बिचार

भारतले यसरी निल्यो नेपालजस्तै स्वतन्त्र देश सिक्किमलाई 

–लेखनाथ न्याैपाने

शनिबार, ३० भदौ २०७५ गते प्रकाशित
- नेपाल आज

भारतले यसरी निल्यो नेपालजस्तै स्वतन्त्र देश सिक्किमलाई 

हिमालय पर्वत शृङखलामा रहेको स्वतन्त्र  देश सिक्किमको अस्तित्व कसरी मेटियो ? भन्ने नकारात्मक घट्ना नै सिक्किमीकरण हो ।

 

—सन् १६४१ बाट सिक्किमको आधृुनिक इतिहासको प्रारम्भ भएको थियो  । सन् १७०० ताका भुटानले सिक्किमका राजा छ्योक्दारको दरबारमा आक्रमण गरे र ८ वर्षसम्म अधिनमा लिए । यता नेपाल र सिक्किमको बीचमा पनि लडाई भइरहे । यस क्रममा सिमा कहिले गान्तोक पेग्ने त कहिले तमोर नदीसम्म आईपुग्ने भयो । यसै सन्दर्भमा नेपालीहरु ठूलो सङ्ख्यामा सिक्किम बस्न थाले र त्यहाँ बहुसङ्ख्या नेपाली भए । 

 

—राजतन्त्रबिरुद्ध लड्न सिक्किममा पहिलो राजनीतिक पार्टी सन् १९४० नोभेम्बरमा गठन भयो । त्यसपछि राजनीतिक पार्टीहरु खुल्दै गए । १९४७ मा विभिन्न पार्टी मिलेर सिक्किम स्टेट काङ्ग्रेस नामको पार्टी बन्यो । यो पार्टीको सिधा सम्पर्क भारतीय काङ्ग्रेसका नेताहरुसँग हुन्थ्यो । दार्जिलिङ सिक्किमलाई फिर्ता गर्नुपर्छ र सिङ्गै सिक्किम भारतमा मिसाउनु पर्छ भन्ने विवाद बढ्दै गर्दा राजकुमार पाल्देन थेण्डुपले १९४८ मा सिक्किम राष्ट्रिय पार्टी खाले । उनले सिक्किम भारतको अङ्ग हुनसक्ने घोषण गरे तर स्टेट काङ्ग्रेसले सिक्किम अविलम्ब भारतमा विलय गर्ने उद्घोषणसहित आन्दोलन सुरु गर्यो । परिणाम स्टेट काङ्ग्रेसका नेता टाँसी छिरिङको नेतृत्वमा मन्त्रिमण्डल बन्यो । राजा र मन्त्रीबीचमा खुलेआम अन्तरविरोध सार्वजनिक भयो , यसले सिक्किममा भारतीय उपनिवेश कायम गर्न वातावरण बन्यो । सिक्किम अस्तव्यस्त भएको निष्कर्षसहित भारतीय सैनिक १९४९ जुन २ मा गान्तोक पुग्यो । भारतीय राजदुत हरिशङकर दयालले सिक्किमको सम्पूर्ण प्रसारण आफूले हातमा लिएको घोषणा गरे । 

 

—सन् १९५३ मा स्टेट काउन्सिलको चुनाब भयो । चुनावमा ६ सिट स्टेट काङग्रेसले , ६ सिट नेसनल पार्टीले जिते भने ५ जना राजाले मनोनित गरेर  स्टेट काउन्सिल १७ सदस्यीय बन्यो । चुनावपछि स्टेट काउन्सिलमा विवाद हँुदा टासीलाई हटाएर काजी लेण्डुप दोर्जे पार्टी अध्यक्ष बने । 

 

—सिक्किमका अन्तिम राजा पाल्देन थेन्डुपले सन् १९६३ मा अमेरिकी महिला होपकुकासित विवाह गरे । कूटनीतिमा प्रखर ती महिला रानी बनेपछि भारतीय हस्तक्षेपविरुद्ध र स्वतन्त्र सिक्किमको पक्षमा अभियान चलाईन् साथै दार्जिलिङ सिक्किमको अभिन्न अङ्ग भएको दाबी गर्न थालिन् । उनले विद्यालयको पाठ्यक्र नयाँ बनाएर  सिक्किमको ऐतिहासिकता र मौलिकतामा जोड दिँदै भारतीयहरु दुष्ट र शोषक भएको कुरा समेत सामेल गरिन् ।

