व्यापार

मुख्य समाचार

समाज

ट्यांकर चालकको आन्दोलन स्थगित भए पनि इन्धन अभाव जारी

शुक्रबार, ०५ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

ट्यांकर चालकको आन्दोलन स्थगित भए पनि इन्धन अभाव जारी

काठमाडौं । सवारीचालकहरूको आन्दोलनका कारण अभाव भएको पेट्रोलियम पदार्थको आपूर्ति शुक्रबारदेखि सुचारु हुने भएको छ । 
नेपाल स्वतन्त्र सवारीचालक संघर्ष समिति र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईबीच बिहीबार सिमरामा भएको वार्तापछि सवारीचालकहरूले तत्कालका लागि आन्दोलन स्थगित गर्ने र शुक्रबारदेखि सवारीसाधन चलाउने सहमति भएको छ । 


सवारीचालकहरूले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ का केही बुँदालाई लिएर असन्तोष जनाई इन्धन ढुवानी गर्ने ट्यांकर नचलाउँदा राजधानी काठमाडौंलगायत अन्य स्थानमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिएको हो । जसका कारण राजधानी काठमाडौंका पेट्रोल पम्पहरूमा इन्धन भर्ने सवारीसाधनको लामो लाइन लागेको थियो । 


पेट्रोलियम पदार्थ अत्यावश्यकीय सेवामा परेता पनि इन्धन ढुवानी गर्ने ट्यांकर नचलाउँदा प्रशासन मूक दर्शक बनेका थिए । यस्तै नेपाल आयल निगम पनि संकटापन्न अवस्थामा पर्नुबाहेक वैकल्पिक उपाय अपनाउन असफल भएका थिए । निगमले बिहीबार इन्धन ढुवानी गर्न सम्झौता गरेका ट्यांकर धनीसँग पेट्रोल ढुवानी नगरेमा सम्भmौता रद्द गर्ने सूचना प्रकाशित गर्नुबाहेक अन्य निष्क्रिय रहेको थियो ।

 
बारा जिल्लाको सिमरामा भएको सहमतिमा सवारीचालकहरूको मागका सम्बन्धमा काठमाडौंमा गई समस्या समाधान गर्ने भएको छ । यसका लागि मुलुकी अपराध (संहिता) ऐन २०७४ का केही बुँदालाई संशोधन गर्नुपर्ने हुन्छ । यो संशोधन संघीय सरकारको कार्य क्षेत्रभित्र पर्दछ । सवारीचालक संघर्ष समितिका केन्द्रीय अध्यक्ष वसन्त शर्माले कुनै पनि सरकारी निकायबाट ऐन संशोधन गर्ने पहल नगरिएमा पुनः आन्दोलन गर्ने बताए । 


निगमले काठमाडौंमा नियमित वितरण गर्ने जत्तिकै इन्धन आपूर्ति गरेको दाबी गरेतापनि निगमको थानकोटस्थित डिपोमा स्टकमा कमी आएको र शुक्रबारदेखि ढुवानी सुचारु भएमा आपूर्ति बढ्ने बताइएको छ ।