राजनीति

प्रचण्ड–अफगानी टोली भेट, नेपाली मोडल सिक्न आतुर रहेको प्रतिक्रिया

बिहिबार, २८ भदौ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

प्रचण्ड–अफगानी टोली भेट, नेपाली मोडल सिक्न आतुर रहेको प्रतिक्रिया

काठमाडौं । नेपाली शान्ति प्रक्रियाको मोडल अध्ययन गर्न राजधानी आइपुगेको अफगानी टोलीले बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट गरेको छ । 

 

टोलीले अध्यक्ष प्रचण्डसँग शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेको नीतिका बारेमा छलफल गरेको थियो ।  अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा नयाँ मोडल भएको बताउँदै नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर संसारलाई एउटा सकरात्मक सन्देश दिएको बताए ।

 

 उनले नेपालको शान्ति प्रक्रियाबाट नेपाली जनताले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी लगायतका उपलब्धी पाएको बताए ।

 

‘नेपाली जनताको राजनैतिक स्वतन्त्रताको आन्दोलन भएकाले यसमा धेरै ठूलो जनताको सहभागीता भएको थियो । हामीले जनताको अधिकारको निम्ति भएको युद्धलाई नेतृत्व गर्यौं र धेरै हदसम्म उनीहरुका अधिकार स्थापित गराउन सफल भयौं’ टोलीसँगको कुराकानीमा प्रचण्डले भने ।

 

भेटमा अफ्गानस्तान उच्च शान्ति परिषद्की उपप्रमुख पूर्वमन्त्री डा. हबिबा साराबीले अफ्गानस्तान शान्तिप्रक्रिया अघि बढेको जानकारी दिँदै नेपालको शान्तिप्रक्रियाबाट सिक्न आफूहरु नेपाल भ्रमणमा आएको जानकारी दिइन् । उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय भएको भन्दै त्यसबाट सिक्न आफूहरु इच्छुक रहेको पनि बताइन् ।

 

भेटमा भ्रमण दलका सदस्यहरुले नेपालमा जनयुद्धको क्रममा हतियारको स्रोत, पूर्व जनमुक्ति सेनासँग भएको हतियारको अवस्था र शान्ति प्रक्रियाका कामलाई सहयोग गर्न स्थापना भएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयको काम कारबाही बारे पनि जिज्ञासा राखेका थिए ।