कभर स्टोरी

भिडियो

स्तम्भहरू

इतिहास र अनुभुति

दशैंमा १० पैशा दक्षिणा पाउँथ्यौं (भिडियोसहित)

शुक्रबार, १२ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

दशैंमा १० पैशा दक्षिणा पाउँथ्यौं (भिडियोसहित)

चर्चित राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीसँग हामीले यसपटक दशैं सम्वाद गरेका छौं । नेपालआजका लागि डा. केसीसँग दशैं सम्वाद गर्दा धेरै रोचक विषयहरु खोतलिएका छन् । पहिलेको र अहिलेको दशैं, संस्कृति र परम्पराबारे डा. केसीले राख्नु भएको धारणाको सार उहाँकै शैलीमा निम्नानुसार छः 


‘दशै भनेको चिरप्रतिक्षीत विषय हुन्थ्यो । पिङ खेल्ने, हाटबजार जाने, मामाघर जाने, ससुराली हुनेले ससुराली जाने हुन्थ्यो । कोसेलीपात आउने जाने, आफन्त भेट आदिका कारण महत्वपूर्ण हुन्थ्यो । परिवेश नै रमाइलो हुन्थ्यो । सुन्दर घाम, मनोरम दृष्य, लहलह धानका बाला, खेती राम्रो हुने, गाइवस्तुले पनि आराम पाउने बेला हो । वरपर हरियालीको समय पनि हुन्थ्यो । दशैले परिवेश नै बदलिदिन्थ्यो । उल्लास नै फरक हुन्थ्यो । पहिलेको र अहिलेको दशैंमा जमिन आसमानको फरक छ । 

 

गाउँघर र सहरी जीवन प्रणालीमा अहिले पनि फरक छ । गाउँमा पनि केही सहरी प्रवृत्ति प्रवेश गरेको भने छ । ९८ प्रतिशत भागमा मोबाइलको पहुँच भइसकेको छ । गाउँमा पनि अब मानिसहरु धेरै कुरामा जागरुक छन् । ६० प्रतिशत भन्दा बढी मानिस गाउँमा बस्छन् । सारा पहुँचहरु, सडक सञ्जाल, सुविधाहरु गाउँमा पनि पुगेका छन् । त्यो बेला चाहिँ, हाम्रै गाउँमा पनि खसी काट्ने भनेको चैते दशैं, साउने संक्रान्ति, दशै र माघे संक्रान्तिमा मात्रै हो । चार पटक मासु खाने अरु बेला सम्भव हुँदैन थियो । 

 

मासु मजाले खान दशै 

मासु मजाले खान दशै नै पर्खनु पर्ने हुन्थ्यो । त्यसमा त दुई मत छैन । सामान्य परिवारले पनि दशैंमा खसी घरमै ढाल्थे । आउँदो दशैंका लागि अहिलेदेखि नै खसीको जोहो गरिन्थ्यो । मेरै घरमा पनि त्यस्तै थियो । धेरै बाख्रा पाठा पालिदैन थियो । हाम्रैमा गाईको गोठ, भैसी र बाख्राको खोर थियो । कुखुरा, परेवा र हाँस पनि थिए । कुखुराको फुलदेखि बाख्रोको पाठादेखि भैसीको दूध सबै बेचबिखन गर्ने र नगद आर्जन गर्ने गरिन्थ्यो । गाउँघरमा नगदको धेरै काम हुँदैन थियो । तर चाहिन्थ्यो  । पढाईका लागि वा सहर आउँदा नगद चाहिन्थ्यो । म आउँदा पनि ३–४ सय भन्दा बढी पैसा लिएर म सहर आएको थाहा छैन । मेरो घरमा एक पाथी जति दूध उत्पादन हुन्थ्यो । त्यो दूधबाट बनेका परिकार बेचेर नगद आय हुन्थ्यो । तर धेरै पालिदैन थियो । निर्वाहमूखी मात्रै हुन्थ्यो । व्यवसायिक हुँदैन थियो । कृषिजन्य उत्पादनहरुलाई सामान्य मूल्यमा बेचिन्थ्यो । बजार लगेर बेच्ने चलन खासै थिएन । मधेसमा भने छ । तर पहाडमा भने त्यस्तो हुँदैन थियो । गाइगोरु, बाख्रा भैसीहरु घरबाटै बिक्री हुन्थे । 

