समाचार

खेल

एपी–१ टिभीसँगको सम्झौता रद्द, रामशर मिडियासँग नयाँ सम्झाैता

शुक्रबार, २९ भदौ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

एपी–१ टिभीसँगको सम्झौता रद्द,  रामशर मिडियासँग नयाँ सम्झाैता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एपी–१ टेलिभिजनसँग फुटबल प्रतियोगिताको प्रसारणसँगै बजार प्रवद्र्वन र प्रायोजनको अधिकार सम्झौता रद्द गरेको छ ।

 

नेपाली फुटबलको विज्ञापन र प्रसारण अधिकार एपी–१ टेलिभिजनलाई दिने अघिल्लो कार्यसमितिले गरेको निर्णय समय सान्दर्भिक नभएको निष्कर्ष निकाल्दै एन्फाले सम्झौता रद्द गरेको हो ।

 

एन्फाले टिभीसँगको फुटबल प्रायोजनसम्बन्धी सम्झौता रद्द भएको एन्फा प्रवक्ता किरण राईले जानकारी गराए । उनले आफुहरुले लिग फुटबलका लागि नयाँ सम्झौता गरेको पनि जानकारी गराए ।

 

गत वर्ष जेठमा एन्फा र एपी–१ बीच तीन वर्षका लागि पाँच करोडको प्रायोजन सम्झौता भएको थियो । जसमा एन्फाले गर्ने सबै प्रतियोगिता सो टिभीले प्रत्यक्ष प्रसारण गर्दै आएको थियो ।

 

सहमतिअनुसार एपी–१ ले फुटबल प्रतियोगिताको प्रसारणसँगै बजार प्रवद्र्वन र प्रायोजनको अधिकार पाएको थियो । सो बापत उक्त टिभीले एन्फालाई वार्षिक एक करोड ७५ लाख प्रदान गर्ने सहमति थियो ।

 

यसैबीच एन्फाले आगामी असोज १४ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगको प्रायोजन रामशर मिडिया प्रालिसँग नयाँ सम्झौता गरेको छ । सम्झौताअनुसार रामशर मिडियाले शहीद स्मारक ‘ए’ डिभिजन लिगको बजार प्रवद्र्वन र प्रायोजनको अधिकार पाएको छ ।