बिचार

पुर्खाको रगतले आर्जेको देश हो, उपहारमा पाएको होइन 

–अस्मिता भण्डारी 

शनिबार, ०६ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

पुर्खाको रगतले  आर्जेको  देश हो, उपहारमा पाएको  होइन 

५२ सालमा जब माओवादीले ‘जनयुद्ध’ नामक एक दाजुभाईमारा कुकृत्य शुरु गर्‍यो, त्यो कुकृत्यलाई निमुखा गरिब युवाहरुले आफूहरुकै लागि थालिएको ‘महान जनयुद्ध’ ठाने । त्यो ‘महान जनयुद्ध’का सरदारहरुलाई आफ्ना भाग्यविधाता र मुक्तिदाता माने ।  वास्तविक युद्धमा रणमैदानमै उत्रने एक प्रतिशत पनि हुँदैनन् । माओवादी युद्धलाई राजनीतिक विद्रोहको खोल ओढाउने डलरेहरु गनिसाध्यै थिएनन् । तर पनि माओवादीको ‘महान जनयुद्ध’ सम्झौतामा टुंगियो । उनीहरुका सबै माग पूरा गर्दा पनि एक सार्वभौम राष्ट्रको केही जाँदैन थियो । अर्थात सीमा, अस्तित्व, सार्वभौमिकता, आफ्ना नागरिक आदिमा कुनै फरक पर्नेवाला थिएन । 

 


अब अहिले सिके राउतको समर्थनमा तराईमा तिनै ‘महान जनयुद्ध’ ठान्नेहरु जस्तै जमात बेलाबखत जम्मा हुन्छन् । अनि सिके राउतलाई आफ्ना ‘मुक्तिदादा’, ‘भाग्यविधाता’ देख्छन् । तराईलाई नजिकबाट बुझेको छु भन्नेहरुको मतमा सिके राउतका पक्षधरहरु अधिकांश त्यस्ता युवा छन् जो केन्द्रबाट आफू उपेक्षामा परेको महशुस गर्छन् । जब कुनै समुदायले आफू राज्यबाट हेपिएको महशुस गर्छ, तब आफ्नो आत्मस्वाभिमानका लागि जस्तो पनि विद्रोह गर्न तयार हुन्छ ।

 

तर यस्तो तयारीले निम्तिने परिणाम के हो त ? यसको हेक्का कसैलाई पनि हुँदैन । संसारमा देश टुक्रेका धेरै उदाहरण छन् । जोडिएका उदाहरण पनि छन् । बंगलादेशीहरु पाकिस्तानको राजधानी इस्लामावाद पुग्दा धेरैजसो धर्धरी रुन्छन् । किनभने पाकिस्तानको समृद्धि र आफ्नो देशको दूर्गति देखेर । अरुको इशारामा देश टुक्र्याउँदाको सजाय अहिले पनि उनीहरु भोगी रहेका छन् । देश टुक्रयाउनेविरुद्ध बस्ती बस्ती रित्तो हुने गरी राज्यले नरसंहार मच्चाउदा पनि पृथकतावादीविरुद्धको कारबाहीका रुपमा विश्वले बुज्दछ । यसको गतिलो उदाहरण श्रीलंकामा लिट्टेविरुद्धको अपरेसन हो । श्रीलंका सरकारले पृथकतावादीलाई यसरी मृत्युको मुखमा धकल्यो कि त्यो घटनाविवरण पढ्नेहरु पनि सिरिङ हुन्छन् । तर राज्य कठोर भएपछि डलरेहरुको पनि बोली बन्द हुँदो रहेछ । श्रीलंकाले दमन गरेरै देश टुक्रा हुनबाट रोक्यो भन्ने विश्वमा सन्देश गयो । श्रीलंकाकै सिको गर्ने संकेत देखाएपछि स्वीडेनको उब्जेको आवाज पनि मत्थर भयो । 

 

 

सिके राउतलाई आफ्ना भाग्यविधाता देख्नेहरु मध्ये केहीलाई स्वतन्त्र मधेसको आन्दोलन शुरु भएपछि छिमेकी मुलुक भारतको साथ सहयोग हुनेछ, भन्ने ठानेका छन्, जसरी नाकाबन्दीमा भयो । यस्तो सोच लिट्टेहरुलाई पनि थियो । भन्नेहरुले त लिट्टे जन्माएको पनि भारतले नै हो भन्ने गर्छन् । तर अन्तिममा भारतकै समर्थनमा त्यहाँका अल्पसंख्यक तमिलहरुलाई श्रीलंका सरकारले कहिले पनि उठ्न नसक्ने गरी रसातलमा पुर्याइदियो । श्रीलंकाको रक्तपातपूर्ण पृथ्कतावादी आन्दोलनले के दियो त ? सरल जवाफ हो – बर्बादी  बाहेक केही दिएन ।  