 

 

क्षेत्री बाहुनले खसी, नेवाहरुले राँगा 

यो पल्ट खसी ढालेपछि अर्को वर्षको अर्को दशैं खसी घोषणा हुन्थ्यो । त्यसलाई अन्न राम्रो दिन्थे । नेवारहरुले पनि राँगा पाल्थे । सबैको चलन त्यही थियो । किनेर ल्याउन सकिदैन थियो । पैसा पनि हुँदैन थियो, बेच्ने व्यापारी पनि हुँदैन थिए । 

 

हामी चाहिँ अलि फरक परिवारका थियौं । पूर्णतः कृषि समर्पित नभई राजनीतिक खालको परिवार भएको हुनाले शिक्षामा बढी जोड दिने परिवार थियो । हाम्रोमा काम चलाउ मात्रै हुन्थ्यो । चाहिने जति स्याहार गर्दैन थियौं । हाम्रो समय पढाईमा खर्च हुन्थ्यो । त्यही भएर गाईवस्तुले राम्रो स्याहार पाउँदैन थिए । छिमेकहरुमा जस्तो राम्रो गाइवस्तु हुँदैन थिए । अरुका पोटिला, हाम्रा दुब्ला हुन्थे । मेरै काकाकोमा गाईवस्तु पोटिला हुन्थे । 

 

दक्षिणा 

हाम्रो बेलामा सबैभन्दा ठूलो उत्साह भनेको मामाघर जाने भन्ने हुन्थ्यो । कहिले दशैं आउला र मामाघर जाउँला भन्ने हुन्थ्यो । मामाघरमा हामीलाई प्यारो गर्नु हुन्थ्यो । समस्या के हुन्थ्यो भने हामी भाञ्जाभाञ्जी गरेर १० जना थियौं । यो पटक को मामाघर जाने भन्ने हुन्थ्यो । १० जना नै मामाघर जान मिल्थेन । घरको कामको पनि जिम्मेवारी हुने गथ्र्यो । बुवा हुँदै दुई पटक म मामाघर गएको स्मरण छ । 

बढीमा १० पैशा पाउँथ्यौं । तामाको डबल हुन्थ्यो । तीन पैशामा एक मुठी सितलु मीठाई आउँथ्यो । अर्को गोलो मीठाई पनि आउँथ्यो । 

 

खसी काट्ने, राम्रो कपडा लगाउने, पिङ खेल्ने, यस्तै यस्तै हुन्थ्यो । अहिले त सबैजसो चाडमा विकृति आएको छ । रक्सी खाने, तास, होहल्ला, पटका, तडक भडक, प्रतिस्पर्धा यस्तो चलन आएको छ । मलाई विकृति मन पर्दैन । फागु, तीज, बाटामा डोरी राखेर पैसा माग्ने, शिवरात्रि प्रतिबन्ध नै लगाइदिए हुन्छ । यी चलन र पर्वमा विकृति आयो । तिहारमा पटका पड्केको देखेर मलाई कहाँ जाउँ जस्तो हुन्छ । तराईको संस्कृति काठमाडौमा आइरहेको छ । बाहिरी संस्कृतिको प्रभाव काठमाडौमा आइरहेको छ । तीजकै कुरा गरौं न । भदौंमा तीज पर्छ सामान्यतः । तर सुरु हुन्छ साउनदेखि नै । यस्तो प्रवृत्ति देखेर अनौठो लाग्छ । दुई दिनको तीज अहिले एक महिना मनाउन थालिएको छ । 

 

