समाचार

निर्मला हत्या प्रकरण छानबिन

शनिबार, ३० भदौ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

निर्मला हत्या प्रकरण छानबिन

उल्टाखाम (कञ्चनपुर) । अपराध अनुसन्धानको सिद्धान्तले भन्छ– अपराधीले घटनास्थलमा केही न केही प्रमाण छोडेर जान्छ। तर निर्मला पन्तका हत्याराले घटनास्थलमा छाडेका सबै प्रमाण अपराध अनुसन्धानबारे जानकार प्रहरीले नै सुझबुझ ढंगले नष्ट गर्न खोजेको देखिन्छ । घुँडासम्म पानी जमेको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो ।

 

 हत्याराले बालात्कारपछि निर्मलाको गुप्तांगबाट विर्य, रगत पखालियोस् भनेरै पानी जमेको उखुबारीमा घोप्टो पारेर शव फालेको हुनसक्ने एक प्रहरी अधिकारी बताउँछन्।

 

 पानीको आहाल भएको उखुबारीमा खुट्टाको छाप पनि देखिने भएन। शव घोप्टो पारेर पानीमा डुबाइएकाले शरीरका अन्य भाग र लुगामा पाइन सक्ने रगत, राैं, फिंगर प्रिन्ट, विर्यलगायत प्रमाण नष्ट हुन पुगे । शव पाइएको उखुबारीमा जान खोला तर्नुपर्ने भएकाले कुकुरले पनि पिछा गर्न जटिल हुन्छ । कुकुरले गन्ध सुँघेर दोषी पत्ता लगाउँछ।

 

 तर अपराधी खोला तरेपछि जमिनको क्रम टुट्ने भएकाले कुकुरले पिछा गर्न नसक्ने प्रहरीका एक पूर्वअधिकारी बताउँछन्। ती पूर्वअधिकारीका अनुसार शव खोलापारिको पानीपानी भएको उखुबारीमा लगेर फालिनुले अपराधी कसरी प्रमाण मेटाउन सकिन्छ भन्ने विषयमा जानकार भएको देखिन्छ । उनका अनुसार शव र शव पाइएको उखुबारीको प्रकृति हेर्दा अन्यत्र बलात्कारपछि हत्या गरी त्यहाँ लगेर फालेको बुझिन्छ।


प्रहरीले किन फिंगर प्रिन्ट लिएन 
हत्याराले प्रमाण बाँकी नछाड्ने जतिसुकै प्रयत्न गरे पनि केही प्रमाण छोडेकै हुन्छ। निर्मलाको साइकल खोलामा फालिएको थियो । साइकल पानीमा डुबेकाले फिंगर प्रिन्ट मेटाउने अपराधीको योजना देखिन्छ। तर अपराधी कापीकिताब नष्ट गर्न भने चुक्यो ।

 

 साउन १० गते रातभरि मुसलधारे पानी परेको थियो। पूरै कापीकिताब पानीले गल्नुपथ्र्याे। तर कापीकिताब नभिजेको अवस्थामा पाइएका थिए। अपराधीले शव, साइकल योजनाबद्ध ढंगले फाले पनि कापीकिताब र अम्बा फाल्न बिर्सेको देखिन्छ। 

 

प्रहरीलाई नभिजेका ती कापीकिताबबाट फिंगर प्रिन्ट लिएर अपराधीसम्म पुग्न सक्ने सहज बाटो थियो। तर प्रहरीले निर्मलाका कापीकिताबबाट फिंगर प्रिन्ट लिएन। कञ्चनपुर प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले पहिलो अनुसन्धान टोलीले कापीकिताबबाट फिंगर प्रिन्ट संकलन नगरेको बताए।

 

‘घटनास्थलको मुचुल्कामा कापीकिताबमा भएको फिंगर प्रिन्टको कुनै नमुना उल्लेख छैन’, उनले भने। खोलावारि रहेका कापीकिताब कुकुरलाई सुँघाएर प्रहरीले दोषी पत्ता लगाउन सक्थ्यो तर त्यसो पनि भएन। करिब ५५ किलोमिटर दूरीमा रहेको धनगढीमै तालिम प्राप्त कुकुर छन्।

