बिचार

उफ् तीज !

–रिधी (कल्पना केसी आचार्य)

बिहिबार, २१ भदौ २०७५ गते प्रकाशित
- नेपाल आज

उफ् तीज !

मन आज कता कता चञ्चल भई राखेको छ, मेरी सानी छ वर्षकी छोरीले विहान सवेरै मामु अब तिज आयो रे है, मेरो लिलि म्याम (उनको कक्षा शिक्षिकाको नाम लिलि रे ) ले भन्नु भएको रे, अब हिन्दुनारीहरुको महान चाड तिज आइसक्यो भनेर अनि उनले फेरी भनिन मामु मलाई र मेरो दिदीलाई यो पटक अलि झिलीमिली भएको राम्रो चुरा धागो (कपालमा बान्ने डोरी ) किन्दी बक्स्योस् हस भनेर भन्न मात्र के पाएकी थिईन त्यत्तिकैमा मेरो गेटको वेल बज्यो भर्खर विहानको साँढे सात बजेको थियो ।

 

मेरो सानो मुवा आइबक्सेको रैछ, जब मैले उहाँलाई देखे, म हत्तन पत्त तल ओर्लीएर च्यानल गेटको लक खोले र ओहो मुवा हजुर, आज हजुर विहानै आइवक्सो मलाई नै बोलाइ बक्सेको भए भैहाल्थ्योे नि भनेर मैले उहाँलाई ढोग गर्दै, माथि आइबक्सियोस् भनेर विन्ती विसाएकी मात्र थिएँ । उहाँको शुरुभयो उही आउँदै गरेको तिजको गुनगुन । उहाँले भनि बक्स्यो दुलाई हामी काठमाडौंवासीको चलन भनुम वा रिति, बुहारी जति पुरानो भए पनि सासुहरुले बोलाउदा सम्बोधन गर्ने शब्द हो । दुलाई विशेष गरी मेरो आफ्नो मुवा ठुकुरी र राणा परिवारको छोरी भएकोले गर्दा होला, हेर न अब तीज आइसक्यो के गर्नु बा चेलीेवेटी, छोरी नन्द अामाजु दिज्यूलाई बोलाउँनु पर्छ, त्यसैले मलाई तिम्रो सहयोग चाहियो, तिम्रो कलेज के छ ? विदा मिलाउन मिल्छ की ? भनेर सोधीबक्स्यो ।

 

तब मैले अलि–अलि बुझ पचाएर भने मुवा हजुर हजुरलाई मेरो सहयोग के मा चाहियो ? किचन सम्माल्न दर ख्वाउनको लागि हो ? भन्न मात्र के भ्याएको थिए उहाँँले मेरो प्रश्नको मन्द मुस्कानसहित हो भन्दै अर्काे जिम्मेवारी पनि थपिदिस्यो, बजारमा गएर चुरा–पोते देखि मसला,मिठाई ,लुगा र सम्धिनीलाई आफ्नो क्षमता अनुसारको गहना सम्म ल्याउने देखि पुर्‍याउने सहयोग पनि गर्नु पर्याे । हुन त आजकल यो सब चलन नेपाली माझ चलिसकेको होला तर हामी काठमाडौं बासीहरुको पहिले देखिको यो अनावश्यक चलन भड्कीलो नै लाग्थ्यो मलाई ।

 

मलाई कता – कता सोच्न बाध्य बनाउँथ्यो, म पनि त कसैको छोरी थिएँ र बुहारी पनि । म माथि मुवा हजुरले भने जसरी मेरो मामुले पनि त मेरो घर बसाउनको लागि हो, वा परिवार समाजमा इज्जत प्रतिष्ठाको लागी हो ? खै कुन्नी जेसुकै भएपनि यी सब गरिबक्सेको त हुन्थ्यो प्रत्येक तिजमा, मम्मीले आफ्नो छोरीको घरको सासु, नन्द, अामाजु, जेठानी, देउरानी, सबैलाई दरको रुपमा आफ्नो क्षमता अनुरुपको उपहार पठाउने भड्कीलो चलन चाहे छोरी जति नै पहिले बिवाह गरेको किन नहोस ।

 

