कभर स्टोरी

अन्तरवार्ता

भिडियो

१०७ वटा बेवारिसे शवलाई दागबत्ती दिएका विनय भन्छन्, ‘लाश देख्दा माया लाग्छ !’  (भिडियाेसहित)

शुक्रबार, ०५ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

१०७ वटा बेवारिसे शवलाई दागबत्ती दिएका विनय भन्छन्, ‘लाश देख्दा माया लाग्छ !’  (भिडियाेसहित)

काठमाडौं । मानिसले महसुुस गरेजस्तो न कोही भाग्यमानी छ, न कोही अभागी नै । समाजसेवी तथा सञ्चारकर्मी विनय बस्नेतले जीवनबारे कहिल्यै  गहिरिएर सोचेनन् । आइपरेका परिस्थितिलाई सामना गर्दै गए । आफ्नै कारणले गर्दा घरपरिवार र श्रीमती उनीबाट टाढा भए । परिवारको नाममा कोही भएन । अचानक बुबाको मृत्युपछि भने उनको जीवनले नसोचेको मोड लियो । साथीको घर जान भनेर निस्किएका महालेखाका सचिवसमेत रहेका उनका बुबा श्यामप्रसाद बस्नेत दुई दिनसम्म घर फर्केनन् । पछि थाहा भयो कि, बाटोमा दुर्घटनामा परेका उनको शव शिक्षण अस्पतालमा बेवारिसे अवस्थामा राखिएको रहेछ ।


पढेलेखेको र त्यति उच्चस्तरको व्यक्तिको त्यसरी मृत्यु हुन्छ भनेर विनयको परिवारमा सायदै कसैले सोचेका थिएनन् । त्यतिबेला उनको दिमागमा एउटा झट्का प-यो, ‘यति पढेलेखेको मान्छेको त यस्तो विजोग अवस्थामा मृत्यु भयो भने यस्तो बेवारिसे अवस्थामा अझै कति शव होलान् ?’ शिक्षण अस्पतालमा बेवारिसे शवको चाङ देखेर उनी चकित भए । त्यही दिनबाट उनले निर्णय गरे, आफन्त पत्ता नलागेका, सडेका र कुहिएका बेवारिसे शवलाई दागबत्ती दिने ।

 

त्यतिबेला उनी दुव्र्यसनमा फसेका थिए । जाँडरक्सीको कुलतका कारण श्रीमतीसँग उनको बिछोड भइसकेको थियो । छोरीलाई पनि उनैले लिएर गएकी थिइन् । परिवारका सदस्य कोही साथमा नहुँदा विनय एक्लो भएका थिए । त्यही एक्लोपनामा नै उनी आफ्नो साहरा आफैँ बने र आफूजस्तै बेवारिसेको साहरा बन्ने अठोट लिए । 

 

यही जोश र जाँगरकासाथ उनले ‘बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र’ को स्थापना गरे । त्यसमार्फत उनले वृद्धवृद्धालाई आश्रय पनि दिँदै आएका छन् । यसका साथै उनले दुव्र्यसनीमा फसेकाहरूका लागि पुनस्र्थापना केन्द्र पनि चलाउँदै आएका छन् । उक्त संस्था स्थापना भएको र सामाजिक कार्यमा निरन्तर लाग्न थालेको ४ वर्ष भयो । यति गरेर उनलाई अझै पनि पुगेको छैन । सडकमा बस्ने बेवारिसे मानिसहरू देखेर उनको मन चिढिन्छ । त्यसैले अब परिवार गुमाएका, मानसिक असन्तुलन भएर सडकपेटीमा भौंतारिरहेकालाई सम्भव भएसम्म आश्रय दिने हेतुले ‘बाआमा घर’ भन्ने आश्रम खोल्दै छन् । त्यो पनि सबै एकल लगानीमा ।

 