लेखक लेखनाथ न्याैपाने
लेखक लेखनाथ न्याैपाने 

—उता भारतमा सन् १९६७ को चुनावपछि इन्दिरा गान्धीको प्रभाव निकै बढ्यो । उनका पिता जवाहरलाल नेहरुको नेहरु डक्ट्रिनअनुरुप इन्दिराले १९६८ मा गान्तोक भ्रमण गरिन् । सिक्किम भारतको संरक्षित राज्यको ठाउँमा स्थायी संघ राख्ने प्रस्ताव राखिन् । सिक्किम भारतको अरु राज्यसरह हो भन्ने सन्देश दिने काम गरिन् । यहि विषयमा १९६७—१९७२ सम्म विविध ढङ्गले कोसिस जारि राख्दा पनि सिक्किमलाई संघमा गाभ्न सफल भईनन् । सन् १९७२ को चुनावमा इन्दिराले भारतीय संसदमा बहुमद ल्याएपछि सिक्क्मिमाथिको हस्तक्षेप तीव्र र निर्णायक बन्यो । 

 

—सिक्किम लिनका लागि काजी लेण्डुपलाई प्रयोग गर्ने उद्देश्यले ‘र’ का प्रतिनिधि ल्हसेरिङमार्फत आएकी बेल्जियमकी सुन्दरी एलिजा मारियासँग काजीको विवाह गराईयो । निकै चतुर र महत्वाकाङ्क्षी एलिजालाई भारतीय डिजाइनमा सिक्किमको प्रथम महिला बनाउने योजना बन्यो । सन् १९७३ मा भएको स्टेट काउन्सिलको चुनावमा धाँधलीको विवाद झिकियो जुन  ‘र’ को योजनामुताविक थियो । मत गणना बहिष्कार गरेको स्टेट काङ्ग्रेससहित पार्टीहरु बीचमा संयुक्त कार्यदल बन्यो जसको अध्यक्षमा लेण्डुप दोर्जे र महासचिवमा एसके राई बने । कार्यदलले पुनः मतदानको माग गर्यो । यसको सुनुवाइ  नभएपछि आन्दोलनको नाटक रचियो । 

 

—आन्दोलन प्रहरी चौकीहरु कब्जा ,तोडफोड ,आगजनी र लुटपाटसम्म पुग्यो । यसैबीचमा दोर्जेले भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई सिक्किममाथि आक्रमण गर्न माग गर्दै पत्र लेखे । यसैको परिणाम भारतले विदेश विभागका कर्मचारी अवतरसिंहलाई सिक्किम पठायो । उनले सिक्किमको स्थितिलाई नियन्त्रणमा लिन भारतले हस्तक्षेप गर्नुपर्छ भन्ने पत्रमा लेण्डुप दोर्जेलगायत नेतालाई सहि गराए । त्यसपछि सिक्किका प्रहरीलाई निःशस्त्र पारेर आन्दोलन र भारतीय सेनाको घेरामा राजालाई उभ्याइयो । स्थिति सामान्य भएपछि शासन फिर्ता गर्ने शर्तमा सिक्किमको सम्पूर्ण प्रशासनको जिम्मा भारतलाई दिनुपर्ने बेहोराको पत्रमा राजाई सही गर्न बाध्य पारियो । त्यसलगत्तै सिक्किमको सम्पूर्ण प्रशासनिक नेतृत्व उत्तरप्रदेशका पूर्वप्रहरी नायव महानिरीक्षक विएस दासले सम्हाले । 

 

—सन् १९७३ मे  ८ को सम्झौताअनुसार १९७४ अप्रिल १५ मा संविधानसभा चुनाव भयो ।  ३२ सिट तय भएको चुनावमा ३० स्थान भारत सम्मिलित लेण्डुप दोर्जे नेतृत्वको सिक्किम नेसनल काङ्ग्रेसले जित्यो भने १ स्थानमा नेसनल पार्टी र १ स्थानका स्वतन्त्रले जित्यो । स्वतन्त्र भएर चुनाव जितेका नरबहादुर खतिवडा सिक्किम काङ्ग्रेसमा प्रवेश गरेपछि राजा समर्थक एक जना प्रतिनिधि मात्र प्रतिपक्षमा रहे  । 

 

