विचार

राष्ट्र निर्मातालाई नभुलौँ

- हरि तिम्सिना

राष्ट्र निर्मातालाई नभुलौँ

पृथ्वीनारायण शाह (वि.सं. १७७९-१८३१) एक शाहवंशीय राजा थिए । नेपाल एकीकरणका महाननायक पृथ्वीनारायण शाह राजा मात्र थियनन्, उनलाई राजा मात्र भनी बोलाउँदा उनको परिचय प्रयाप्त हुँदैन । उनलाई बृहत रूपमा प्रस्तुत गरिनुपर्छ, उनको महान गाथा एवं साहसिक कार्यलाई गर्वका साथ संसारभर फैलाउनु पर्छ । नेपाल एकीकरणका महान अभियान्त पृथ्वीनारायण शाहलाई नेपालीले श्रद्धाका साथ पुज्नु पर्छ । पृथ्वीनारायण शाहको कारण नै आज हामी आफूलाई नेपाली भन्न र नेपालमा बस्न पाएका हौँ ।

स-साना राज्यहरूमा बाँडिएका बाइसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। उनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। राष्ट्र निर्माताको दूरदर्शिता, राष्ट्रियता, विभिन्न जातजाति प्रतिको सम्मान, धर्मप्रतिको सम्मान, देशको भौगोलिक विविधताको रक्षा, छिमेकी राष्ट्रहरूप्रतिको कुटनीतिकता, आर्थिक  र सामाजिक विषयहरूको ज्ञान हेर्दा उनलाई एक कुसल राजनेता भन्दा फरक नपर्ला ।

उनलाई केही अपव्याख्याकारहरूले अनेकौं लाञ्छना लगाइ गाली गलोज गरेता पनि नेपाल देशलाई स्वावलम्बी तथा स्वाभिमानी बनाउने उनी मात्र थिए । जसरी जर्मनीको एकीकरणमा बिस्मार्क, इटालीको एकीकरणमा कावुर, मेजिनी र गौरीवाल्डी र अमेरिकाको स्वतन्त्रता र एकीकरणमा जर्ज वासिङ्टन र अब्राहम लिङ्कन एवं भारतको एकीकरण र स्वतन्त्रतामा सम्राट अशोक, महात्मा गान्धी र चीनमा छिन ह्वाङ्ती र सनयातसेनको एकीकरण र स्वतन्त्रतामा योगदान छ, त्यस्तै नेपालको एकीकरणमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान छ । नेपालले कहिले स्वतन्त्रता दिवस मनाएन यसको प्रमुख कारण पनि पृथ्वीनारायण शाह नै थिए।

भारत उतीबेला इस्ट ईन्डिया कम्पनीको उपनिवेशमा थियो । अङ्ग्रेजहरू साम्राज्यवादी नीति बोकेर भारत छिरेका थिए र पछि भारतमा राज गरे। भारतमा साम्राज्य बनाई सकेका अङ्ग्रेजहरूको नजर नेपालमाथि पनि थियो । उनीहरूको नीतिबारे पृथ्वीनारायण शाहलाई अवगत थियो, अङ्ग्रेजहरू विभिन्न वहानामा नेपाल पस्न चाहन्थे । नुवाकोट, नगरकोट, दहचोक र कीर्तिपुरपछि पृथ्वीनारायण शाह काठमाडौं(कान्तिपुर)लाई पनि एकीकरण गर्ने योजनामा थिय । त्यतिबेला काठमाडौंमा अन्तिम मल्ल राजा जयप्रकाश मल्लले राज गर्थे । अङ्ग्रेजहरूलाई जयप्रकाश मल्लले सहयोगका लागि गुहारेका थिए, जयप्रकाशलाई सहयोग गर्ने र नेपाल भित्रिने यो अवसर अङ्ग्रेजहरूले पाएका थिए ।

पृथ्वीनारायण शाहले उनीहरूको योजनालाई विसं १८२४ आश्विन १५ मा बिफल बनाइदिइका थिए । सिन्धुलीगढीलाई चारैतिरबाट घेरा हाली आक्रमण गरेर काठमाडौंका राजा जयप्रकाश मल्लको सहयोगार्थ आएका अङ्ग्रेजी फौजलाई परास्त गरेर भगाएका थिए। यसको ठीक एक वर्षपछि विसं १८२५ आश्विन १५ गतेका दिन कान्तिपुर (काठमाडौं)माथि गोर्खाली फौजले सजिलैसित विजय हासिल गर्‍यो । यसको केही समयपछि ललितपुर र भक्तपुर पनि नेपालमा गाभियो।