भन्न त भन्छौं हामी छोराछोरी बराबर भै सक्यो भनेर तर जब यस्ता खालका सांस्कृति पराम्परा अनि चाडहरु आउँछन् तब यथार्थमा लाग्छ खै त छोरा छोरी बराबर कहाँ छ ? छोरा र छोरीको बराबर हैसियत ? हरेक घरका छोरीका अभिभावकले गर्ने यस्ता ब्यवहार चलन छोरा वा ज्वाईका परिवारले किन गर्दैनन् ? के संस्कार चलन रिती रिवाज मात्र छोरीको लागी वा बुहारीको लागी सामाजिक प्रतिष्ठाको बचाउनको लागि बनाइएको हो ? यदि हो भने त मेरो विचार गलत पनि त हुन सक्छ त्यसमा म क्षमा चाहान्छु होइन भने किन त यस्ता धार्मिक सांस्कृति, सामाजिक, राजनैतिक हरेक पक्षमा महिलालाई मात्र विभेद ? हुन त मैले व्यक्तिगत रुपमा कसैको विरोध वा समर्थन पनि गरेकी होइन, मात्र हाम्रो समाजको भड्कीलो तिज जस्ता चाड पर्वले निम्त्याएका केहि विकृति र विसंङ्गति प्रति चिन्तित मात्र भएकी हुँ ।

 

भनिन्छ देश आर्दश हुनका लागि समाज आर्दश हुनु पर्दछ र समाज आर्दश हुनको लागि व्यक्ति, आर्दश र सहि हुनु पर्दछ । न कि यस्ता भड्कीलो चलनहरु । स्मरण रहोस् तिज हामी हिन्दु नारीको महान चाड हो, यसलाई हामीले जिवन्त राख्नु पर्दछ । आपसमा सद्भाव कायम राख्दै आ आफ्नो पहिचान मूल्य मान्यतालाई पनि कायम राख्दै घाँटी हेरेर हाड निल्न सक्नु पर्दछ । त्यो हाड, घाँटी भन्दा ठूलो भयो भने अवश्य निल्न कठिन हुन्छ र त्यसको दुखाई पनि गहिरो हुन्छ । संस्कार विकास गरौं, सम्मान गरौं, सबै दिदी बहिनीहरु आमाहरु मिलेर आफ्नो पहिचानको संरक्षण र प्रबर्दन गरौ । हाम्रो समाजको विडम्वना अर्थात हामी नारीहरुको विडम्वना, हामी आफ्नो यर्थाथलाई लुकाउँदै आधुनीक बन्ने होड् बाजीमा हामी को भन्दा को कमको उद्देश्य विहीन दौडको सहभागी बन्नपुगी रहेका छौं ।

 

त्यसले गर्दा हामी केही समयको लागी जितेको जस्तो अनुभव गरेता पनि वास्तविक रुपमा हामी हारेकै हुन्छौं । यसरी भन्नु पर्दा माथी मेरो, सानी छोरीको डिमाण्ड उनी र उनको दिदिको लागि, मुवा हजुरको गुन–गुनले मलाई केहि लेख्न बाध्य बनायो । आखिर हामी किन आफ्नो मौलिकता स्विकार गर्दैनौं ? माइती पक्षले दर दिने, पठाउने, र दुलाहा पक्षले किस्ती गनेर हैसियत मापन गर्ने ।

 

जति जति किस्ती पठायो उपहार मिठाई, मसला फलफलु, त्यसैमा काठमाण्डौको हैसियता देखिने । महङगो उपहारले सजिएका ठूला–ठूला किस्तीसँग जोडिएको हाम्रो सामाजिक प्रतिष्ठा नै गलत छ । होला, हुने खानेको उच्च घरानीय परिवारको लागि यि सामान्य नै होला मैले त्यसको विरोध गर्न खोजेको होइन । मलाई सामान्य परिवार मध्यम वर्गिय परिवारको लागि छोरीको घर, इज्जत र आफ्नो प्रतिष्ठासँग जोडिएर आउने यस्ता भड्कीला चाडपर्वले समाजमा विकृति भित्र्याएको मात्र होइन आउने नयाँ पिडीलाई चाहेर वा नचाहेर यसले पछ्याउने भय यथावत नै रहन्छ, मेरो सानी छोरीले समेत जसरी हुन्छ तिज मनाउनु परर्याे भन्ने उनको सोच उनको राम्रो चुरा, धगो र लुगाले सांकेतिक भाषामा भड्कीलो तिजको प्रतिनिधित्व गरेको बोध हुन्छ ।

 