 

 अपराधीले भुलवश छाडेको एकमात्र प्रमाण कापीकिताबाट फिंगर प्रिन्ट नलिनु र कुकुर प्रयोग नगरिनुको कारण के हो? यस विषयलाई लिएर अनुसन्धानमा खटिएका एसपी डिल्ली बिष्टको टोली र सिआइबीका डिएसपी अंगुर जिसी नेतृत्वको टोलीमाथि प्रश्न उब्जेको छ। 

 

‘कुकुरलाई किताबकापी सुँघाएर दोषी पत्ता लगाउन सक्ने भए पनि कुकुर प्रयोग गरिएन’, निर्मलाका बाबु यज्ञराज पन्त भन्छन्, ‘प्रहरीले कुकुर प्रयोग गरिदिएको भए त्यति बेलै अपराधी पत्ता लागिसक्थ्यो। उसले योजनाबद्ध रुपमा प्रमाण मासेको हामीलाई लागेको छ।’


अपराधीले छाडेका प्रमाण पनि नष्ट गरियो
अपराधीले आफ्ना पैतालाको छाप नदेखियोस् भनेर शव पानीपानी भएको उखुबारीमा लगेर फालेको प्रस्ट छ। तर खोलाबाट उखुबारीमा उक्लिने ठाउँमा तीनवटा फरकफरक पैतालाका छाप भेटिएका थिए। 

 

प्रहरीले ती तीनवटा छापको प्रमाण पनि संकलन गरेन। ‘ती तीनवटा पैतालाका छाप उखुबारी उक्लिने डिलमा थिए’, निर्मलाका छिमेकी मोतीकुमार नेपाल भन्छन्, ‘पैतालाका छापको अनुसन्धान गरौंभन्दा प्रहरीले उल्टै धम्काए।’

 

घोप्टो अवस्थामा फेलापरेको शव प्रहरी टोलीले उत्तानो पा-यो। उत्तानो पार्दा पछाडिको भाग पनि पानीमा पखालिन पुग्यो । प्रहरीको पहिलो दायित्व घटनास्थलमा पाइएका प्रमाण बिग्रन र नष्ट हुन नदिनु हो। दुईदुई जना प्रहरी निरीक्षकको कमान्डमा खटिएका प्रहरीले हातले समातेर शव उत्तानो पारे। 

 

एक खुट्टामा लत्रिएको सुरुवाल पनि प्रहरीले निकालेर प्रहरीले धुन लगायोे । सुरुवाल पानीले पखाल्दा त्यसमा लागेको रगत, बिर्य, रौंलगायत प्रमाण नष्ट भएको प्रहरीका एक पूर्वउच्च अधिकारी बताउँछन्।

 

‘प्रहरीले यसरी जानाजान प्रमाण नष्ट गरेको देखिन्छ’, निर्मलाका मामा केशव भण्डारी भन्छन्। अपराधीले छुटाएका प्रमाण पनि प्रहरीले नष्ट गरेकाले उसले नै दोषी बचाउने प्रयास गरेको शंका स्थानीयको छ ।

 

 ‘भान्जीको हत्यारा जोगाउन प्रहरीको संलग्नता छ भनेर हामीले तेत्तिकै भनेका होइनौं’, भण्डारीले भने, ‘प्रहरीले प्रमाण जोगाउनेभन्दा पनि घटनास्थलमा पाइएका प्रमाण नष्ट गरेर दोषीलाई बचाउने खेल सुरुदेखि नै खेल्यो।’ रोशनी बमको घरअघि निर्मलाले अम्बा टिपेको भनिएको रुख साउन १० गते नै काटियो ।

 

 यो रुख काटेर पनि प्रमाण नष्ट गर्ने प्रयास भएको देखिन्छ । निर्मला साउन १० गते रोशनीको घरमा होमवर्क गर्न र चटपटे खाएको पैसा लिन गएकी थिइन् । प्रहरी नायब उपरीक्षक कृष्ण ओझा घटनास्थलबाट कुनै प्रमाण संकलन नभएको बताउँछन् । सबै प्रमाण नष्ट गरे पनि पोस्टमार्टम रिपोर्ट मात्र प्रमाणको रुपमा छ। 