विसं १८३० साउनमा चौदण्डी माझकिरात र पल्लो किरात प्रदेशलाई पनि एकीकरण गरियो । पूर्वी तराईका सप्तरी, सिरहा, महोत्तरी र मोरङ प्रदेशहरू चौदण्डी राज्यअन्तर्गत थियो । चौदण्डीका अन्तिम राजा कर्णसेनलाई हराई त्यसअन्तर्गतका समस्त तराई क्षेत्र नेपाल अधिराज्यमा गाभियो । यसरी पृथ्वीनारायण शाहबाट बडो बुद्धिमत्ता र रणकौशलताबाट नेपाल राष्ट्रनिर्माण भयो । उनले पहाडी प्रदेशको राजामा मात्र सीमित नभई, तराई प्रदेशका समेत राजा भई एउटा साझा नेपालका साझा राजाका रूपमा आफूलाई स्थापित गरे । त्यसैले यो सबै जातको साझा फूलबारी हो भनेर सबै जातका साझा राजाका रूपमा परिचय दिने काम पृथ्वीनारायण शाहबाट भयो ।

विजीत राज्यका जनतामाथि आफ्नो भाषा र संस्कृति लाद्ने काम गरेन् । स्थानीय जनताको भाषा, संस्कृति, परम्परा, रीतिरिवाजलाई मान्यता दिई, त्यसलाई राष्ट्रियस्वरूप प्रदान गरे, जस्तो कि काठमाडौं उपत्यकालाई विजय गरेपछि नेवारी भाषा, संस्कृति, कला, नाचगानलाई प्रोत्साहन दिएर उदारता देखाए ।

उनको दिव्य उपदेशमा ‘‘आफ्ना सोखसयललाई त... बमोजिमको तीनै सहर नेपालका नेवारहरूका नाच झिकाई हेरे पनि हुन्छ । यिनमा त दिएको पनि आफ्नै देशमा रहन्छ । यसाने भए आफ्नो देश सुरक्षित रहन्छ । ” यसरी स्थानीय संस्कृतिलाई बढावा दिई राष्ट्रियताको सन्देश प्रवाहित गरे ।

पृथ्वीनारायण शाहले नेपालीका लागि सिङ्गो र अखण्ड नेपाल मात्र छाडेर गएनन् उनले आफ्नो जीवन भोगाइमा पाएका दिब्य ज्ञान पनि छाडेर गए । जसलाई आजको दिनमा दिव्य उपदेश भनेर चिनिन्छ। उनका दिव्य उपदेशहरू दुरदर्शि छन् । उनको दिव्य उपदेशले कसैलाई विभेद गरेको छैन, देश चलाउने शासक, जनता, कर्मचारी सबै वर्ग, जाताजातिलाई समेटिएको छ ।

उनले आफ्नो दिव्योपदेशमा, ‘देशका महाजनलाई गोड प्रसाहदेखि उँभो आउन नदिनु, देशका महाजन हाम्रा मुलुकमा लाया भन्या दुनिजा कंगाल गरी छाड्दछन्’ अर्थात् देश (हिन्दुस्तान) का महाजन, व्यापारीहरूलाई सिमानादेखि माथि आउन नदिनु, यदी हाम्रा मुलुकमा आयो भने कंगाल गरिछाड्दछन् । विदेशी महाजन आयो भने स्वदेशी उद्योग तथा व्यापारमात्र होइन, देशको अर्थतन्त्रलाई सखाप पार्नेछ भनी दिव्योपदेशको भावार्थ रहेको छ ।

राष्ट्र निर्मातालाई बद्नाम गरि विदेशीका इशारामा नेपाललाई विखण्डनतर्फ लैजान चाहनेहरूले उनलाई संकुचित विचारले व्याख्या गर्ने गरेका छन्, कसैकसैले उनलाई विस्तारवादीको संज्ञा पनि दिन्छन् तर उनको यस्तो नीति भएको भए यस मुलुकको नाम नेपाल नराखेर गोरखा नै हुन्थ्यो होला । त्यतिमात्र नभई, राष्ट्रिय एकीकरणपछि उनले ‘मेरा साना दुःखले आर्ज्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया” भनी राष्ट्रियताको बीजारोपणसमेत गरेका थिए । राष्ट्र निर्माताले नेपाल राष्ट्रलाई सबै जातजातिको साझा फूलबारीको संज्ञा दिई लोकतन्त्र र समानताको उद्घोष पनि गरे‍ ।

पृथ्वीनारायण शाह