बिचार

सलामी, गुलामी र मलामी

संकेत कोइराला

बुधबार, १० असोज २०७५ गते प्रकाशित
- नेपाल आज

सलामी, गुलामी र मलामी

एकचोटी दश वर्षीय बालकले महात्मा गान्धीसंग गएर सोध्यो– ‘तपाईं सर्ट किन लगाउनु हुन्न ? यदि छैन भने म मेरी आमासंग मागेर ल्याइदिउँ ?’

गान्धीले हाँस्दै जवाफ दिए– ‘तिमीले मलाई एउटा सर्ट दियौ भने मेरा भाइहरु त्यो सर्टका लागि मसंग झगडा गर्नेछन् ।’

बालकले फेरि थप्यो– ‘त्यसो भए तपाईंका भाइहरुलाई पनि एक एकवटा सर्ट दिउँला नि । कति भाइ छन् ?’

गान्धीले बालकलाई चुम्दै भने– ‘चार करोड ।’ 

भगवान रामदेखि कृष्णसम्म, अब्राहम लिंकनदेखि महात्मा गान्धीसम्मका व्यक्तित्वलाई संसारमा पूज्य के ले बनायो । उत्तर हाजिर छ– राजनीति । दक्षिण अफ्रिका देशभन्दा अघि मानिस नेशनल मण्डेला सम्झन्छन् । सहमत, असहमत संसारका हरेक मानिस उनको जन्मघर चिहाउन पुग्छन् । चीन जाने जो सुकै होस न माओको मृत शरीरको परिक्रमा नगरी फर्किदैन । आखिर किन ? राजनीतिप्रति उनीहरुको इमान्दार संकल्प । घर कि देश ? यी दुई रोज्ने परिस्थितिमा जन्मिएको माटोको हितका लागि यिनीहरुले परिवार त्यागिदिए । तर देशलाई छातीबाट कहिल्यै अलग गरेनन् । देश के हो ? यसको उत्तर शरणार्थीहरुलाई थाहा छ । दलाई लामासंग के छैन ? सबैथोक हुँदा माटो नहुँदा उनको जीवन अपूर्ण छ । एक गिलास पानीको मूल्य कति हुन्छ ? मरुभूमिमा धापिएको व्यक्तिले भन्न सक्छ । मानिस आउनु जानु प्रक्रिया हो । मृत्युका अगाडि एक्लो सत्य भएर उभिन्छु भन्नु भ्रम शिवाय केही होइन । गल्ती गर्नु जति निरपराध हो, गल्ती दोहोर्‍याउनु चाहिँ अक्षम्य अपराध हो । अब त गल्तीका पनि धेरै चाङ लागिसके । खालखालका प्रयोगले देश छिद्र भइसक्यो । भो अब दाउपेच बन्द गरौं ।

 

 

 धेरै हदसम्म देश चलाउने मियोे राजनीतिलाई सङ्लो बनाऔं । चिन्ता हैन, चिन्तनको सुन्दर बीउ तमाम देशबासीमा छरौं । एकरातमा एउटा नाईट बसले छिचोल्ने सानो मुलुक बन्न कतिबेर लाग्छ र ? यदि कसैले बनाउन सक्दैन भने उसलाई भत्काउने अधिकार पनि त हुँदैन । यसका लागि आफूबाहेक सवै बेठीकको मानसिकता भने जरैदेखि उखालेर मिल्काउन जरुरी छ । नविर्सौ देश बनाउनु भनेको उच्च मनबोलको बृद्धि हो । जीवनबाट विदा लिनु अघि रावणले रामलाई भनेका थिए– ‘उमेरमा म तिमीभन्दा पाको छु । ज्ञान र बलमा पनि अब्बल छु । तिम्रो सुनको घर, मेरो सुनको देश । तपस्या र क्षमतामा पनि कमजोर छैन । देशको आकार तिम्रो भन्दा ठूलो छ । सबै चीजमा उत्कृष्ट हुँदाहुँदै लडाईं जित्न सकिनँ । यसको एउटैका कारण हो– तिम्रो भाइ तिम्रो साथमा छ, मेरो भाइ शत्रुसंग छ ।’