किस्ती संख्यामा टिकेको प्रतिष्ठा जोगाउँदै गर्दा कतै कसैको उठीबास नबनोस् । मैले यो कुरा मेरो मामुलाई पनि भन्ने गर्दछु । मुमा हजुरले यो सव गर्नु पर्दैन हरेक तिजमा यसरी धुमधाम गर्नुपर्दैन, फेरी मेरो आफ्नो मुमा हजुर (सासु आमा) धेरै बुझ्ने होइसिन्थो । धेरै गर्नु पर्दैन भन दुलाई तिम्रो मामुलाई हामीलाई यस्तो कुराले प्रभाव पार्दैन नाता गोतालाई म सम्झाउछु । उहाँहरुले हामीलाई तिमी जस्तो सज्जन छोरी घरकी लक्ष्मीलाई मेरो घरमा पठाइबक्सेको छ । (यहाँ मैले मेरो आफ्नो प्रसंशा आफैले गरेको पक्कै होइन) हामीलाई त्यहि नै ठूलो उपहार हो, भन्ने कुरा गर्दै गर्दा उहाँको आफ्नो मनभित्रको आवाज नै थियो । त्यसमा कुनै दुईमत थिएन । उहाँको नातागोतालाई म समझाउँछु भन्दै गर्दा यो आडम्वर उहाँलाई मन नपर्दा पनि अरु नातागोताको लागि अनावश्यक व्यबहार गर्नु पर्ने बाध्यता झुल्कीन्थ्यो ।

 

म एउटी काठमाडौंकी छोरी र काठमाडौंकी बुहारी साच्ची नै भन्ने हो भने हामीलाई यी सब गर्नु गाह्रो थिएन मामुले हरेक तिजमा आफ्नो इज्जत प्रतिष्ठालाई जोगाउँदै मेरो र दिदीहरुको घर तर्फ निभाउने व्यवहार निभाइ सकेको हुन्थ्यो तर सवाल यहाँ मेरो मात्र थिएन सवाल यहाँ सबै छोरी बुहारीको थियो किन आखिर हामी छोरीको महानता र उनका बाबुआमाले उनी प्रति गर्नु भएको लगानीलाई मूल्याङ्न गर्दैनौ ? के छोरीलाई घर बसाउन र उनीसँगै उच्च संस्कार, राम्रो शिक्षा र राम्रो जागिर प्रयाप्त छैन र ? कुरा अलि मिल्दो र गम्भिर लाग्यो । त्यसैले जब हामी जस्तो नयाँ र युवा पिडीहरुले यो कुरालाई सहर्ष स्वीकार्नु भन्दा पनि यस्ता आडम्वरी रवाफलाई समाधान गर्नु जरुरी छ । किन भने समाजमा कुनै पनि परिवर्तन भएको कुरा हेर्न चाहानुहुन्छ भने पहिला आफु ‘म’ परिवर्तन हुनु पर्यो ।

 

तपाइको सोच परिवर्तन गर्नुहोस्, अनि समाज परिवर्तन कसो नहोला त ? तीतो यथार्थले विशेष गरी काठमाडौं वरीपरी अहिले यदाकदा पहिलेको तुलनात्मक ढंगबाट नियाल्दा केहि सकारात्मक परिवर्तन भएको पाइन्छ । र अन्त्यमा सबैमा विन्ती के गर्न चाहान्छु अरुको देखासिखीको पछाडी नदौडिनुहोस् । आफ्नो मौलीकपनमा तिजलाई स–सम्मान साथ आपसमा मिली मनाइनुहोस्, तिज आउनु भन्दा १ महिना अघि बाट नै पार्टी प्यालेस, होटल, र छिमेकमा मनाउने चलनले समाजको भलो गर्दैन ।

 

दर खाँदा स्वस्थ खानु होस् समाज र भविष्यलाई स्वस्थ राख्नुहोस् । सदभाव पूर्ण, हामो तिजलाई उफ तिज होइन वाउ तीज बनाउनुहोस् । अन्त्यमा सम्पूर्ण नारीहरुमा आउँदै गरेको हिन्दु महिलाहरुको महान् चाड हरितालिका तिजको उपलक्ष्यमा हार्दिक शुभकामना टक्राउन चाहन्छु ।

(लेखक त्रिभुवन बिश्वबिद्यालयमा उपप्राध्यापक हुनुहुन्छ ।)