बिचार

सामन्ती भनेर राजा फाल्ने क्रान्तिकारीहरूको क्या गजबको शैली !

शनिबार, १६ भदौ २०७५ गते प्रकाशित
- प्रताव ओली

सामन्ती भनेर राजा फाल्ने क्रान्तिकारीहरूको क्या गजबको शैली !

शिरफूलका स्वप्न विम्बहरू
एक तमासले पड्किरहेछन्
पट...पट...पट...पट...पट...
त्यही विम्बहरूबाट बाँकी बक्यौता
गतिशील पाइलाहरूमा अनवरत
यो परजीवि समय र मनफूलहरू
एक नूतन किरण पछ्याइरहेछ ।

 

यी कविता हरफसँगै रमेश कँडेल भन्छन्, ‘समय परजीवि मानेको छु । हामी नेताको मुख ताक्ने र नेताहरू हामीलाई चुस्ने बीच पनि नयाँ समयको परिकल्पना गर्दैछौँ । हामी केही नगरेर पनि केही गर्न अग्रसर छौँ । तर पनि हामी र हाम्रो सामाजिक संरचना जसरी पनि एकले अर्कोलाई मारेर अघिबढ्ने हिसाबले चलेको छ ।’

 

साँच्चै नेपालका नेता, कर्मचारी र व्यापारीहरू पनि देश र जनताको रगत चुसेर बाँचिरहेका छन् । यो देखेर मलाई ग्लानी बोध हुन्छ ।

 

‘अथिति देवो भवः’ भन्छन् । माथिको तस्बिरमा जे देखियो अथितिभन्दा आफ्नै देशका मन्त्री भगवान् देखिए । यसबाट प्रष्ट हुन्छ, नेपाली राजनीति उल्टो मानसिकताले चलिरहेको छ । अरूको अगाडि जनमुखी छौँ है भनेर हाम्रा मन्त्रीहरू प्रस्तुत हुन सकेनन् । के हाम्रा नेताले छाता आफैँले ओढ्दैमा अपमान होला र ? 

 

 

उता डेनमार्कका लार्स लोके रसमुसेनले फ्रान्सेली राष्ट्रपति इमानुल माक्रोंलाई साइकलमा राजधानी कोपनहेगन भ्रमण गराए । यो एक गतिलो उदारण हुनसक्छ नेपाली नेताहरूलाई । 

देशमा यति धेरै भ्रष्टाचारका ठूला–ठूला काण्डहरू भइरहेका छन्, तर ती कुनै काण्डको छानबिन नै हुँदैन । सक्कली भ्याटवालाहरूलाई राजस्व छुट दिइन्छ, नक्कली भ्याटवालाहरूलाई कारवाही गर्नै पथ्र्यो, कारबाही नै हुँदैन । राज्यले ती काण्डहरूलाई लुकाउँछ, ढाकछोप गर्छ । दिन दिनै बलात्कार, हत्या भइरहन्छन् तैं चुप मैं चुप गर्छन् ।  राज्य नै अपराधमा लागेपछि के सुशासन भन्ने ? के लोकतन्त्र मान्ने ? 

 

सरकारसँग जवाफ छैन । नेपालको यो संसद् हो कि रमाइलो मेला ? जनताको काँधलाई भ-याङ बनाएर माथि पुग्ने फेरि जनताकै ढाड सेक्ने प्रयास गर्ने नेताहरूमा आफ्नो भरणपोषणबाहेक देश परिवर्तनको कुनै  योजना नै नभएको देखिन्छ ।

 

लुगा फेरेझैँ फेर्दा पनि सरकार देखिँदैन् । सरकार सेवाग्राहीले पाउनैपर्ने सेवामा देखिनुपर्ने हो, समाजको कानुनव्यवस्था र जनताको जीवनमा सरकार झल्किनुपर्ने हो । सरकार कतै पनि देखिँदैन् । सरकार सिंहदरबारको घेराबन्दीबाट बाहिर निस्कनै सक्दैन ।

 

सरकारको काम सिंहदरबारको पाले हुनु होइन । सरकार त राष्ट्रिय जीवनमा, राष्ट्रियतामा र स्वाधीनताको रक्षामा देखिनुपर्ने हो । सरकार त विदेशीको चलखेल, विदेशीको चाकरी र विदेशीका सामु लम्पसार परेको पो देखिन्छ ।

 

आफ्ना समस्याको गुनासो विदेशीलाई गर्ने, विदेशीको सहजता खोज्ने र विदेशीले आफ्ना देशका पार्टी नेताहरूलाई सम्झाइदिए सजिलो हुन्थ्यो भनेर उपाय खोज्नेहरू यथार्थमा परजीवि हुन्, नालायक हुन् । तिनलाई राजनीतिक शक्ति मान्नु गल्ती हुनेछ ।

 

किनभने राजनीतिक शक्तिले आफ्ना समस्या आफैँ मिलाउने र आफ्ना देशको मार्ग आफैँ पहिल्याएर चल्ने चलाउने ल्याकत राख्छन् । हाम्रा नेताहरूमा त्यस्तो ल्याकत मात्र होइन, ताकत पनि देखिएन ।

 

यी नेपालका नेता त हुन् तर विदेशीका तलुवाचाटका रूपमा प्रष्टिए । कुनै पनि हालतमा नेपाली मतदाता, मतादेशले यी नेताहरू त्यतिज्यादा विदेशभक्त हुनेछन् भन्ने विश्वास गरेका थिएनन् । तर हाम्रा नेताहरूले जनतालाई समेत लज्जित पारिदिए ।

 

हिम्मत छ भने राजनीतिक दलहरूले आपसी छलफल गरुन्, राष्ट्रिय समस्याका विषयमा चिन्तन मनन गरुन्, जनताका अपेक्षा र आकांक्षा पहिल्याउँन र देशभरका आपराधिक घटनापछिको जनमानसको मानसिकता बुझेर सहमति र निकास खोजुन् ।

 

अझै पनि पूर्वाग्रह र विभेदको कालोमन बोकेर देश हाँक्दा दुर्भाग्यमात्र हात लाग्नेछ । त्यसै पनि परिवर्तन पछिको १२ वर्ष खेर गइसक्यो, अझै लोकतन्त्रलाई कति प्रयोगशाला बनाइरहने ।

 

लोकतन्त्र संस्थागत गर्न विदेशीमन होइन, स्वदेशी बन्न जरुरी छ । जुनदिन राजनीतिक दलहरू स्वदेशी बन्छन् र स्वाधीन भन्छन्, लोकतन्त्र यसरी अलमल रसलमलमा पर्नेछैन ।