कभर स्टोरी भिडियो

तेस्रोलिंगीलाई समाजले खै कहिले बुझ्ला ?

तेस्रोलिंगीलाई समाजले खै कहिले बुझ्ला ?


काठमाडौं । अन्य विज्ञानजस्तै चिकित्सा विज्ञानले ठूलो फड्को मारिसकेको छ । तर नेपालमा भने २१ औं सताब्दीमा आएर पनि समाजमा तेश्रोलिंगीलाई हेरिने अनौठो दृष्टिकोण अझै परिवर्तन हुन सकेको छैन । त्यहि समाजभित्रकी तेश्रोलिंगी भूमिका श्रेष्ठ भन्छिन्, ‘तेश्रोलिंगीलाई समाजले अझै पनि खुला रुपले पचाउन सकेका छैनन् ।’ 

 

छोराको रुपमा जन्मिएकी भूमिका सानोदेखि नै छोरीको लुगा लगाउन र श्रृङ्गार गर्न रुचाउँथिन । सम्पर्ण इच्छा चाहना छोरीकै जस्तो थियो । घरमा परिवारले ‘यो सानो छ, पछि हुर्किदैँ जाँदा आफंै ठिक हुन्छ’ भन्थे । तर, जसरी हुर्किदँै गइन् आखाँमा गाजल, लिपस्टिक लगाउँन छोडिनन् उनले । छोरीको जस्तै हाउभाउ देखाउँदा पनि परिवारले किन यस्तो गरेको भन्ने प्रश्न कहिल्यै गरेनन् । ‘बिग्रेर नहिँड अरू जे गरे पनि गर्’, परिवारबाट यस्तै प्रतिक्रिया पाउँथिन् भूमिकाले ।

 

 ‘सर्पोट’ नै गर्नुभयो तर मात्र बिग्रेर नहिडोस् भन्नुहुन्थ्यो । परिवारले पनि समय बित्दै गएपछि भूमिकामा आफैं परिवर्तन आउँछ भन्ने सोचे । तर त्यस्तो कहिल्यै भएन । 

 

पैसा मात्र नभइ, साथीहरूको लागि खानेकुरा चोर्थे

कुनै पनि मानिसले १२ देखि १५ वर्षसम्म  देखाउने व्यवहार पछि गएर त्यही व्यवहार नै उसको वास्तविकता बन्छ । यसको ज्वलन्त उदाहरण हुन् भूमिका । भूमिकाका आमाबाबुले जस्तै समाजलाई पनि उनको व्यवहारमा परिवर्तन आउँछ भन्ने विश्वास थियो । तर भूमिकाले आफू को हूँ भन्नेबारे थाहा पाइसकेकी थिइन् । त्यसैले उनले आफूलाई स्वीकार्न थालिन् । आमाबाबु र समाजले भनेजस्तो उनमा परिवर्तन आएन । सानैदेखि केटीको नक्कल गर्ने र केटीकै जीवनशैली अपनाउने उनको बानीमा रत्तिभर परिवर्तन आएन ।

 

केटाकेटी हुँदा निकै चञ्चल र चुलबुले भूमिकाको चोर्ने बानी थियो । उनका आमााबाबुको होटल व्यवसाय गर्थे । भूमिकाले पसलबाट सुटुक्क पैसा चोर्ने गर्थिन् । एकदिन आमाबाबुले थाहा पाएपछि भने उनले मज्जाले कुटाइ खानुप¥यो । उनी आफ्नो लागिमात्र पैसा चोर्थिनन् । आफ्नै पसलबाट साथीहरूको लागि चाउचाउ, चकलेट, बिस्कुटजस्ता सामानहरू पनि चोरेर दिन्थिन् । 

 

स्कूल पढ्दा भेदभाव 
त्यो समयमा तेस्रो लिंगीहरूलाई विद्यालय जान त्यत्ति सजिलो थिएन । भूमिकाले पनि धेरै विभेद झेल्नु पर्यो । तर सबै व्यक्ति दुःख दिने खालका थिएनन् । केहीले उनको समस्या बुझ्थे । उनलाई नजिकबाट बुझ्ने र चिन्ने साथी र शिक्षक कसैले उनीप्रति नराम्रो व्यवहार गरेनन् । 
तर आफू एक्लो भएको समयमा भने हिँडडुल गर्न भूमिकालाई धेरै अप्ठ्यारो हुन्थ्यो । बाटो हिँड्दा या अन्य मानिसहरूको जिस्क्याउने र होच्याउने व्यवहारले उनलाई आत्महत्या गर्ने प्रयास पनि गरिन् । 

 