—चुनावपछि विएस दास आफै सभामुख भएर सबै संविधानसभाका सदस्यहरुलाई सपथ गराए । सिक्किमको संविधानसभा भारतको कठपुतली संस्थामा बदलियो । सन् १९७४ जुन १२ मा छोग्याललाई दिल्ली बोलाईयो । १४ पृष्ठ लामो संविधान , जसमा भारतको मुख्य अधिकारीलाई सिक्किमको प्रमुख प्रशासक बनाउने विषय पनि थियो , त्यसमा सही गर्न भनियो । उनी १० दिनको समय मागेर सिक्किम फर्किए  । भारतले एकतर्फी रुपमा बनाएको संविधानको जनस्तरमा मात्र होइन , सिक्किम काङ्ग्रेसका सदस्यले समेत विरोध गरे । यसरी सहजै संविधान पारित नहुने देखेपछि दास बल प्रयोगको तरिकामा उत्रिए । 

—१९ जुनको राति ९ बजे आन्दोलनकारी घरघर फर्केको मौकामा भारतीय सेनाका ब्रिगेडियर ए. हुनको नेतृत्वको सेनाले सबै संविधानसभा सदस्यहरुलाई गिरफ्तार गर्यो । सेनाको गाडीमा हालियो । संविधानसभाको बंठक बसेको निर्णय बनाई भारतले एकतर्फी रुपमा तयार पारेको मस्यौदा पारित भएको घोषणा गर्न बाध्य पारियो । त्यसको ४ महिनापछि संविधान लागू भएको घोषणा गरे । दोर्जेको नेतृत्वमा २४ जुलाईमा ५ सदस्यीय सरकार बनाईयो र लेण्डुप दोजेलाई प्रधानमन्त्री नभनी मुख्यमन्त्री भनियो । जसले सिक्किम भारतको प्रदेश भएको अनौपचारिक सन्देश दियो । सरकार गठनपछि भारतले सिक्किमलाई भारतको एउटा राजौटाहरुको सुचीमा गाभ्ने र सह—राज्य बनाउँने गरी संविधानको ३५ औँ संशोधन गर्यो । 

 

—त्यसपछि भारतीय पक्ष र छोग्यालबीचको संघर्षकै दौरान ९ अप्रिलको दिउँसो १२ बजे १ सय ३० जना मात्र सेना भएको दरबारमा ५ हजार भारतीय सेनाले आक्रमण गर्यो । भारतीय सेनाको प्रतिकार गर्ने सिक्किम गार्डका वसन्त क्षेत्री दरबारको ढोकामै ढालिए । सिक्किम गार्डका बाँकी सबैलाई टाउको झुकाएर र हात उठाएर दरबारको आँगनमा उभ्याइयो । छोग्याल बाहिर निस्कदा यो सबै डर लाग्दो दृष्य देखे । उनले वसन्त क्षेत्रीको लासमा राष्ट्रिय झण्डा ओढाए र उनको जमेको रगतको टिका आफ्नो निधारमा लगाए । 

 

—रक्तपातपूर्ण सैन्य हस्तक्षेपपछि सैन्य घेरामै संविधानसभाको बैठक बस्यो । भारतले पहिला नै तयार पारेका प्रस्ताव , जसमा छोग्याललाई हटाउन  र सिक्किम भारतमा विलयका लागि हस्ताक्षर गर्न भनियो । जुन अनुमोदनका लागि जनताबीचमा पेस गरिनेछ भनिएबमोजिम सन् १९७५ अप्रिल १४ मा जनमत सङग्रहको घोषणा गरियो । पूर्णतयारी षड्यन्त्र र प्रचारअनुसारै राजतन्त्र कि प्रजातन्त्र ? भन्ने विषयमा ६५ प्रतिशत मतदान भएको र अत्याधिक मत प्रजातन्त्रको पक्षमा परेको नतिजासँगै ३ सय ३३ वर्ष पुरानो राजतन्त्रको मात्र अत्य गरिएन , स्वतन्त्र देश सिक्किमको पनि अन्त्य गरियो । सिक्किम भारतको २२ औँ प्रान्त भएको निर्णयलाई वैधानिकता दिइयो । 

 

—जनमत सङ्ग्रहको नतिजा लिएर  १५ अप्रिलमा काजी लेण्डुप दोर्जे इन्दिरा गान्धीलाई भेट्न दिल्ली गए । उनलाई त्यहाँ भव्य स्वागत गरियो । उक्त निर्णयलाई सन् १९७५ अप्रिल २१ मा भारतको संविधानको ३८ औँ संसोधनमार्फत अन्तिम रुप दिइयो ।                      
–लेखनाथ न्यौपानेको पुस्तक ‘सङ्घर्षको इतिहास’बाट  याे अंश लिइएकाे हाे । पुस्तक अहिले बजारमा उपलब्ध छ । पुस्तकका विषयमा लेखकसँग गरिएकाे कुराकानीकाे भिडियाे लिंक माथि राखिएकाे छ ।