बिचार

मान, अपमान र भुक्तमानको पीडा

बुधबार, ०३ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

मान, अपमान र भुक्तमानको पीडा

एकपटक एक गरिब मानिस आफन्तीसंग गएर अनुनय विनय गर्दै दुखेसो पोख्यो– ‘हामी गरिबहरु कति अभागी छौं । हिजो म एउटा रेष्टुराँको अगाडि केहीबेर उभिएको थिएँ । यस्तैमा रेष्टुराँको मालिक आएर भन्यो– मैले उसको पकवानको बास्ना सुृँघेर धेरैबेर उभिएँ । त्यसैले अब मैले उसको पैसा दिनुपर्छ । अनि जसै मैले पैसा दिन अस्वीकार गरें, उसले मलाई समातेर काजीको कठघरामा पु¥यायो । आज मेरो पेशी छ । के तपाईं मेरो वकालत गरिदिनुहुन्छ ?’ 

 

‘अवश्य’ आफन्ती तुरुन्त राजी भयो र गरिबको साथ लागेर काजी कहाँ पुग्यो । रेष्टुराँको मालिक उनीहरुभन्दा पहिल्यै त्यहाँ पुगेर काजीसंँग गफ चुटिरहेको थियो । गरिब मानिस देख्नासाथ काजी उफ्रन थाल्यो– ‘रेष्टुराँको पकवानको बास्ना सुँघेर सडकमा पनि उभिने र पैसा माग्दा पनि दिन्न भन्ने तँलाई लाज लाग्दैन ? झिक तुरुन्त पैसा ।’ 

 

‘एकछिन पख्नोस् काजी साहेव !’ आफन्ती अघि सरेर काजीलाई भन्यो– ‘यिनी मेरा ठूल्दाजु हुन् । यिनीसँंग पैसा छैन् । म पैसा दिन्छु ।’ यति भनेर आफन्तीले आफ्नो खोकिलाबाट सिक्का राखेको थैलो झिक्यो र रेष्टुराँको मालिकको कानैमा पुर्‍याएर २,४ पटक हल्लायो र सोध्यो– ‘के तपाईं पैसाको छनछन आवाज सुनिरहनु भएको छ ?’ रेष्टुराँ मालिकले भन्यो– ‘एकदमै प्रष्टसँंग सुनिरहेको छु ।’ जवाफ भुईंमा नखस्दै आफन्तीले भने– ‘उसो भए ठीक छ । हिजो यिनले तपाईंको पकवानको बास्ना सुँघे । आज तपाईंले मेरो पैसाको छनछन आवाज सुन्नुभयो । अब हाम्रो हिसाव किताव बराबर भयो ।’ आफन्तीको जवाफले काजी तैं चुप मै चुप भए । 

 

भगवान प्रकट भएर छैठीमा ‘लौ तिमीहरुकोे भाग्यरेखा आफै लेख’ भनेर जन्मपत्री दिएको भए सम्भवतः समकालीन नेताहरुले हालको उपलब्धी सोचेका सम्म थिएनन । हदै भए एउटा प्राइमरी स्कुलको मास्टर बन्ने उनीहरुको सपना थियो ।  यस अर्थमा उनीहरुले  नसोचेको अवसर पाएका छन् । जसरी अति सर्वत्र वर्जयते भनिएको छ, त्यसरी नै उनीहरुले पाएको अवसर पनि मारुती गाडीमा टोयोटा गाडीको ईन्जिन फिट गरेजस्तो भएको छ । दृष्टिका लागि प्रकाश चाहिन्छ, तर झलल्ल लागेको सूर्यको डल्लोमा हेर्‍यो भने मानिसको दृष्टि गुम्छ । अति दानी हुँदा कर्ण महाभारतमा कुशल त देखिए त निर्णायक भएनन् । 

 

अति क्रोधी हुँदा पर्शुरामको कल्याण भएन । सुनरुपी मृगको तृष्णाले सीता जस्ती विवेकी नारीले नसोचेको दुख झेल्नु पर्‍यो । धनी गरीब दुवैको समान कल्याण गर्छु भन्दा महात्मा गान्धीको राजनीति सफल भएन । गोली हानेर मारियो । मन सामुद्रिक लहरभन्दा तीब्र गतिमा कुद्छ  । मानिस एकछिनमा अमेरिका पुग्छ । तर अमेरिका जान पासर्पाेर्ट, भीसा, टिकट चाहिन्छ भन्ने विवेकले खुट्याउँछ । देश विकास गर्नुपर्छ भन्ने छिपछिपे कुरा भयो । कसरी गर्नुपर्छ ? हो, यहाँ विवेक अगाडि आउँछ । सम्भवतः कर्तव्यभन्दा रहर पहिला जन्मिदा आफन्तीको कथा र नेपाल सरकारका निर्णय उस्तै हुने गरेका छन् । 