 

साउन १० गते रोशनीको घरमा गएकी निर्मला साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवीले जिल्ला प्रहरी, वडा प्रहरी कार्यालय र स्थानिय प्रहरीचौकीमा हारगहुार गर्दा पनि तत्काल खोजी सुरु गरिएन। 

 

त्यसैदिन बम दिदीबहिनीको घरमा खोजतलास गरेको भए यथार्थ पत्ता लाग्ने स्थानीय मञ्जु भट्ट बताउँछिन्। प्रहरीले अर्को दिन साउन ११ गते उखुवारीमा निर्मलाको शव फेला पारेपछि पनि बम दिदीबहिनीलाई शंकाको घेरामा राखेर अनुसन्धान गरेन। 

 

प्रहरीले शंकास्पदलाई अनुसन्धानको दायरामा ल्याउनुभन्दा पनि निर्दोषलाई यातना दिएर दोषी कबुल गराउने प्रयत्न मात्रै ग-यो । स्थानीयले सुरुदेखि नै प्रहरीको भूमिकाबाट असन्तुष्ट भएर प्रदर्शन गरे पनि प्रहरी गम्भीर भएन।

 

सर्वदलीय बैठकमा प्रहरी प्रशासनले निर्मलाका हत्यारालाई कारबाही गर्ने लिखत गरेपछि मात्र १४ गते निर्मलाका बुवाले महाकाली नदीमा छोरीको दाहासंस्कार गरेका थिए । प्रहरीले सुरुमा हेमन्ती भट्टलाई पक्राउ गरी हत्या कबुल गर्न दबाब दिएको थियो ।

 

 प्रहरीको त्यो प्रयास असफल भएपछि उसले मानसिक सन्तुलन गुमाएका जीवन घर्ती, एचआइभी संक्रमित दीपक नेगीलाई पक्राउ गरेर हत्या कबुल गराउन खोज्यो। साउन १७ गते गृहमन्त्री रामबहादुर थापाले संसद्मा पनि निर्मलाका हत्यारा पक्राउ परेको भनेर जानकारी गराएका थिए।

 

 मानसिक सन्तुलन गुमाएका जीवनले जे पनि बोलिदिने हुदाँ बयानको ठेगान नहुने र नेगीको यौनक्षमता ह्रास भएकाले उनीहरुलाई प्रहरीले २० गते रिहा गर्यो‍ ।

 

 २१ गते चक्र बडुलाई पक्राउ गरी हत्या कबुल गर्न दबाब दियो। हेमन्ती, जीवन, दीपक र चक्रले हत्या कबुल नगरेपछि प्रहरीले दिलीप बिष्टलाई दोषी भनेर सार्वजनिक ग-यो। 

 

भदौ १ गते कारागारमा साथी भेटेर फर्कने क्रममा बजार नजिकै प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रहरीले भने निर्मलाको शव फेलापरेको स्थल नजिक लौरो समातेर उभिएको अवस्थामा दिलीपलाई नियन्त्रणमा लिएको दाबी गरेको छ। प्रहरीले दिलीपलाई दोषी प्रमाणित गर्न अनेक प्रयत्न ग-यो तर उनी डिएनए परीक्षणबाट निर्दोष देखिएकाले केही दिनअघि छुटेका छन्।

 

प्रहरीले निर्दोष दिलीपलाई फसाउन खाजेको भन्दै भदौ ५ गतेदेखि आन्दोलन चर्काए। आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गयो। एक घाइते अझै अचेत अवस्थामा छन्।

 

घाइते अर्का एकजनाको दुवै खुट्टा काट्नुपरेको छ। उनको अवस्था दयनीय छ। दर्जनजति घाइते भए। भदौ ८ गतेपछि घटनाको अनुसन्धान थालेको प्रहरीको नयाँ टोलीले पनि अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन। 

 

कञ्चनपुरका एसपी कुवेर कडायत घटनास्थलामा प्रमाणहरु नष्ट भएकाले अनुसन्धान गर्न जटिल भएको बताउँछन्। - नागरिक दैनिकबाट ।