कभर स्टोरी भिडियो

मैले बाबुरामलाई सोधेँ, ‘घोकेर बोर्डफर्स्ट भएको कि बुझेर ?’ (भिडियोसहित)

घरमा गाई दुहेका विद्यार्थी स्कुलमा अर्कै ‘काउ’ पढ्छन्

मैले बाबुरामलाई सोधेँ, ‘घोकेर बोर्डफर्स्ट भएको कि बुझेर ?’ (भिडियोसहित)

काठमाडौं । कृषि वैज्ञानिक मदन राईले खोटाङमा स्थापना गरेको वैकल्पिक शिक्षा नाम गरेको विद्यालयको प्रशंसा अहिले धेरैले गर्छन् ।  भन्नु र गर्नुमा धेरै फरक छ । हामीले वर्षौंदेखि भन्नेमात्र र काम नगर्ने धेरै नेता देख्दै भोग्दै आयौं । तर, मदन राईने आफ्नो हकमा भने यसलाई गलत साबित गरिदिए । आफूलाई तत्व ज्ञानको मामिलामा अरू भन्दा एक कदम अघि ठान्ने राईले वैकल्पिक शिक्षामार्फत विद्यार्थीलाई किताबी ज्ञानको साटो व्यवहारिक ज्ञानमा बढि खटाएका छन् । फरक शैलीमा पढाई हुने उक्त विद्यालयका विद्यार्थीले १० कक्षासम्म अध्ययन गरेर बाहिरिदाँ बाँच्नका लागि गर्नुपर्ने र चाहिने सबै सीप सिकेर फर्किन्छन् । 

 

विद्यालयबाट बिदा हुने समयसम्म ती विद्यार्थीले घर बनाउन, खाना बनाउन, उब्जनी गर्न, कपडा बुन्न, सिलाउन जस्ता जीवनका आधारभूत शिक्षा सबै सिकिसक्छन् । राईले बेलायत, अमेरिका, जर्मनीलगायत धेरै देशहरूमा अध्ययन गर्ने मौका पाए । सबैतिर पढ्दा उनको अनुभवले अन्तरमनमा एउटै कुरा भन्यो, ‘किताब घोक्ने शिक्षा त पढाईको पाँच अंशमध्ये एक अंश मात्र रहेछ । बाँकी चार अंश त गराइमा रहेछ ।’ करिब ८० प्रतिशत शिक्षा गराइमा रहेको भन्ने कुराको निष्कर्षमा पुुगे उनी । उनी आफैंले २५ वर्ष किताब पढे । तीन किलो सर्टिफिकेट थुपारे । ती किताबको एक लाइन पनि याद छैन उनलाई । तर गाउँमा सिकेको हलो जोत्ने र भारी बोक्ने काम एउटा पनि नबिर्सेको उनी बताउँछन् ।
 

 

नेपालको अर्थतन्त्रमा विकास नुहनुको मुख्य कारण नै यहाँको शिक्षण प्रणालीमा भएका समस्या उनले औँल्याए । ‘किताब पढेपछि ठूलो मान्छे भइन्छ । शारीरिक काम गर्नु पर्दैन, बसीबसी कमाई गर्न सकिन्छ भनेर सिकाइनुले नै अर्थतन्त्र धरापमा परेको हो । यहाँ किताब पढ्ने कत्ति धेरै छन् । विदेशमा ज्याला मजदुर गर्न जाने सबै ग्राजुवेट छन् । कम्तीमा पनि एसएलसीसम्म त पढेकै हुन्छन् । १० वर्षसम्म त धेरै जान्नुपर्ने हो । त्यसैले सुन्ने शिक्षा काम लाग्दैन अब गर्ने शिक्षामा ध्यान दिनुपर्‍यो’, उनले भने ।  

 