 

 

नेपालको राजनीतिमा भएका अनपेक्षित प्रयोगहरुको श्रृंखलाले अमूक पात्रहरुलाई मुखिया बनायो । मौसमी राजनीतिको प्रवक्ता बन्दाको पीडा र संवेग राजनीतिमा उत्तिक्कै छ । गोता र ठक्करका थुप्रै टुटुल्को उठेकाहरु सिंहदबारका सारथी हुँदा पनि सिंहदरबार विश्वासको केन्द्र बन्न सकेको छैन् । बरु झन्झन् सिंहदरबार हुत्ति विनाको स्याल दरबार हुँदै अहिले दलालहरुको खेलखोर बन्दैछ । कलकलाउँदो पूmलको मालासंगै स्वार्थका झुसिलकिरा लिएर सिंहदरबार पस्नेहरुको झुण्डबाट गिरिजाप्रसाद देखि पुष्पकमल दाहाल हुँदै केपीसम्म रंगहीन, ढंगहीन हुन पुगे ।

 

 

 अाफूले भनेको नमानेको झोंकमा सचिव, सहसचिवसम्मलाई ‘कू’ गर्न पछि नपरेका बाघ गिरिजाप्रसाद अदालतको वैशाखी टेकेर आएका तिनै कर्मचारीको बाख्रे घेराउमा परेर देउरालीको ढुंगोमा सीमित भएको विगत सवैका अघिल्तिर किलकिले सम्म बसेकै छ । कर्मचारी थर्काएर हैन, फकाएर काम लिने शक्ति हो भन्ने थोरै विवेक राख्न नसक्दा राजनीतिक परिवर्तनलाई न हाँस न बकुल्लो बनाउनमा तिनै शक्तिको लाहा छाप देखियो । बालुवा पेलेर तेल निकाल्ने सरहको पसिना बगाएर नेपालबाट गएका खाडी मजदुरहरुले आफ्ना सन्तानलाई आइफोन संस्कृतिमा पुर्‍याएका छन् । 

 

सूचना प्रविधिको पहुँच दुरदराजसम्म पुगेको छ । तर आइ नाइन बोकेका कर्मचारीहरु उडुस, उपियाँ र साङ्ला लुकेको फाइलभित्र प्रतिष्ठा खोजेर कहिल्यै पार नपाउने चक्रव्यूहमा फसेका छन् । समस्यालाई समाधान हैन, समस्याको दृष्टिले हेर्ने मनोविज्ञानका कारण कर्मचारी संयन्त्र बुझेर भेउ नपाउने कठिन महाजाल भएको छ । हरेक टेबलमा फाइलको प्रवेशसंगै नमस्तेका किस्ती टक्र्याउनुपर्ने बेथितिले कहिल्यै विश्राम पाउने भएन् । सदाचार, हार्दिकता, शिष्टाचार र सम्मान शासनभित्र समाहित भएन् । बरु कर्मचारी कर्मचारीबीच अंश मुद्दा नमिलेको दाजुभाइ जस्तो अवस्था सिर्जना भयो ।

 

लोकसेवाको एउटै कोर्स पढेर राष्ट्रसेवक बनेका भन्सार र भूमिसुधारका कर्मचारीबीच भेदभावपूर्ण खाडल स्वयं राज्यले खन्यो । वास्तुशास्त्रको निर्देशनमा ओल्लो भित्तो र पल्लो भित्तोलाई क्षितिज बनाएर वर्षौंसम्म १०–५ को निरस र पट्यारलाग्दो जीवनमा सृजना नआउनु अस्वाभाविक पनि होइन । सानो पदमा हुँदा खेपेको अत्यास र पीडा ठूलो पदमा पुगेपछि प्रतिशोधमा रुपान्तर हुनु नै अहिले कर्मचारीतन्त्रमा पन्पिएको सर्वा्धिक खतरनाक प्रवृत्ति हो । 

 