‘विद्यालयमा हुँदा भेदभाव त सहेकै हो मैले । चित्त दुख्थ्यो, रुन्थेँ । अरू भन्दा पनि ‘ट्वाइलेटको’ समस्या हुन्थ्यो । ५ कक्षामा हुँदा अरु साथीसँगै लाइन बसेरै जान्थें । तर ७, ८ कक्षामा पुग्दा केटीको ट्वाइलेटमा जान नमिलेपछि ट्वाइलेट नै जान छोडें, च्यापेरै बस्थे । ब्रेकमा घरै जान्थें’, भावुक हुँदै उनले सुनाइन् ।

 

 

न नागरिकता, न बेग्लै शौचालय 
नेपालका कतिपय सार्वजनिक स्थलमा तेस्रोसलंगीको लागि शौचालय छैन । यसले गर्दा उनीहरूलाई समस्या हुन्छ । यसबारे उनले भनिन्, ‘म केटीकै ट्वाइलेट जान्छु । केटीको रुपमा केटाको ट्वाइले जान पनि त सुहाउदैन नि ।’ यो समस्यालाई सरकारले हल गर्ने कुनै वातावरण नदेखेको भन्दै उनले थपिन्, ‘सरकारले नागरिकता जस्तो काम त गर्न सकेको छैन भने ट्वाइलेटको काम परै जाओस् । कति पटक भनियो भनियो तर काम चाहिँ भएको छैन ।’ 

 

तेस्रो लिंगीले पाउने हक अधिकारबारे जति नै जनचेतनाको कार्यक्रम ल्याए पनि यसमा परिवर्तन ल्याउनमा नेपाल सरकार चुकेको उनले बताइन् । ‘सम्बन्धित निकायका मान्छेहरूदेखि प्रधानमन्त्रीसम्म संकिर्ण सोचका छन् । सोच कसरी परिवर्तन हुन्छ र ? १८ वर्षदेखि अधिकारका लागि लड्दौ छौँ तर सरकारमा रहेकाहरू उनीहरूकै आर्थिक रकम काटेर दिनुपर्छ भन्ने सोच्नु भएको छ । हामीले त हाम्रो पहिचान माग्दै छौ नि अरुको अधिकार चाहिएकै छैन् ।’ 

 

भूमिका भन्छिन्, ‘हाम्रो देशको राजनीति त मुसा बिरालोको खेल जस्तै छ ।’ विदेशमा नेपाललाई मात्र सगरमाथा र बुद्धको देश भनेर चिन्छन् । अर्को कुरा नेपालमा सबै भन्दा छिटो तेश्रोलिंगी समुदायको अधिकारलाई सुनिश्चित गरेर फड्को मार्यो भने नेपाल छुट्टै चिनिन्छ कि ? हामी त विदेशमा आफ्नो देशको नाम चिनाउन के के मात्र गर्दैनौ ? हामी फरक व्यक्तिका मान्छे हौँ भन्ने सरकारलाई थाहा छ । तर हिच्किचाउनु हुन्छ, डर लाग्छ कि नेताहरूलाई ? 

 


 

 


 

नागरिकता दियो भने पासपोर्ट दिनु पर्छ, पासपोर्ट दियो भने सबै कुरामा समावेशीता जनाउनु पर्छ । रोजगारीको अवसर दिनु पर्छ । ‘हामी तेश्रो लिंगीहरूबाट सरकारकै आफ्नो भाग खोसिएला कि भन्ने डर छ । लोकसेवामा पनि समावेशिता गर्नु पर्छ । अहिलेसम्म कुनै पनि निकायमा तेश्रोलिंगीले काम पाएको सुनिएको छ र ?’ भन्दै उनले थपिन्, ‘तेश्रो लिंगीलाई दबाएको होइन दबाउन खोजेको पक्कै हो ।’

 

जन्मजात केटा जन्मिएर, हर्मोन्स केटीको भएपनि शारिरीक हिसाबमा पूर्ण रूपमा महिला हुन असम्भवजस्तै छ । भूमिकाले बैङककको थाइल्याण्डमा गएर करिब तीन लाख खर्च गरेर ब्रेस्ट इम्प्लान्ट गरेकी छन् । ‘जेन्डर अर्ग्यान इमप्लान्ट गर्ने इच्छा त छ तर धेरै समय तथा खर्च लाग्छ । अलिक गाहै्र छ । गरे पनि पूर्णरूपले महिला भइन्न’,उनले स्पष्ट पारिन् ।  

 