 

 राजनीतिशास्त्रले भन्छ– ‘जनता कहिल्यै गलत हुँदैनन् ।’ तर जनता नै नमिल्ने अनौठो संस्कृति समाजमा उन्मत्त हुँदैछ । कसैले बोलेको कसैलाई पच्दैन । राजनीतिक रिङ बाहिर बसेकाहरुको प्रदूषणले  राजनीतिका कलपूर्जामा खिया लागेको छ । खाडी, युरोप, अमेरिका बस्नेदेखि सडक सफा गर्ने सम्मलाई सिंहदरबारको अनौठो तिर्खा छ । देश संघीयतामा गएर संघीय संरचना कार्यान्वयनमा आउँदा पनि पदाधिकारीहरुलाई पाएको पदप्रति स्नेह छैन । देश बनाउने रोडम्यापभन्दा उनीहरुलाई सलामी, गुलामीको लोभ छ ।  मलामी बढाउने बाटो अप्रिय बन्दै गएको छ । जनताको विश्वासको धरातलमा उभिनुपर्ने पुलिस र सेनाको घेराबन्दीमा बस्न लालायित छन् । मन्त्री भएपछि आदेश दिनुपर्छ भन्ने असफल राजनीतिक डक्टिनबाट ग्रसित तिनीहरु ठाडो बिजुलीको पोललाई पनि आदेश फर्माउन आतुर छन् ।

 

 जनताको आम्दानी स्रोत सुक्दै जाँदो छ । घरखेत बाँझा छन् । डोरी लाहुरे, तोरी लाहुरे विदेशी भूमिमा बसेर नेपालप्रति अर्तीको अगाध स्नेह बर्साउन मस्त छन् । एउटा गाउँ नगरपालिकामा अनुवाद भएका छन् । गाउँ समिति हुँदा पचास रुपियाँमा तमाम् हुने काम अहिले रातारात पाँच हजार पुर्‍याइएको छ । मन्त्री भएपछि अर्ती, बुद्धि र ज्ञान दिनुपर्छ भन्ने अनौठो मनोविज्ञान पुस्तान्तरण हुँदै दुई तिहाईमा पनि तीब्र छ । 

 

 जनप्रतिनिधिहरु लुटतन्त्रको पूर्वाभ्यासमा उत्रिएका छन् । वडा सदस्य समेत सरकारी खर्चमा मोटरसाइकल किनेर तलवी मोटरसाइकल चालक राखेर सिंहदरबार घरघर पुर्‍याउन अहं भूमिका खेलिरहेका छन् । मेयर, उपमेयर त कम्तिमा डोजर मालिक भइसकेका छन् । जनप्रतिनिधिहरु काम गर्ने सल्लाहमा विमति भएर नभई बाँडफाँडमा कुरा नमिलेर रस्साकस्सीका समाचार बाक्लै सुनिन पढिन थालेका छन् । एउटा प्रसंग आफन्तीको ।

आफन्तीको घर पुगेर राजा सोध्न थाले– 
‘तेरो कति जग्गा छ मलाई देखा ?’
आफन्तीले जवाफ दियो– ‘मेरो सम्पूर्ण जग्गा साहुको कब्जामा छ ।’ 
तेरो अन्नको भण्डार कहाँ छ नि ? त्यो पनि सवै हजुरकै दरबारमा पुगिसकेको छ । अनि तेरो घरको छानो खोइ ? त्यो पनि साहुले लग्यो । तेरो घरको फर्निचर ? हजुरकै हाकिमले उठाएर लग्यो । तेरो छोरा कहाँ छ नि ? जिल्ला अधिकारीको अत्याचारले मर्‍यो । अनि तेरी स्वास्नी खोइ ? हजुरले देखेमा मन पराइबक्सेला भन्ने डरले त्यो भर्खर लुक्न गई । आफन्ती तेरा प्रत्येक संवाद झूठा  हुन् । मसंग यसरी झूठो  बोल्ने साहस कसरी गरिस् ? अन्त्यमा आफन्तीले हिम्मत जुटाएर बिन्ती गर्‍यो– ‘सरकार ! यी सवै कुरा सही र सत्य हुन् । यदि मैले झूठो बोलेको भए, हजुरलाई यसरी रिस उठ्ने नै थिएन ।’ 