दशैमा ढोल बजाउने 

 दशैमा ढोल बजाउने चलन सुदूरपश्चिमा राज्य रजौटाहरुको प्रभूत्व भएको ठाउँमा बजाउने गरिन्थ्यो । अहिले हेर्दा म आफै इतिहासको विद्यार्थी हुँ । अहिले मात्रै मलाई सुदूरपश्चिमको खस संस्कृतिसँग आकृष्ट भइरहेको छु । अहिले जाति, जनजातिका कुरा आए । प्रथा, परम्परा, चाडपर्वका बारेमा खोजी हुन थाल्यो । सबैका आ–आफ्ना संस्कृति छन् । खस संस्कृति भनेको चाहिँ के हो त ? यो बुझ्न जरुरी भएको छ । खस समाजमा कायम भएको ढोल प्रथा हो । गत वर्ष बम्बै गए । धार्मिक सांस्कृतिक कार्यक्रममा गएँ । त्यहाँ सुदूर पश्चिमका दलितहरुले आफ्नो नृत्य गरेको थियो । मलाई सबैभन्दा आकर्षक त्यही लाग्यो । जुन कुरा मलाई नेपालमा थाहा पनि पाएको थिइनँ । बम्बैमा गएर थाहा पाएँ । हामी सुदूरपश्चिमबाट विस्थापित भएर पूर्वमा आयौं । उताको संस्कृति छाडेर यताका जनजातिको संस्कृति लियौं । एउटा समान्य चाडपर्वको रुपमा हामीले संस्कृति बुझ्न थाल्यो । 

 

मूलतः हिन्दु पर्वको रुपमा आएको छ । तर यो दशैं भनेको विजयादशमीको रुपमा घटीत भएको देखिन्छ । खसको मस्टो संस्कृति हो । खसको अलग संस्कृति हो । दशैसँग जोड्दा यो पर्वलाई आफ्नो आफ्नो तरीकाले अपनाउने चलन छ । यो पर्वलाई भारतमा दशहरा पनि भन्छन् । दूर्गापूजाको रुपमा पनि मनाईन्छ । हामी यसलाई दशैं भन्छौं । कतै बडादशैं पनि भन्ने गरिन्छ । 

 

दशैं भन्ने कुन विन्दुमा कहिले कसरी शुरु भएको भन्ने ऐतिहासिक सामाग्री छैनन् । किम्बदन्ती र शास्त्रीय आधारमा मात्रै हामीले भन्ने गरेका छौं । राम भनेको आर्यन, रावण भनेको अनार्य मानिन्छन् । आर्यजातिले अनार्य जातिमाथि विजय प्राप्ति गरेको विजयोत्सव मनाइएको भनेर पनि अहिले केहीले दशैं मनाउन हुँदैन भनिएको हो । 

 

खसी ढाल्ने चलन 

गाउँघरमा मात्रै दशैं वास्तविक रुपमै दशै आउँछ । दशैं आउने भनेको नै गाउँ घरमा हो । सहर बजारमा चाहिँ दशैं भन्ने एउटा अतिरिक्त पर्वका रुपमा मनाउने गरिन्छ । काठमाडौं दशैमा सुनसान हुन्छ । मलाई चाहिँ सही अर्थमा दशैं यहि बेला पाउँछौं । होहल्ला, चित्कार हुँदैन दशैमा । शान्त जीवन पाइन्छ दशैमा । म त यहि बेला राम्रोसँग लेखपढ गर्न पाउँछु । दौडधुप हुँदैन, पत्रपत्रिका पढ्नु पर्दैन । आरामले मनाउन पाइन्छ । मेरो हकमा चाहिँ यस्तो लाग्छ । २५ वर्षअगाडिसम्म हरेक घरमा खसी काट्ने चलन थियो । 

 

मेरा पनि केटाकेटी सानै थिए । उनीहरुको खुसीका लागि मैले पनि खसी ल्याउँथे । घरमै काट्ने रमाइलो गर्नु पर्ने बाध्यता थियो । तर यो २५ वर्षमा धेरै कुरा बदलिएको छ । अर्को घरमा खसी आएपछि हाम्रो घरमा खै ? भनेर सोधिहाल्थे । पछि मैले छोराछोरीलाई सम्झाउन थाले । दुई तीन कारणले राम्रो होइन भनेर सम्झाउन थाले । धेरै मासु राम्रो होइन । धेरै मासु घरमा राख्दा त्यो स्वस्थकर हुँदैन, घरमा फोहोर हुन्छ भनेर सम्झाउन थाले । शुरुका तीन वर्ष त केटाकेटीले मानेनन् । पछि उनीहरु अलि बुझ्ने भए । अनि खसी नकाटे पनि हुने भयो । मासु नै ल्याएर खान थालियो । अहिले देख्दा देख्दै विरलै अब खसी घरमा काटिन्छ । सबैले खसी घरमा काट्न छाडियो । काठमाडौंमा यो चलन धेरै हरायो । गाउँ घरमा अझै चलन छ । खसीको मासु धेरै खानु राम्रो पनि होइन ।