 

 

सिके राउतको पक्षमा ‘स्वतन्त्र मधेस’ भन्ने युवाहरु मध्ये अधिकांशले कर्णालीका जिल्ला एक पटक घुम्नु पर्छ । बझाङ, बाजुरा, डोल्पा, जुम्लाका गाउँहरु एक पटक घुमिसकेपछि तिनले  आफ्नै मधेसी नेतालाई सोध्ने छन्, ‘खस शासकले गर्दा मधेसी उपेक्षित भएका हुन् भने  खसहरु नै बस्ने कर्णाली किन मधेस भन्दा पत्रु भयो त ?’ आफ्नो जातको, आफ्नो धर्मको, आफ्नो समुदायको व्यक्ति नेता वा मन्त्री प्रधानमन्त्री हुनेबित्तिकै उपेक्षितहरुको दिन फर्किने भए आज आधा आकाश ढाक्ने महिलाहरुको सम्मान राष्ट्रपति विद्यादेवी भण्डारीको जस्तै हुने थियो होला । तर आजको दिनमा धेरै महिलाहरुको निरिहता कञ्चनपुरकी निर्मला पन्तको भन्दा फरक छैन । 

 

 

राजपाका नेताहरुले ‘हाम्रो माग पूरा नभए मधेस टुक्रिन सक्छ’ भन्दै  भाषण गर्न थालेको धेरै भयो । बुहराष्ट्रको माग त महन्थ ठाकुरले पटक गरेकै हुन् । सिके राउत पक्राउ पर्दा उनलाई छुटाउन क–कसले फोन गरेर प्रहरीमा दबाब सिर्जना गरे भन्ने सूची खोज्ने हो भने सजिलै भेटाइन्छ । सिके राउतको हाउगुजी देखाएर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नेहरु जति पनि छन् । माओवादीको कथित जनयुद्ध चलिरहँदा ‘माओवादी समस्या समाधान’का नाममा धेरै सरकार फेरिए । झण्डावाल गाडी चढ्ने धेरैको सपना पूरा भयो । अहिले मधेसका केही राजनीतिक दलको अवस्था पनि यस्तै हो । सिकेको पक्षमा एमनेष्टीका अध्यक्षले निकालेको विज्ञप्तिबाट पनि नेपालमा विदेशीहरुको नांगोनाच स्पष्ट हुन्छ ।

 

 

खुला सीमा र केही असन्तुलित सम्बन्धका कारण भारतीयहरुले नेपालमा आएर नागरिकता लिएका छन् । उनीहरुसँग दुवै देशको नागरिकता छ भन्ने गरिुन्छ । यहि भएर भारतको बिहार युपीमा चुनाव हुँदा नेपाल तिरको मतदाताको हिसाब पनि निकाल्ने गरिन्छ । यो दूर्भाग्य हो तर भइरहेको छ । ६२ सालपछि त हचुवाको भरमा नागरिकता वितरण गरियो । त्यसरी नागरिकता पाएकाहरु अहिले सबैभन्दा चर्को क्रान्तिकारी भएर निस्केका छन् । जुन राष्ट्रले उसलाई आश्रय दियो, नागरिकता दियो, त्यही राष्ट्रलाई अहिले उसले घृणा गर्छ । यद्यपि यो सबैको हकमा भन्न खोजिएको होइन । 

 

 

अब रह्यो प्रश्नः  सिके राउतको क्रियाकलापले देश टुक्रिन्छ त ? यसको सरल जवाफ हो – टुक्रिदैन । किन त ? किनभनेः  कुनै पनि अभियानमा नेता सहि हुनुपर्छ । नेता सहि र इमानदार छैन भने त्यो अभियान सफल हुँदैन । सबैले स्वीकार गरेको तथ्य यो हो कि जसले आफ्नो देशलाई माया गर्दैन त्यसले कसैलाई पनि माया गर्दैन । सिके राउतको देश भनेको नेपाल हो । सिकेको देश नेपालमा तराई पनि पर्छ पहाड हिमाल पनि पर्छ । जब उसले आफ्नो देशलाई नै माया गर्दैन भने अरु कसलाई माया गर्छ ? आफ्नो देशलाई नै माया नगर्नेले सञ्चालन गरेको अभियान यसकारण सफल हुँदैन । 

 

 

