कला साहित्य

लघुकथाः हट् घोडा हट्

शुक्रबार, १२ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

लघुकथाः हट् घोडा हट्

मध्यजवानीमा आफ्नो घर, परिवार, जाहान अनि यौवनका उत्साह, उमङ्ग छाडेर पैसा कमाउन खाडी पसेको पदम अहिले घर फर्किएको छ । कर्मथलोको प्रचण्ड ताप, शारीरिक परिश्रम अनि एक्लोपन केही समय उतै बिसाएर आएको छ ऊ । 

 

श्रीमती र छोरोलाई लामो समयपछि भेट्दा उसले गर्ल्याम्म  अंगालोमा कस्छ । आँखामा आँशु टिल्पिलिन्छन् । तर उसले ती आँशु डिलबाट खस्न दिँदैन ।

 

छोरोलाई विदेशबाट ल्याइदिएको काठको घोडा जोडिदिन्छ । निष्प्राण घोडामा निश्चल बालखको क्रिडाले ज्यान भरिए झै भएको छ । छोरो तुफानी वेगमा ‘हट् घोडा हट्’ भन्दै घोडा दौडाइरहेको छ । बालसुलभ त्यो चञ्चलता देखेर पदम गद्गद् हुन्छ ।

 

उसको मनमा छोरो तेजिलो र चलाख भइदियोस् भन्ने चाहना छ । आफूले जति दुःख गर्नु परे पनि छोरोलाई राम्रो शिक्षादिक्षा दिनु पर्छ भन्ने कुरामा पदम सजग छ । राम्रो शिक्षाले नै छोराको उज्ज्वल भविष्य निश्चित हुन सक्छ भन्ने ठान्दछ ।
  

यो समयले गाउँलाई चुनावले छोपेको पनि छ । चुनावी नाराहरुले ‘अब साँच्चै देश बन्ने भयो’ भनेर सबैतिर उत्साह देखिन्छ । पदमको गाउँमा पनि विभिन्न पार्टीका नेता कार्यकर्ताहरु पनि हुँल बाँधेर भोट माग्न पसेका छन् । 

 

धेरै अघिदेखिका परिचित एक नेता पदमसँग चुनावमा सहयोगको याचना गर्दै भेट्न आउँछन् । उनले भोटसँगै आफ्ना विगतका वाचाहरु पूरा गर्न नसकेको प्रष्टिकरण पनि दिन्छन् । वाचाहरु लामा थिए, प्रष्टिकरण पनि लामै छन् । ती नेताले आफूले फेरि भोट पाउनु पर्ने मत जाहेर गर्छन् । उनले आफूसँग गाउँको विकास गर्ने स्मार्ट योजना रहेको सुनाउँछन् ।  

 

पदमलाई पनि उनले अब रोजगारीका लागि विदेश जाने दिन अन्त्य हुने र गाउँमै रोजगारीको अवसर प्राप्त हुने उनले आश्वासन दिन्छन् । त्यसो हुँन सक्दा पदमले आफ्नी जहान र बालख छोरो छाडेर खाडी जान पर्थेन । 

 

नेताजीको भाषणको प्रभाव पदममा पर्छ । ऊ पनि तिनै नेताको समूहमा सामेल हुन्छ । गाउँभर नेताजीका लागि भोट माग्दै हिँड्छ । चुनावको प्रचार सकिन्छ । मतदान पनि सकिएर मतगणना हुँदा तिनै नेता विजयी पनि हुन्छन् । आफूले भोट मागिदिएको नेता विजयी हुँदा पदमको मनमा पनि एकखालको आशा पलाउछ । सम्भवतः अब विदेशिनु पर्ने दिन अन्त्य भएको सोचर उ यति धेरै प्रफूल्लित छ । 

 

छुट्टिका दिनहरु सकिदै थिए । पदम कर्मथलो फर्किने तयारीमा थियो । एक दिन प्रदेशको राजधानी माग्दै यातायात बन्द भएको खबर उसले सुन्यो । अर्को दिन कुरो बुझ्न बेसी झर्‍यो । अखबारहरु पढ्यो । यातायात बन्दका खबरमात्रै अखबारमा थिएनन् । भ्रष्टहरु थुनामुक्त भएका, मन्त्रीहरु भोगविलासमा लिप्त भएका, राज्यको ढुकुटीमा लुट मच्चिएको, दलहरुबीच वैमनश्यता बढेको, अपूरो संविधानका कारण सरकार गठनमा बाधा उत्पन्न भएको जस्ता पनि खबरहरुले पत्रपत्रिका भरिएका थिए ।

 

बस चल्ने कुनै छनक उसले पाएन । तर जानु थियो फेरि पनि विदेश नै । समस्या सुनाउन र सहयोगको याचनासहित उ तिनै नेताकहाँ पुग्छ, जो केही महिनाअघि पदमसँग सहयोगको याचना लिएर उपस्थित भएका थिए । नेताजीले केही उपाय निकाल्ने आश्वासन दिन्छन् । दिन सजिलो–आश्वासनपछि नेताको अत्तोपते हुँदैन । केही सीप नलागेपछि पदमले एक एम्बुलेन्स चालकलाई मोटो रकम तिरेर तराईसम्म पुग्ने र त्यहाँबाट काठमाडौं पुग्ने बन्दोवस्त मिलाएर घर फर्किन्छ । 

 

मनमा अनेक शंका, अन्यौल र अवरोध खेप्दै ऊ विदेश उड्ने अघिल्लो साँझ काठमाडौं पुग्छ । रात छिप्पिदै जान्छ । तर ऊ निदाउन सक्दैन । बिहानपख झमक्क के भएको थियो, सूर्यदेवको प्रकाशको तापले ऊ ब्यूँझिन्छ । 

 

कचपिल्टिएको निद्रा लिएर जहाज चढ्छ ।  मनमा चिसो अनुभूति हुने तर तातो ‘रव’ बिनाको अरबमा फेरि आइपुग्छ । 

 

कम्पनीको सानो कोठामा आफ्नो भारी मन र भारी सुटकेस बिसाउँछ । यति बेला पदमको तन मात्रै होइन मन पनि थकित छ । यस्तो यसअघि कहिले भएको थिएन । भित्ताको आड लाग्दै थचक्क भूँइमा बस्छ । अनि आफ्नो मोबाइलमा घरका स्मृतिहरु नियाल्न थाल्छ । फोटो, भिडियो एक एक हेर्दै जान्छ । यत्तिकैमा उसको मोबाइलमा उसैले खिचेको एक भिडियो प्ले हुन्छ । 

 

भिडियो हेरेर ऊ अचानक ग्वा ग्वा रुन थाल्छ । हम्मेसी डिल कटेर नझर्ने उसका आँशु बहकिँदै छातीसम्म भिजाउन आइपुग्छन् ।

 

भिडियोमा उसको छोरो त्यही तूफानी वेगमा खुसी छचल्क्याउँदै भनिरहेको छ– ‘हट् घोडा हट्’ ।

 

हालः कार्डिफ, यु.के.