 

पात्र फेरिए पनि आफन्तीले भोगेको नियति सक्कल बम्मोजिम नक्कल उस्तै छ । एउटा समय थियो– हरेक मानिसले आफ्नो सुरक्षाको लागि धनुकाँडा बोक्थ्यो । कोही गुलेली बोक्थे । कोही तीर उध्याउँथे । निशस्त्र महिलाहरु केही नहुँदा पनि दुवै औंलामा नङ पाल्थे । खुर्सानीको धुलो बोक्थे । समय परिवर्तनसंगै ओहोदा सामथ्र्य हेरेर मानिसहरु भरुवा बन्दुक राख्न थाले । राज्यले आत्मसुरक्षाका यी उपाय आपूmले गर्ने ढाड्स दिँदै हतियार आफ्नो नियन्त्रणमा लियो । जनताको शरीरमा घात हुन नदिने बचन दिएपछि जनता आश्वस्त भए । तर संगठित हुन नसक्ने जनताको प्रकृतिमाथि राज्यको नाममा यस्तो कपटपूर्ण खेल खेलियो कि कानुनमा लेखिएका शब्दबाहेकका खेलबाट जनता आहत हुन थाले । जनताले पाउने सुरक्षा चाकरीको माध्यम बन्यो ।  दर्ता चलानीको काम समेत शुभलाभविना नहुने दिन आए । हुँदाहुँदा नेपाल मात्र त्यस्तो देश हो, जहाँ राजश्व तिर्न पनि विचौलियाको भरथेग चाहिन्छ ।

 

 कर्मचारीहरु सेवाग्राही चिन्दैनन, विचौलिया चिन्छन् । राजा त्रिभुवनलाई त्रास देखाइ दिल्ली भगाएर चारवर्षे बच्चोलाई राजा बनाउने देखि लिएर प्रचण्डलाई तिलस्मी देवदूतका रुपमा अवतरण गराई एक दशक बीचमा नाङ्गेझार बनाउन प्रकारान्तरमा एउटै प्रवृत्तिले भूमिका खेलेको छ । पछिल्लो समय हेर्ने हो भने ज्ञानेन्द्रलाई देवत्वमा आरुढ गराएर अन्ततः सन्यासी बनाउने लोकमान र गिरिजाप्रसाद कोइरालालाई सन्काएर सम्पूर्ण निजामती प्रशासनमा राजनीतिको विषवृक्ष रोप्ने भोजराज घिमिरे चरित्रले सामाजिक मनोविज्ञान नै आँधीमा परेको डुंगाजस्तो भइरह्यो ।

 

त्यसैको परिणाम नेपालको निजामती प्रशासनभित्रका २५ प्रतिशत ट्रेड युनियनका नाममा, २५ प्रतिशत तर्दथवाद, २५ प्रतिशत अख्तियार, कानुनको त्रास देखाएर हाजिर गरेर जागिर पचाइरहेका छन् । बाँकी २५ प्रतिशतले धानेको सरकारी सेवा कस्तो होला, अाफै अनुमान लगाउन सकिन्छ ।  कुर्सीको आवश्यकता बन्नु र कागताली परेर पदमा पुग्नुको अन्तर विचित्र छ ।

 

जो जनताको आवश्यक बन्छ, उसलाई बन्दुकको सुरक्षा रुचिकर हुँदैन । सुरक्षा थ्रेट त्यसलाई हुन्छ, जो धेरैको भाग खोस्ने थोरै फटाहाहरुको बस्तीमा आगो झोस्न सक्छ । तर यहाँ त  घरका एकमुठी जहान मिलाउने लुर नभएकालाई के को थ्रेट ? हातमुख जोर्नेेदेखि बोतलको समावेशी झोलसमेत अरुकै आतिथ्यमा जीवन अर्पिएकालाई के झार्न थ्रेट दिनु र ?