राईका अनुुसार एउटा किताबमा सजीव र निर्जीव, मोटर र हवाइजहाजको बारेमा पढाइन्छ । मोटर पढाउँदा किताबमा हेरेर होेइन मोटरमा गएर पढाउनपर्‍यो । किताबमा धान पढेर धान फलाउन जानिदैन । नेपालमा राणाकालदेखि शिक्षण प्रणाली बिग्रदै गएको उनले बताए । उनले भने, ‘२००८ सालपछि  संस्कृत घोकेका गुरू ल्याएर पढाउन लगाइयो । संस्कृत रटेका गुरूले घोक्ने शिक्षा सिकाए । यो शिक्षा बाँच्नको लागि काम लाग्दैन । धन कमाउन त झनै लाग्दैन ।’ 

 

नेपाली पाठ्यक्रममा सामान्य हिसाबमा नगएर नबुुझिने र निकै अप्ठ्यारा शब्दवालीको प्रयोग भएकोमा उनको आपत्ति छ । जसकारण सामान्य कुरा पनि मोडिएर अनावश्यक रूपमा बंगाइएकोमा उनले गुनासो पोखे । 
 

 

खोटाङमा वैकल्पिक शिक्षाको सुरुवात गर्नुअघि उनले पूूर्वप्रधानमन्त्री बमाबुराम भट्टराई लगायत चौध जना बोर्ड फर्स्टलाई आफ्नो कोठमा बोलाएर सोधे, ‘तपाईंहरू घोकेर बोर्डफर्स्ट भएको कि बुझेर ?’ जवाफमा एउटै उत्तर आयो, ‘घोकेर’ । त्यहीँबाट उनी निष्कर्षमा पुगे, नेपालको अर्थतन्त्रको विकास गर्ने हो भने काममुखी र उत्पादन दिने शिक्षा र जीवन सहज तरिकाले बाँच्न सिकाउने शिक्षा चाहिन्छ । यही सिद्धान्तले नै उनले उक्त विद्यालयको स्थापना गरेका हुन् । अहिले विद्यालयले गरेको अभ्यास सफल भएकोमा उनी सन्तुष्ट छन् । 
 

 

उक्त विद्यालयमा पढाइने पाठ्यक्रम अन्य विद्यालय भन्दा धेरै भिन्न छन् । त्यहाँ पढाइने पाठ्यक्रम राईले बजारको अध्ययन अनुसन्धान र मागलाई नियालेर आफैं बनाएका हुन् । १२ वटा विद्या पढाइन्छन् त्यहाँ । पहिलो हो बोली विद्या । नेपालीले अंग्रेजी, नेपाली, हिन्दी र चिनियाँ भाषा अनिवार्य रूपमा जान्नुपर्ने उनले बताए । अंग्रेजी र नेपाली पूरा बोल्ने र लेख्न सक्ने हुनपर्ने भए पनि अन्य दुई चाहीँं बोल्न जानेमात्र पुग्ने उनले बताए । 
 

 

बोली पछि विज्ञान र हिसाब महत्वपूर्ण रहेछ भन्ने बुझे । उनले भने, ‘फिजिक्स त केवल घामकोे र तत्वको अध्ययन रहेछ । केमेस्ट्री त तत्वको गुणको अध्ययन रहेछ । केमेस्ट्री पढाउन ल्याबमा गएर कण्ठ बनाउन आवश्यक नै रहेनछ । १२८ तत्वको गुणको बारे बुझाइदिने नै रहेछ । जमिनमा र पानीको अघि लगेर पढाए बुझिने रहेछ । बोटानी झन् सजिलो । यो भनेको मात्र विरूवाको अध्ययन । पृथ्वीमा जम्मा पाँच प्रकारको विरूवा हुने रहेछ । यही पाँच प्रकारको विरुवाको अध्ययन नै बोटानी रहेछ । जुलोजी भनेको प्राणीको अध्ययन त रहेछ । गाउँका केटाकेटी बिहान गाई दुहेर भकारो सोहोरेर विद्यालय जान्छन्, विद्यालय पुगेर अर्कै काऊ पढ्छन् ।’ 
 

 

अहिले नेपालको शिक्षामा पाठ्यक्रम एकदमै नबुझिनेगरि राखिएको भन्दै उनले भने, ‘हामीले सोझो र व्यवहारिक तरिकाले सिकाउँदै सिकाएनौं । सब विद्यार्थीलाई एकै साइजको जुत्ता लगाउ भनेजस्तो भयो । सोलुखुम्बुमा सालको रुखबारे पढाइएको छ । त्यहाँ त धूूपी हुन्छ साल हुँदैन ।’
 

