देश

१६ लाखको ठेक्का महिना दिन टिकेन, साइकल गुडाउँदा नै उप्कियो कालोपत्रे सडक

१६ लाखको ठेक्का महिना दिन टिकेन, साइकल गुडाउँदा नै उप्कियो कालोपत्रे सडक

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाकै पहिलो कालोपत्रे सडकमा खबरदारी गर्दा गर्दै मापदण्डविपरीत काम भएको स्थानीयले आरोप लगाएका छन् । लालझाँडी गाउँपालिका–२ कन्जमा गाउँपालिकामै पहिलोपटक कालोपत्रे गरिएको सडक एक महिना नपुग्दै फुट्न थालेपछि स्थानीयले निर्माण व्यवसायीले मापदण्डविपरीत काम गरेको आरोप लगाएका हुन् ।

 

लालझाँडी गाउँपालिका नै पक्की सडकविहीन रहेको अवस्थामा १६ लाखमा ठेक्का सम्झौता गरी कालोपत्रे गरिएको वडा नम्बर २ को कन्जको ३ सय २६ मिटर सडकमा निर्माण व्यवसायीले कमसल काम गरेको आरोप स्थानीयले लगाएका हुन् । करिब एक महिना पहिले मात्र कालोपत्रे गरिएको सडक भत्किन थालेको हो भने कालोपत्रे पनि बजेट जोगाउनका लागि निकै पातलो गरिएको छ ।

 

स्थानीय मदन रानाले सडक कालोपत्रे गर्ने बेलादेखि नै मापदण्डविपरीत काम भएको भन्दै खबरदारी गर्दा गर्दै पनि निर्माण व्यवसायीले कमसल काम गरेको बताए । गाउँपालिकामै पहिलोपटक कालोपत्रे गरिएको सडक नमुना हुनुपर्ने बेला महिना दिनमै भत्किने बनेपछि समाजका अगुवा, लालझाँडी गाउँपालिकाका अध्यक्षलगायतका जनप्रतिनिधि र ठेकेदारको मिलोमतोमा आर्थिक चलखेल भएको स्थानीय दिनेशकुमार रानाले बताए ।

 

विभिन्न स्थानीय तहमा जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीको मिलमतोमा आर्थिक अनियमितता गर्दै मापदण्डविपरीत विकास निर्माणका काम भइरहेको जनगुनासो बढिरहेका बेला लालझाँडी गाउँपालिकामा पनि आर्थिक अनियमितता गर्नका लागि गुणस्तरहिन काम गरेको पाइएको हो । यो खबर आजको नेपाल समाचार पत्रबाट लिइएको हो ।

कालोपत्रे