 

 नेताहरुको यही कमजोरीको फाइदा उठाएर स्वार्थीहरुले देशमा फौजी निकायको संख्या लाखौं पुर्‍याइसके । लाख नाघेको निजामती कर्मचारी सत्तरी हजारबाट ओरालो लागिसक्यो । भ्रष्टाचारी ठीक लाउने नाममा अख्तियारका गतिविधि युद्धकालिन माओवादीको एम्बुसभन्दा कम खतरनाक हुन छोड्यो । भ्रष्टाचार, अनाचार, व्यभिचार किन मौलाउँदैछ भनेर त्यसको ओखती खोज्नु साटो सरकारी निकायबीच नै को बढी दमदार देखिने भनेर प्रतिस्पर्धा चल्न थालेको धेरै भइसक्यो । सांसदहरु हिन्दी सिनेमाका जुँगे तहसिल्दारजस्ता भएका छन् । यतिका राजनीति उहापोह हुँदा पनि मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत राजनीतिकर्मीहरुमा आएन । फूलपाती  लिएर पूजा गर्न जाने कार्यकर्ताहरुको हात शीर्ष नेताहरुको गालामा पुग्दा पनि उनीहरुको कार्यशैलीमा बीसको उन्नाइस सुधार आएन ।

 

 कथित जनयुद्ध सफल पार्न हजारौंले बलिदान दिएको स्थायी रेकर्ड राखेका माओवादी नेताहरुलाई थाहा छ छैन, ती ठाउँका जिल्ला अदालतले गरेको आधा फैसला  सम्बन्ध विच्छेदका छन् ।  

 

गणतन्त्रपछि त राजनीतिक दुश्चक्र साँच्चै कहालिलाग्दो छ । देशका कार्यकारी पद नेताका हुक्के, ढोके, चम्चेलाई जागिर लगाउने ठाउँ भएका छन् । एसएलसी गान्धी डिभिजनमा पास हुन नसकेर प्राथमिक विद्यालयको शिक्षकसम्म हुने हुति नभएकाहरु नेताहरुको झोला बोकेको र ढुंगा हानेको ज्याला स्वरुप शिक्षामन्त्री भएका छन् । पुलिसको सिपाहीमा फालिएकाहरु गृहमन्त्री भएर टप्किएका छन् । संसदजस्तो गरिमामय ठाउँलाई रणमैदान बनाउने ‘बुल फाइटरहरु’लाई छानी छानी मन्त्री बनाइन्छ । सेना समायोजनमा कर्नेल नपत्याइएका नन्दकिशोर देशको दोस्रो भीभीआईपी बनाइए । नेताका नाता त भइगए आउरे बाउरे संवैधानिक पदका हकदार भएका छन ।

 

 मानौं मन्त्री पद बच्चालाई फकाउने चिची पापा जत्तिक्कै सस्तो हो । जात, धर्म, लिंग कसैले निवेदन दिएर पाएको बस्तु होइन । त्यो प्रारब्ध हो । आफ्नो लगानी विनाको वस्तुमा गौरव गर्नु पाखण्ड हो । तर मुलुकको अनुहार झल्किने त्यो ठाउँमा योग्य मानिस हैन, महिला, जनजाति, मधेशी, अपाङ्ग पुर्‍याएकोमा गौरव गरिरहेका छौं । १९८० ताका नेपालको प्रतिव्यक्ति आय २६५ हुँदा चीनको प्रतिव्यक्ति आय २५० डलर थियो । अहिले त्यही चीनबाट पठाएका थाङ्ना फोगटाले आङ ढाकेर कहिले भारत सराप्छौं त कहिले भारतबाट आएको बिजुली पानी र त्यहीँबाट आयातीत माछाको सितनको बलमा चीनलाई नानाथरि भन्छौं । 

 

यसरी धम्क्याउनुअघि चीन र भारतबीच झण्डै एक खर्ब डलरको व्यापारिक सम्झौता छ भन्ने सत्यसंँग थोरै परिचित भइदिए कति गुन लाग्थ्यो । जो शक्तिमा पुग्यो उसले राज्यका संयन्त्रलाई विर्ता ठान्ने यही मनस्थितिका कारण हामी गफाडी माग्ने भएका हौं ।