 

तेस्रो विद्या अन्तर्गत खाद्य, चौथो लुगा र पाँचौ विद्या घरको विद्या पढाइन्छ । लुगामा कपास उब्जाउने, कपडा बुन्ने, सिलाउनेलगायत सबै सिक्छन् त्यहाँका विद्यार्थीले । १२ वर्षसम्मका विद्यार्थीले आरसिसी घर, स्याउलाको घर, टिनको छाप्रो र आरसिसीको पाँच सात तल्ले घर बनाउन पनि सिकिसक्छन् । छैटौं विद्या टेक्नोलोजी रहेको छ भने सातौंमा स्वास्थ्य । आठौं शिक्षा यौन शिक्षा रहेको छ । नवौंमा विद्यामा विद्यार्थीले खेलकुद र संगीत सिक्छन् । यसमा मानविक, व्यवस्थापन,पलिटिकल साइन्सबारे पनि पढाइन्छ । दशौं विद्या सिर्जना रहेको छ ।  एघारौं विद्या अन्तर्गत ‘आत्महत्या शिक्षा’मा जीवन बाँच्ने कलाबारे सिकाइन्छ । उनले भने, ‘धन भनेको बाँच्नको लागि हो, साँच्नको लागि होइन । यहाँ त साँच्ने कुरा गर्छन् र फ्रस्ट्रेट भएर आत्महत्या गर्छन् ।’ 
 

 

उक्त विद्यालयमा विद्यार्थीले १२ वर्षमा पाउने शिक्षा पाँचौ वर्षमा दिइने राईले बताए ।  बचेको ४ देखि ६ वर्ष त अभ्यासमा जाने उनको भनाइ छ । कति अभिभावकले विद्यालयबारे राम्ररी बुझेका छैनन् । ‘यहाँ त भारी बोकाउँदा रहेछन्, सुंगुर पाल्न लगाउदो रहेछ । यो त हाम्रो जातले दिँदैन भन्नेहरू पनि छन् । बाबुआमाहरूलाई विस्तारै सम्झाउँदै छौं ।’ हाल उक्त विद्यालयमा ३४ जिल्लाका ३६ जातका १५० विद्यार्थी रहेको राईले बताए । अबको तीन वर्षमा सबै नेपालको विद्यार्थी ल्याइसक्ने, पाँच वर्षमा एसियाका सबै र दश वर्षमा विश्वभरका विद्यार्थी ल्याउने उनको योजना छ । 
 

 

त्यसको लागि उनले सरकारसँग पनि सहयोगको माग गरेका छन् । केही आर्थिक सहयोग पाए अझै राम्रो गर्ने र  सरकारी मापदण्ड अनुसार काम गर्न सकिएन भने पैसा फिर्ता दिने उनले बताए । नेपालको शिक्षाको विकासको लागि सरकारले सरकारी शिक्षा परिवर्तन गर्नैपर्ने उनले प्रण गरे ।  
 

 

उनले २० वर्ष अघि पढाएका विद्यार्थीले अहिले एमए पास गरिसके । ‘उनीहरुले यता सरकारी आवश्यक्ताअनुसार एसएसली प्लस, टु, बीए ,एम ए पास गरिसके । त्यही विद्यार्थीले सिटिइभिटीबाट पनि दोहोरो सर्टिफिकेट  लिएका छन् । सरकारले चाहने शिक्षा र सीप पनि छ । तीन खण्डको शिक्षा छ । हाम्रो विद्यार्थी कसैको स्कुल कलेजमा भर्नामात्र गराउँछौं । पैसा तिर्छौं । तर स्कुल कलेज पठाउँदैनौ । हामी आफैं सिकाउँछौं । स्कुल कलेजको जाँच दिनमात्र जान्छन् उनीहरू । यति गर्दा पनि निरन्तर पास भएका छन् । बरू अन्य रेगुलर कलेज जानेहरू पास हुँदैनन्’, उनले भने ।  

कृषि वैज्ञानिक मदन राई