स्कुटीमा हेल्मेटको सट्टा क्राउन लगाएरै घर गएँ 
भूूमिका सन् २००७ मा ‘मिस पिङ्क’ टाइटलकी विजेता पनि हुन् । टप ५ सम्म त पर्दा पनि उनले आफूले त्यो उपाधि जित्छु भन्नेबारे कल्पनासमेत पनि गरेकी थिइनन् । कार्यक्रम प्रस्तोताले उनको नाम लिनेबित्तिकै बरर्र आँशु झ¥यो । खुसीको सीमा यति नाघ्यो कि, रातको ८ बजे घर जाँदा स्कुटरमा हेल्मेटबिना नै क्राउन लगाएर गइन् उनी । 

 

तेस्रो लिंगी हाँसोको पात्र मात्रै 
चलचित्रमा तेश्रोलिंगीहरूलाई एउटा हाँसोको पात्रका रुपमा मात्र लिएकोमा उनले गुनाशो पोखिन् । यो कुराप्रति उनलाई निकै आपत्ति छ । त्यही समयमा ‘कान्छी’ चलचित्रमा काम गर्ने मौका पाइन् उनले । जसमा उनी आफैंले सोचेकोजस्तो भूमिकामा काम गर्न पाइन् । विशेषगरि फिल्ममा तेस्रो लिंगीहरूलाई हाँसोको पात्र बनाएर प्रस्तुत गरिदाँ वास्तविक जीवनमा पनि उनीहरूको छाप राम्रो नपर्ने भूमिकाको भनाइ छ । त्यसकारण फिल्ममा तेस्रो लिंगीलाई हसीमजाकको पात्र बनाउन कम गरिनुपर्ने तर्क उनले अघि सारिन् । 
खै हामीलाई अवसर दिएका ?

 

समाजका विभिन्न विधाम तेस्रो लिंगीले उचित अवसर नपाएको उनको दुखेसो छ । ‘सरकारी निकायको फर्ममा अन्य भनेको जातजाती, भाषा, लिंग बाहेकालागि मात्र व्याख्या गरिएको छ । समावेशीका नाममा उल्लेख भएको ‘अन्य’ हामीलाई होइन । तेश्रो लिंगीलाई त पहिलै नै हेला गरेर स्कूलबाटै निकालेका छन् । केही तेस्रोलिंगीले उच्च शिक्षासमेत लिएका छन् । उनीहरु जिम्मेवार भएर कर्तव्य निर्वाह गर्न पनि सक्छन् । तर अवसर पाउँदैनन् । न निजी क्षेत्रमा न सरकारी निकायमा नै उनीहरुको क्षमताको परीक्षण कसैले गरिदिन्छ । 

 

केहि समय भयो तेश्रोलिंगीहरूले ‘अन्य’मा फर्म भरेका थिए । तर दिइएन, किनकी त्यो जातजातीका लागि रहेछ । १९ वर्षदेखि सरकारको ढोका ढकढक्याएको कारण नै आज यतिसम्मको स्वतन्त्रता पाएका छौं । नीतिहरूमा युवा स्वरोजगार, महिला तथा तेश्रोलिंगी सबै समावेश त गरेकै छ तर खै कार्यन्वयनमा ल्याएको ?’ 

 

यौनजन्य कार्यमा समाजले बाध्य बनाएको हो 
तेस्रो लिंगीले यौनजन्य गतिविधीमा सक्रिय भएर समाजकमा विकृति ल्याएको आरोप लाग्ने गरेको छ । तर, यस्तो पेशामासमाजले नै उनीहरूलाई जान बाध्य बनाएको भूमिकाको भनाइ छ । ‘जसको जे क्षमता छ त्यसले त्यो पेसा गरेकै छ । उनीहरूलाई घरबाटै निकालदिन्छन्, स्कूलबाट निकालदिन्छन्, समाजले तिरष्कार गरेका हुन्छ । काम खोज्न जाँदा कसैले काम दिँदैनन् । घरायसी काम पाए तापनि त्यहाँ यौन शोषण गर्छन । अनि जन्मे पछि त बाच्नको लागि केहि त गर्नु पर्यो नि । अनि बाध्यताबस देहव्यापार अङ्गाल्छन्’,उनले भनिन् । 

 

सबै तेस्रोलिंगीको ठेक्का ब्लु डायमण्डले लिन सक्दैन
तेस्रो लिंगीको हक अधिकार र उनीहरूको व्यवस्थापनको लागि स्थापना भएको ‘ब्लु डायमण्ड सोसाइटी’बारे धेरै गुनासाहरू आउँछन् । यस संस्थाबारे अन्य तेस्रोलिंगीले पोखेका गुनासाबारे बोल्दै उनले भनिन्, ‘यो त एउटा प्रोजेक्ट हो । नेपालमा ५ देखि ७ लाखसम्म तेस्रोलिंगी छन् । यी सबैलाई रोजगार दिन सक्दैन ।’ 

तेश्रोलिंगी भूमिका श्रेष्ठ ब्लु डायमण्ड