राजनीति

संसदप्रति उत्तरदायी बन्न सरकारलाई सभामुख महराको रुलिङ

संसदप्रति उत्तरदायी बन्न सरकारलाई सभामुख महराको रुलिङ

काठमाडौं । सरकारको तर्फबाट संघीय संसद्मा सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिएपछि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन संघीय संसद्ले सरकारलाई रुलिङ गरेको छ । संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको बुधबार बसेको छुट्टाछुट्टै बैठकले यस्तो रुलिङ गरेको हो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको वक्तव्य दिएर प्रश्नोत्तरमा सहभागी नभएपछि प्रमुख प्रतिपक्ष कांग्रेसले विरोध गरेको थियो । प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न नपाएको विषयलाई लिएर दुवै सदनको सुरुमा प्रमुख प्रतिपक्ष कांग्रेसका सांसदले उभिएर विरोध जनाए । सांसदहरूको विरोधपछि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसद्मा सार्वजनिक महत्त्वको वक्तव्य दिएको दिन सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।

 

प्रधानमन्त्री ओलीले संसद्मा सार्वजनिक महत्त्वको वक्तव्य दिएपछि प्रमुख विपक्षी कांग्रेसका सांसदहरूले प्रश्न गर्न चाहेका थिए । तर, प्रश्न गर्न नदिएको भन्दै सांसदहरूले रोस्टममा नाराबाजी गरेका थिए । बुधबारको संसद् बैठक सुरुमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने बताए । संसद् नियमावलीको २१९ अनुसार सार्वजनिक महत्त्वको वक्तव्य दिएपछि प्रधानमन्त्री र मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने उनले बताए । खाँडले भने, ‘प्रधानमन्त्री र मन्त्रीजीहरू किन जवाफ दिन चाहनुहुन्न ?’

 

सांसदहरूको प्रश्न गर्न पाउने अधिकारको संरक्षणको जिम्मेवारी सभामुखको पनि भएको भन्दै उनले आइतबारको घटनामा सभामुखको पनि ध्यानाकर्षण गराए । लगतै सभामुख महराले २१९ अनुसार सार्वजनिक महत्त्वको वक्तव्य दिँदा सांसदहरूको प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।

सरकार कृष्णबहादुर महरा रुलिङ