पैतृक सम्पत्तिको नाममा रहेको जग्गा सहकारीमा धितो राखेर अहिलेसम्म उनले त्यहीँबाट र सानोतिनो अन्य ऋण लिएर सेवा गर्दै आएका थिए । अब भने काभ्रेमा २ आनाको जग्गामा ‘बाआमा’ घर स्थापना गर्नका लागि त्यो जग्गा बेच्नैपर्ने अवस्था आइसकेको बताउँछन् उनी । ‘काठमाडौं उपत्यकाका सबै मेयर बाटोमा हिँड्दा बेवारिसे देख्न नपाउने वातावरण बनाउँदै छु’, उनले भने ।

 

महालक्ष्मी नगरपालिका वडा नं ७ को चाँगाथलीमा बस्नेतकै ७ आना जग्गामा ‘बाआमा घर’ को शिलान्यास भइसकेको छ । यही तिहारपछि काभ्रेमा २ रोपनी जग्गामा करिब १ सय ५० जना जति अटने अर्को ‘बाआमा घर’ को पनि स्थापना गर्ने तयारी रहेको बस्नेतले जानकारी दिए । यी संस्थाहरू स्थापना गर्नुको कारण बताउँदै उनले भने, ‘विशेषगरी बाटोमा बेवारिसे भएकाहरूको नै मृत्यु भएर बेवारिसे शव हुने हो । बाटोमा चील र कौवाले खाने गरी कसैको मृत्यु नहोस् भन्ने सोचले बाआमा घरको स्थापना गर्न लागेको हुँ ।’

 

बस्नेतले अहिलेसम्म १ सय ७ वटा शवलाई दागबत्ती दिइसकेका छन् । सबै शवको अनुहार उनको मस्तिष्कमा अझै ताजा छ । अहिले पनि सबै बेवारिसे शवलाई उनले दागबत्ती दिइहाल्नन पाउँदैनन् कारण आर्थिक अभाव । कसैको ज्यान मोटो र कसैको ठूलो हुँदा घिउ, चिनी, दाउरा धेरै लाग्छ, यसो हुँदा कहिलेकाहीँ पैसा बढी लाग्छ । विपत् हुँदा पनि कसैसँग माग्ने आँट भने उनले अहिलेसम्म गरेका छैनन् । जसले जे जति सकेका छन् सहयोग गर्दै आएका छन् । यस्तो अवस्थामा उनलाई शवहरू अस्पतालमा कुहिएको अवस्थामा देख्दा निकै नरमाइलो लाग्छ ।

 

परिवारमा उनी अहिले एक्लै छन् । दुव्र्यसनमा फसेको समयमा श्रीमतीले छोडेर गइन् । उनी अहिले दुबईमा छन् र छोरी अस्ट्रेलियामा । छोरीलाई श्रीमतीले माइतमै राखेर पढाइन् । अहिले पनि जीवनमा एक असलबाबु र असल श्रीमान् बन्न नसकेको कारण उनको मनमा खड्किरहन्छ ।

 

नेपालजस्तो विभिन्न चाडपर्व मनाइने देश । चाडबाडमा परिवारको साथ र उपस्थितिले विनयलाई पनि सताउँछ । सुरुका दिनहरूमा त उनी दसैँमा घरमै लुकेर बस्थे । किनभने त्यतिबेला पैसा हुन्थेन् । कोही टीका लगाउन आइहाल्यो भने के गर्ने ? भन्नेबारे चिन्ता लिएर उनी लुक्थे । दुव्र्यसनमा फसेको कारण र एक्लो भएको कारण पनि दसँैको समयमा उनको घरमा कोही आउँदैन्थ्यो ।  आफ्नै कारणले गर्दा नै उनले श्रीमती र परिवारको साहरा गुमाए ।

 

