बिचार

किसानको शोषण व्यापारीको पोषण

–पूर्ण ओली

शनिबार, ३० भदौ २०७५ गते प्रकाशित
- नेपाल आज

किसानको शोषण व्यापारीको पोषण

पञ्चायती व्यवस्थामा नेपालको खाद्यान्न, र जुट निर्यात हुन्थ्यो । त्यतिखेर पनि किसानको हातमा भइन्जेल कृषकको उत्पादनको भाउ सारै कम हुन्थ्यो । जब सबै कृषकका उत्पादन व्यापारीको हातमा पुगेपछि सामानका भाउ ह्वात्तै बढाइन्थ्यो । एकपटक पाटाको भाउ यति कम भयो कि किसानले एक मन पाटा बेचेर एक किलो चिनी किन्नुपर्ने वाध्यतासम्म भयो । किसानको त्यो चरम शोषण भएपछि झापाको दमकमा एकजना किसानले आफूले लगेको सनपाटमा आगो लगाएर आन्दोलन सुरु गरे । आन्दोलन बढ्दै गएपछि भारतीय मूलका व्यापारी भागेर सीमा पारिपट्टि सिलगढीतिर लागे । त्यसले गर्दा सरकारले सनपाटको भाउ बढाउन वाध्य भएको थियो । अहिलेका दलाल व्यापारीले किसानबाट सामान लिइसकेपछि  भाउ अत्यधिक महँगो पार्ने चलन यथावत् छ । किसानले सरकारबाट प्रचार भए जसरी राहत पाएका छैनन् । त्यतिखेर युरिया मलको त्यति चलन थिएन । गाईगोरुको मलपनि प्रसस्तै हुन्थ्यो । जब युरिया मलको प्रचलन आयो सुरुमा रामै्र उत्पादन भयो । पछि गएर कमिसनको खेल सुरु भएपछि मल समयमा नपाएर किसानहरू समस्यामा परेका छन् । 

 

 

एकजना कृषि सामग्री संस्थानका पूर्वअधिकृतको भनाइअनुसार जहिले पनि मलको हाहाकार पारिन्छ र अन्तिम बेलामा बिनाटेन्डर विदेशबाट मल खरिद गरिन्छ, जसमा करोडौंको कमिसनको खेल हुन्छ । यसमा कृषि मन्त्रालयका वरिष्ठहरू पनि संलग्न भएर सचिव, मन्त्रीसम्मलाई मिलाइएको हुन्छ । त्यही भएर जब नेपालमा कृषकहरूका लागि अत्यावश्यकीय मल कारखाना खोल्ने कुरा सुरु हुन्छ तब त्यसकाविरुद्ध लबिङ गरिन्छ, जसमा मल कारखाना बनाउन महँगो पर्ने अनि बिजुली पुग्दैन भनी समस्यामात्र देखाइन्छ । जबकि नेपालले वार्षिक ६ अर्बभन्दा बढीको मल खरिद गरिरहेको हुन्छ । त्यो पनि किसानले कहिलेपनि समयमा पाउँदैन् । कहिलेकाहीँ हप्तौ दिनसम्म लाइन बसेर पनि १ बोरा मल नपाएका गुनासाहरू सञ्चारमाध्यममा आइरहन्छन् ।

 

 

किसानका पक्षमा सुरु भएको झापा आन्दोलनबाट नेता भएका व्यक्तिको नेतृत्व लिएको सरकारले पनि किसानका समस्या बुझेर कारबाही गर्न सकेको छैन । अर्कोतर्फ उखु किसानको पनि त्यही हालत छ । ऋण लिएर मल बिउ खरिद गरी उखु लगाइन्छ अनि उत्पादन भएपछि उखु मिलहरूले उखु खरिद गर्दैनन् । खरिद गरेपनि सस्तोमा त्यो पनि उधारोमा दिनुपर्छ । त्यसपछि किसानलाई भुक्तानी दिन भनी चिनीको भाऊ बढाइन्छ तैपनि किसानले आफ्नो रकम पाउँदैनन् । अब त व्यापारीले बाहिरको चिनी आयात रोक्न लगाइसके । यसपछि चाडपर्वको बेलामा झनै भाऊ बढ्नेछ । यसरी सरकारले व्यापारीका सबै मागहरू पूरा गर्न कुनै समय लगाउँदैन् तर किसानका वर्षांैदेखिका वास्तविक समस्या कहिलेपनि पूरा गरिँदैन् । किनकि गरीब किसानले दलहरूलाई चन्दा दिएर गुण लाएको हुँदैन । जबसम्म दल र कर्मचारी व्यापारीका हितमा मात्र केन्द्रित हुन्छन् तर कृषि उत्पादन गर्न अत्यावश्यक पर्ने पानी, मल, बिउको सहज उपलब्ध गराउँदै  प्रोत्साहन गर्दैन तबसम्म हामी कृषि उत्पादनमा परनिर्भर भइरहन्छाैं ।

 

 
सिँचाइका व्यवस्था नभएर जहिले पनि खेतवारीमा वर्षाको पानीमा भर पर्नुपर्छ । पहाडदेखि तराईसम्म अझैपनि लाखाैं बिघा जमिन बाँझा रहेका छन् । त्यही भएर युवा शक्ति विदेसिएका छन् । यदि सरकारले प्रत्येक नेपालीका घरमा खानेपानी  र खेतवारीमा सिँचाइको राम्रो प्रबन्ध गरी मल तथा बिउ उपलब्ध गराइदिएर कृषकको उत्पादनको सही मूल्य दिने व्यवस्था गरे कृषकले आफँै बजार खोज्ने थिए ।  यति हुनासाथ विदेसिएका युवाहरू स्वदेशमा रोजगारी गर्न सक्छन् । भाषण र नारामा विदेसिएका युवाहरू स्वदेश फर्क मात्र भन्ने तर उनीहरूलाई कार्यक्रम दिन नसक्ने भएपछि कसरी विदेसिएका युवाहरू स्वदेश फर्कन्छन् । व्यवहारमा दलाल पुँजीपति व्यापारीका लागि मात्र पक्षपोषण गरिरहेको सरकारले अब वास्तविक किसानका समस्यालाई बुझेर  किसानका हितमा हिम्मतसाथ  निर्णय गर्दै कार्यान्वयन गरोस् अनि मात्र हाम्रा कर्मठ युवाहरू देश विकासमा अग्रसर हुनेछन् ।  

 [email protected]      

 चाबहिल सरस्वतीनगर काठमाण्डौ