नेपालको जति पनि जमिन छ, प्रत्येक पाइलामा पूर्खाको रगत चुहिएकै छ । रगत बगाएर जोडेको भूमि हो यो । कसैले दानमा वा उपहारमा दिएको माटो होइन यो, जुन कसैले माग्ने बित्तिकै पाइहालोस् । राष्ट्र निर्माणको प्रक्रियामा स साना देशहरु मिसिन्छन् र देश बन्छ । आजको भारत बन्ने बेला ५२१ राजाहरुको देश खोसिएको थियो । भारतमा त कैयन राजखान्दान अहिले पनि छन् । नेपाल एकीकरणको प्रक्रियामा पनि केही देशहरु मिले । केही पहिलेदेखि नै नेपालको अधिनस्थ थिए । उनीहरुको अधिकार केन्द्रमा सारियो । 

 

 

अंग्रेजहरुको तोपसँग तरबार चलाएर जोगाएको मुलुकलाई टुक्रा पार्ने दूस्साहस चाहिँ मान्नै पर्छ । जब अंग्रेजहरुले नसकेर छाडेको मुलुकमा स्वतन्त्र मधेसको माग राख्नेहरुको एक पटक अनुहार हेर्दा पनि दया जागेर आउँछ । 

 

 

युएनपिओ
 

धेरैलाई अहिले के पनि लागेको हुन सक्छ भने अनरेप्रिजेन्टेड नेसन्स एन्ड पिपल्स अर्गनाइजेसन (युएनपिओं)मा दर्ता भएपछि कुनै दिन मधेस स्वतन्त्र हुन्छ । अर्मेनिया, इस्ट टिमोर, लात्भिया पनि कुनै बेला यहि संस्थाको सदस्य थिए ।  ति देशको जस्तै स्वतन्त्र  अस्तित्व मधेसको पनि हुनेछ भन्ने कतिपयलाई लागेको होला । सिके राउतका विदेशमा बस्ने मतियारहरुले जस्तो कागज बनाएर यो युएनपिओमा तराईका २२ जिल्ला, जिल्ला नभएर देश हुन् भन्ने हो भने अरु २२ वटा प्रस्तावित देश त्यहाँ दर्ता हुन सक्छन् । किनभने यो एउटा एनजिओ हो । यसको काम नै संसारमा हिंसा भड्काउने, दंगा फसाद गराउनु र युरोप, अमेरिकामा बनेका हतियार बेच्न सघाउनु हो । २० पन्नाको प्रतिवेदन बनाएर पेश गरेको भरमा देश पाइने भए तिब्बतीहरुले आजसम्म गरेनन् होला यो बाँदरको पुच्छर जस्तो काम ? काश्मिरका जनता एउटा फाइल बनाएर युरोप पुर्याउन नसक्ने छन् ? 

 


मुख्य कुरा यो अर्गनाइजेसन भनेको डलरे हो । यसबाट पनि प्रक्रिया मिलाएर डलर तान्न सकिन्छ । देशलाई अस्थिर पार्ने र देशप्रति अपनत्व नभएका विशेषगरी आलुको भाउमा नागरिकता पाएकाहरु त्यो नागरिकता कुभिण्डो भएको हो । तिनैलाई अहिले आफ्नो आश्रयस्थल, आफ्नो मातृभूमि बढी भएको छ । बलजफ्ती एक धुर, एक आना जमिन त अरुको लिन सम्भव हुँदैन भने देश नै टुक्रा पार्ने दुस्साहसको जवाफ सरकारले किन नदिएको हो ? जनताले बुझ्न सकेका छैनन् । 

 

समाधान के त ? 
 

सिके राउतले मधेसको गरिबी र अभावसँग आफ्नो स्वार्थ भजाइरहेको छ । पहिले माओवादीले पनि पश्चिम पहाडको गरिबी र अभावसँग आफ्नो स्वार्थ भजाएका थिए । यसबाट माओवादीलाई त फाइदा भयो, तर जनताको अवस्था उस्तै दर्दनाक छ । आतंकवादी वा पृथकतावादी आउने भनेकै गरिबीमा हो । जापान, कोरिया वा साउदी अरबमा कुनै पनि नागरिकले पृथकतावादी कुरा मात्रै गरोस् त जनताले नै कुटेर मारिदिन्छन् । जनताबाट जोगियो भने सरकारले नै सिध्याइदिन्छ । अर्थात सम्पन्नतामा नागरिकमा यस्तो भावना विकसित हुँदैन । यसकारण तराईको समस्या सिके होइन, गरिबी हो ।

 

तराईका हरेक नागरिकको एक पक्की घर होस्, मासुभात खान सक्ने हैसियत होस । बिरामी हुँदा राज्यले उपचारको ग्यारेन्टी गरोस्, बालबालिकाले गुणस्तीय शिक्षा पाउन् । अघाएको पेटमा ठन्डा दिमागले सोच्ने दिन आओस्  । हरेक नागरिकलाई महशुस होस कि मलाई देशले यति दियो, मैले अब देशलाई के दिउँ ? 

 

(लेखिका विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका महासचिव हुन् )