कर्मचारीको बीउ चाकरीतन्त्रबाट शुरु भएको हो । पुस्तैनी चाकरीमा जुटेको परिवारभित्रको पाँच पासेलाई न्यायाधीश बनाइदिने तर निर्धो,सहाराविहीन पढलेखेकालाई विचारीमा थन्क्याइदिने राणालीन तदर्थवादको ऐंजेरु छिमल्ने प्रयास कसैले गरेन् । अयोग्यहरुको भीडमा योग्यहरु हराउँदै गए । पदीय कर्मभन्दा पनि ठूलाहरुलाई रिझाउने विशेष योग्यता भएकाहरुको पहुँच दिन दुईगुना रात चारगुनाका दरले बढ्यो । समस्याको गाँठो फुकाउने विन्दुमा सवै निरपेक्ष रहँदै आए । वर्तमान सरकारको जमिन पनि यसैमा अडेको छ । हिजो आपूmले पाएको पीडा पुस्तान्तरण नहोस् भन्नेमा सचेत हुनु नै सरकारका सारथीहरुको विजय हो । त्यसैले इतिहासको अभिसप्त पानाहरुबाट पाठ सिकेर फुकी फुकी पाइला चाल्नु जरुरी छ । घरको छानोमै बसेपनि कागले कोइलीको मर्यादा नपाएजस्तै सत्तामा पुगेर चर्चा बटुलिएला तर लोकप्रियता हासिल हुन सक्दैन् । 

 

राजनीतिमा विज्ञता सधैं फापसिद्ध नहुन सक्छ । त्यसैले कहिलेकाहीँ देश हितमा सरकारमा पुगेका मन्त्रीहरुले आफ्नो विगत विर्सिएर सकारात्मक मुख्र्याइँ गर्नु पनि वाञ्छनीय हुन्छ । पृथ्वीनारायण शाहले योग्य मानिसलाई उचित पदमा राखे । न्यायलाई जनताको अधिकारका रुपमा स्थापित गराए । राज ज्योतिष कुलानन्द ढकालदेखि विज्ञ, विद्वान, सुरवीर मात्र हैन, बिसे नगर्चीलाई पनि साथ लिएर हिँडे । जसको फलस्वरुप गोर्खामा जन्मिएका पृथ्वीनारायण शाह मुलुकको आधिपत्य जमाएर ५२ वर्षको उमेरमा त देहत्याग गरे । 

 

उनका भाइ बहादुर शाहको निर्मम हत्यापछि लक्ष्मीपति पाँडेजस्ता विद्वान निकालिए । दामोदर पाँडेजस्ता सुरवीर, लक्ष्मीरमण दीननाथ उपाध्याय जस्ता चतुर वकिललाई अपमानित गरियो । आलाकाँचा मान्छेलाई प्रतिष्ठित पदमा पुर्‍याइयो । सोझोलाई बांगो र सेतोलाई कालो भन्नेहरु राजनीतिको चुलो चौकोमा स्थापित भए । जंगबहादुरले एकचोटी भनेका थिए– ‘मैले के गरेको छु र मावलीले बनाएको व्यवस्थालाई चलाएर बसेको छु ।’ राज्यका पिलरहरु कहिल्यै मजबुत भएनन् । हुक्के, ढोके, चण्ड, मुण्ड, नन्दी, भृंगीहरुको नियन्त्रणबाट मुलुकले कहिल्यै त्राण पाएन् । गल्ती सच्याउने होइन दोहोर्‍याउने, तेहर्‍याउने तर्फ शासकहरुको इच्छा बढ्दै गयो । 

 

भिमसेन थापाका पालाका कवि सुन्दरानन्द बाँडाले राजाका भारदार दुनियाँ पनि गाँजा तान्ने गँजडी जुवाडे थिए भनेर लेखेका छन् । उनी भन्छन्– ‘खेल्छन् रात्दीन जूवा कति कति विजया (गाँजा) फुक्तछन् कोही रुन्छन् । निःशंकै बात हाक्छन् कति अति खुशि छन् कोही रात्दिन घोरिन्छन् । ऐलेका भारदार दुनियाँसमेत रातबिरात जूवा खेलनामा लाग्याका छन् कोही गाँजा लि खान्छन् , गाँजाले मातियाका भारदारले क्या सहि राख्दछन् , कोहि बक्सिस भया पनि वस्तु पाउँदैनन, कोहि सन्दुक भरी राख्दछन् ।’ 

 

