ययन गर्नुपर्नेमा उनको जोड छ । 

सोभियत सङ्घका एक इतिहासकारले ‘इतिहासले कसैलाई कुनै पाठ सिकाउँदैन तर जसले इतिहासबाट कुनै पाठ सिक्दैन उसलाई इतिहासले सधैंँ दण्ड मात्र दिइरहन्छ’ भनेझैंँ नेपालमा पनि सो भनाइ लागू हुने नुवाकोटका अर्का बुद्धिजीवी श्रीराम श्रेष्ठको भनाइ छ । “राष्ट्रप्रति वफादार कुनै पनि नेपाली नागरिकले राष्ट्रिय एकताका प्रतीक र राष्ट्रका निर्माता पृथ्वीनारायणलाई आदर गर्दै आइरहेका छन्”, श्रेष्ठले भने । 

“दिव्योपदेशमा जे जे कुरा नगर्नु भनिएको थियो त्यो त्यो कुरा अहिले राजनीति र कूटनीतिका नाममा भइरहेका छन् । यो नै राष्ट्रिय दुर्भाग्य हो ”, भट्टको ठहर छ । राजनीतिक दलहरूको विचारभन्दा निकै बहुपयोगी दिव्योपदेश देखिएको र सत्य र आवश्यकताको गुदी कुरा यसमा रहेकाले यतिखेर प्रगतिशील, प्रजातन्त्रवादी, जनवादी, सङ्घीयतावादी, विखण्डनवादी नेताहरूले पृथ्वीनारायणलाई राजनीतिक स्वार्थमा मुछ्न खोजेको सापकोटाको आरोप छ । विदुर, नुवाकोटका रामशरण अधिकारीको आफ्नै बुझाइ छ, “प्रत्येक नेपाली नेपालको पहरेदार र सिपाही हो । नेपालमाथि धावा बोल्ने जोकोहीलाई मारेर मात्र ऊ आफू मर्छ । आइलाग्नेमाथि जाइलाग्ने नेपाली वीरताको संस्कार र संस्कृति हो ।” 

नेपाली भूभाग हिमाल, पहाड, तराईमा बस्ने १२५ जातजाति र १२३ भाषाभाषी नेपाली हुन् । उनीहरूबीचको एकता नै पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको सार्थकता भएको अधिकारीले बताए । उनले भने, “नौ धर्म सम्प्रदाय भएका दुई करोड ६५ लाख नेपालीको साझा फूलबारी नेपालमा भावनात्मक एकीकरणको खाँचो छ । यो पूरा भएपछि नेपाल सुन्दर, शान्त, विशाल, शक्तिशाली र समृद्धशाली हुनेछ । ” 

पृथ्वी नारायण शाह