राजनीति

दाहाल र मोदीबीच भेटवार्ता, अापसी हितका बारे छलफल

आइतबार, २४ भदौ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

दाहाल र मोदीबीच भेटवार्ता, अापसी हितका बारे छलफल

काठमाडौं । भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल  र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिवार भेटवार्ता भएको छ।

 

नयाँ दिल्ली स्थित प्रधानमन्त्रीको कार्यालयमा भएको भेटमा पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीको भ्रमण, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणका सम्भावनाबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

 

नेपालमा जलविद्युत्को विकास, हुलाकी मार्ग, रेलवे निर्माण, जलमार्ग, कृषिमा आधारित उद्योग र पर्यटन क्षेत्रको विकासको विषयमा समेत उनीहरुबीच छलफल भएको थियो। 

 

धार्मिक पर्यटनका लागि नेपाल र भारतमा भएका शक्तिपीठको एक बृहत्तर ‘सर्किट’ बनाउने र सगरमाथाको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्ने बारेमा पनि छलफल भएको थियो। भेटवार्तामा नेपाल–भारत सीमामा बेलाबखतमा देखिने समस्याको समाधान र सीमा क्षेत्रका भन्सारको स्तरोन्नतिको विषयमा पनि विचार विमर्श भएको थियो। 

 

दुई देशको आपसी हितलाई कसरी थप सुदृढ गर्ने भन्ने विषयमा छलफल गर्दै भारतीय प्रधानमन्त्री माेदी र दाहालबीच पछिल्लो चरणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा भएका सकारात्मक समझदारी र सहमतिलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने बारेमा गम्भीर छलफल भएको सचिवालयले जनाएको छ।

 

अध्यक्ष दाहालले प्रधानमन्त्रीका रुपमा भारतको भ्रमण गर्दा भारतले गर्ने भनिएको सहयोगलाई मूर्त रुप दिने सम्बन्धमा पनि छलफल भएको थियो। प्रधानमन्त्रीका रुपमा अध्यक्ष दाहालको भ्रमणका क्रममा कास्की जिल्लामा पोलिटेक्निकल इस्टिच्युट स्थापनामा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। करीब एक घन्टा भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने बारे वृहत छलफल भएकाे थियाे।

 

यसैबीच अध्यक्ष दाहालले शनिवारै भारतीय काँग्रेस पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंह तथा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग समेत भेटवार्ता गरेका थिए। रासस