प्रकृतिमा निर्विल्प प्रकृति मात्र हो । हामीले मान्दै आएको मृत्युलाई पनि कतिपयले अन्तिम होइन भनेर व्याख्या गर्न थालेका छन् । उनीहरुको तर्क छ– अक्टोपसले शंखेकिरा खान्छ । तर शंखेकिराले पेटमा पार्नुअघि नै अक्टोपसले अाफूलाई हड्डीको खोलभित्र हालेर सुरक्षित गरिसकेको हुन्छ । जब शंखेकिरा अक्टोपसको पेटमा पुग्छ तब खोलबाट निस्कने शंखेकिराले अक्टोपसलाई सिध्याउँछ । अन्तिममा अक्टोपस मर्छ । तर शंखेकिरा जस्ताको तस्तै । हाम्रो सन्दर्भमा राजनीतिक परिवर्तन पनि त्यस्तै भएको छ । घटनाक्रम जे सुकै होस् तर प्रकारान्तरमा पञ्चायती राजनीति अर्थात राजसंस्थाका अनुचरहरु नै अरुभन्दा सुकिला देखिदै आएको परिस्थिति छ । गणतन्त्र नामको गोलचक्करले जितेर हार्नुपर्ने अनौठो चक्रव्यूह खडा गरेको छ । देशभित्रै जनता शरणार्थी बनेका छन् । विवेकका आँखा दिनदहाडै बन्द भएका छन् । गणतन्त्रका मसिहा पुष्पकमल दाहालले अाफूलाई पृथ्वीनारायण शाहसंग तुलना गर्नु अनि श्रीपेचभित्र बसेर भाग्यरेखा कोरेका लोकमानसिंह राजहाँसमा स्थापित हुनुको रहस्य अहिले समयलाई छाडिदिनु उचित होला । 

 

छाडातन्त्रको पराकाष्टा इतिहासका पानामा प्रशस्त भेटिन्छ । राजेन्द्र विक्रमको पालामा दरबारको अवस्था भाँडिएको थियो । दरबारका केटीहरु धाई सुसारेहरु पनि कसैको अदब नमानी छाडा भएर हिँड्थे । महारानीले जे भन्यो सोही हुने हुँदा भारदारहरुले द्वारे केटीहरु राखेर गुजरान गरेका थिए भनी रामभक्तले लेखेका छन् । अरु भारदार त यस्ता थिए भने स्वयं माथवरलाई अर्काकी युवती विधवा राखेको बात लागेको थियो । स्वयं महारानी पनि गगनसिंहसंग बसेकी छन् भन्ने चर्चा चलेको थियो । एकदिन एउटी सुसारे केटीले आफना प्रेमीको लागि एउटा सरकारी जंगी पद दिलाउने आदेश गराइछन् । केटीको स्वार्थ पूरा गर्न निर्दोषको पद खोसियो । यस कुराको विरोध देवीबहादुर कुँवरले गरे । उनी पनि महारानीका एक द्वारे केटीसंँग फसेकाले उसबाट उनले महारानी र गगनसिंह बीचका अनुचित सम्बन्धका सम्पूर्ण गुप्त कुरा सुनिराखेका थिए । अन्यायको कुराले रुष्ट उसले यही झोंकमा महारानीको रहस्य सार्वजनिक गरिदिए । यही अभियोगमा उनी काटिए । 

 

मरेर कहाँ पुगिन्छ ? स्वर्ग, नर्क हुन्छ कि हुँदैन ? त्यो त कसैलाई थाहा छैन् । तर अनुचित कर्म गर्नेहरु नमरी यहीँ दिउँसै तारा देख्ने अवस्थामा पुग्छन् । जप, तप र पवित्र आत्माले नै मानिस मुक्तिको भागिदार बन्न सक्छ । 

 

 

 

जसरी अति सर्वत्र वर्जयते भनिएको छ, त्यसरी नै उनीहरुले पाएको अवसर पनि मारुती गाडीमा टोयोटा गाडीको ईन्जिन फिट गरेजस्तो भएको छ । दृष्टिका लागि प्रकाश चाहिन्छ, तर झलल्ल लागेको सूर्यको डल्लोमा हेर्‍यो भने मानिसको दृष्टि गुम्छ । अति दानी हुँदा कर्ण महाभारतमा कुशल त देखिए त निर्णायक भएनन् । अति क्रोधी हुँदा पर्शुरामको कल्याण भएन । सुनरुपी मृगको तृष्णाले सीता जस्ती विवेकी नारीले नसोचेको दुख झेल्नु पर्‍यो । धनी गरीब दुवैको समान कल्याण गर्छु भन्दा महात्मा गान्धीको राजनीति सफल भएन । गोली हानेर मारियो । मन सामुद्रिक लहरभन्दा तीब्र गतिमा कुद्छ  । मानिस एकछिनमा अमेरिका पुग्छ । तर अमेरिका जान पासर्पाेर्ट, भीसा, टिकट चाहिन्छ भन्ने विवेकले खुट्याउँछ । देश विकास गर्नुपर्छ भन्ने छिपछिपे कुरा भयो । कसरी गर्नुपर्छ ? हो, यहाँ विवेक अगाडि आउँछ । सम्भवतः कर्तव्यभन्दा रहर पहिला जन्मिदा आफन्तीको कथा र नेपाल सरकारका निर्णय उस्तै हुने गरेका छन् ।