तर अहिले परिस्थिति फेरिएको छ । यो श्रेय सबै उनले गर्ने समाजसेवाले नै दिएको हो । अहिले आश्रममा दसैँको समयमा उनकै हातबाट टीका लगाउनेहरूको लाइन लाग्छ । विनयले भाइ बुहारीबाट पनि साथ र माया पाउँदै आएका छन् । सहकारीमा जग्गा धितो राखेर समाजजेवा गर्नकै लागि ऋण लिने क्रममा पनि उनका भाइले नाइनास्ती गरेनन् । कारण, बस्नेतले समय र परिस्थितिसँगै आफूलाई बदल्न सफल भए र गुमेको मान र इज्जत फेरि फिर्ता पाए ।

 

तर, एउटा चिज अब उनले कहिल्यै नपाउने बताउँछन् उनी । ती हुन् श्रीमती । विगतमा श्रीमतीले कति सुधार्न खोज्दा पनि वास्ता नगरेकाले उनी अहिले निर्धक्कसाथ भन्छन्, ‘संसारकै बेस्ट थिइन् मेरी श्रीमती । उनले मलाई छोडेकोमा मैले अब पछुताउनुबाहेक अरू केही विकल्प छैन । किनभने उनको मनमा भएको मप्रतिको माया मैले नै मारेँ । जिन्दगीमा सबै चिज पाएँ तर श्रीमती गुमाएँ । अब कहिल्यै पनि पाउने छैन ।’

 

पशुपति आर्यघाटमा केही बेर बस्दा जीवनका हरेक पाटाबारे नजिकबाट बुझ््ने मौका पाइन्छ । जलिरहेका शव देखेर कतिलाई त जिन्दगीदेखि दिक्क पनि लाग्दो हो । तर हरेक दिन बेवारिसे शव देख्दा जिन्दगी देखेर कत्ति पनि दिक्क लाग्दैन बस्नेतलाई । उल्टो उनले भने, ‘कति मान्छेहरू शवदेखि डराउँछन् । घिन मान्छन् । तर मलाई शवको साँच्चै माया लागेर आउँछ । जब तिनका शरीर जलेर खरानी हुन्छ । बल्ल तिनीहरूको आत्माले शान्ति पायो भनेर म आनन्दित हुन्छु ।’

 

बस्नेतको लागि तीन बाल्टिन पानी जस्तै हो जीवन । बाँच्दै गयो, आफ्नो तरिकाले भोग्दै गयो र पानीजसरी समय पनि पोखिँदै जान्छ । जसले जीवनमा जे भोग्नु छ त्यसको बुद्धि समयमै नआउने उनको अनुभवले बताउँछ । भन्छन्, ‘तँ यसरी बाँच भनेर भगवान्ले पहिलै कर्म दिएका हुन्छन् । धर्म गर्नलाई कर्म लिएर आउनुपर्छ ।’

 

पशुपति आर्यघाटमा बेवारिसे शव जलाउने व्यक्ति बस्नेत एक्ला हुन् । उनीबाहेक कसैले पनि यो काम गर्दैन । तर पछि उनको अनुपस्थितिमा यो कार्यलाई कसले निरन्तरता दिने भन्नेबारे अझै टुंगो छैन । पत्रपत्रिकामा आएको बस्नेतको फोटो देखेर हामी पनि यो कार्यमा साथ दिन्छौं भनेर धेरैजना आए । तर, भनेजस्तो सजिलो कहाँ हुन्छ र ? उनीहरूले त्यो कामलाई निरन्तरता दिन सकेनन् । बस्तेन भन्छन्, ‘मैले त्यतिबेला टिममा मान्छे छान्न जानिनँ । समाजप्रति साँच्चै चिन्ता भएका, यस्तो कार्यमा अलि बढी समय दिन सक्ने मान्छेको खाँचो थियो ।’

(बस्नेतलाई उनको यात्रामा सहयोग गर्न चाहनेहरूले  ९८६५१०५०६० मा सम्पर्क गर्न सकिन्छ । यो उनीहरूको संस्थागत सम्पर्क नम्बर हो)