बिचार

 किन लाग्दैछ विवेकको बट्टामा बिर्को ? 

बिहिबार, २८ भदौ २०७५ गते प्रकाशित
- नेपाल आज

 किन लाग्दैछ विवेकको बट्टामा बिर्को ? 

एउटा मानिस प्रत्येक दिन जंगलमा गएर मादल बजाउँथ्यो । मादल बज्नासाथ एउटा मृगको बच्चा कतैबाट दौडँदै आएर नजिकै बस्दथ्यो । एकदिन त्यो मानिसले मृगको बच्चासंग जिज्ञासा राख्यो– ‘मेरो गायन राम्रो कि ताल, जसका कारण तिमी मैले मादल बजाएपछि नजिकै आएर बस्छौ ?’

 

मृगको बच्चाले जवाफ दियो– ‘मलाई थाहा छैन कि तपाईंको गायन राम्रो कि ताल । म त केवल यति जान्दछु– तपाईंको मादलमा रहेको छाला मेरी आमाको हो । जब तपाईं यसमा हान्नुहुन्छ मलाई लाग्छ, आमाले मलाई पुकार्दैछिन । तिनै आमाको आर्तनादले मलाई तपाईं सामु खिचेर ल्याएको हो ।          

 

यदि परलोक छ भने देशमा प्रजातन्त्र ल्याउने लडाइँमा आपूmलाई विसर्जन गरेका नेताहरुको अवस्था मादल सुन्ने पाठाको जस्तै हुँदो हो । बीपी, पुष्पलाल, गणेशमानसिंह, मदन भण्डारी, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराईजस्ता युगपुरुषहरु स्वर्गको आँखीझ्यालबाट यहाँको चर्तिकला त्यही पाठा झै सुन्दा हुन् । अनि विरक्तिएर आर्तनादको दुन्दुभि बजाउँदा हुन् । आफ्नो विगत सम्झिदा उनीहरुलाई नै कहालीलाग्दो हो । कर्मको श्रद्धा नभई जन्मजयन्तीमा  आफूले मोडल बनाएर रिमिक्स शैलीमा कथित कार्यकर्ताको भीड देख्दा वीपीको आत्मा कति भड्कँदो हो । देशको अगाध माया हुँदाहुँदै शक्तिको माथापच्चीका कारण त्यसबेला मिल्न नसकेकोमा राजा महेन्द्र र बीपी पश्चातापको आँसु बगाउँदा हुन् । हुन पनि उनीहरुले शासन गरेको त्यो युग धेरै गुनासा बीच पनि स्वर्णयुग थियो । नेपाल र नेपालीको इज्जत थियो । राष्ट्रहितका लागि राजा जनता समान थिए । देशका प्रमुख चार शहीद जन्माउने पुरानो दल प्रजापरिषद्का नेता स्वयं राजा त्रिभुवन रहेको इतिहास छ ।

 

 

फेसबुके नेता, फेसबुके प्रशासक, फेसबुके जनताको भाइरसले देशका तमाम अंगहरु निष्कृय छन् । नूनको सोझो चिताउनेभन्दा फेसबुकको लाइकमा रमाउने उन्मादले सवैलाई उत्ताउलो बनाउँदै लगेको छ । बाउ मरेको समाचार अपडेट नगरी घाटको कर्म गौण ठान्ने अवतारी सन्तान हजारौं लाखौं संख्यामा जन्मन थालेका छन् । सामाजिक सञ्जालमा देखिएका, लेखिएका वाक्य हेर्दा यो देशमा लक्ष्मीप्रसाद देवकोटाको वौद्धिकता, बीपी कोइराला, मदन भण्डारी, मनमोहन, गणेशमानसिंहका राजनीतिक निष्ठा रंगहीन प्रमाणित हुन्छन् । मानौं अष्टबक्रजस्तै जन्मिनुअघि नै सबलाई सवै कुराको ज्ञान छ । राष्ट्रियताको चकमके झिल्को यसरी प्रकट हुन्छ कि त्यो बेगले मार्क जुकरबर्गको कमाइ खाने फेसबुके भाँडोलाई नै केही समयमा जलाएर खाग बनाइदिनेछ । 

 

विवेकको बट्टामा विर्को लगाएर दास मानसिकता असरल्ल छरिएका छन् । शिकार गर्ने ताकत सकिएपछि झिंगेदाउमा लागेको बाघ भैंm अर्ती र बुद्धिका भकारी भएर बाँचेका नेता र प्रशासकका कुण्ठाले फेसबुकमा राम्रै जागिर पाएको छ । वास्तुशास्त्रीले दिएको सल्लाह हुबहु मानेर कुर्सी र टेबलको दिशा फेरेको बाहेक अरु काम नगरेका यस्ता भूतपूर्वहरुले नमागिएको सल्लाह दिएर अभूतपूर्व हुने जाँगर देखाउनु घोडाअघि बग्गीको प्रवेशजस्तै हो ।

 

 वास्तवमा सामाजिक सञ्जालका राम्रा नराम्रा आआफ्नै विश्लेषण होलान तर यसले यो देशमा जनता नाममा कम्युनिष्ट, काँग्रेस, मधेशवादी मात्र रहेको प्रमाणित गर्छ । यहाँ मानिस नभई पार्टी कार्यकर्ता मर्छन् । यदि अक्सिजन नेताहरुको हातमा हुन्थ्यो भने यिनीहरुका आसेपासे बाहेक अरु हावा नपाएरै मर्नुपथ्र्यो । 

 

‘समृद्ध नेपाल, सुखी नेपाली’ नामक झाँकीको उत्ताउलोपनले ‘सबै नेपाली पञ्च, सवै पञ्च नेपाली’को पञ्चायती नारा उछिनेको भान पर्छ । आफ्नो सामथ्र्य आंकलन गर्न नसक्ने कच्चा नेतृत्वको तस्वीर जताततै छताछुल्ल देखिँदैछ ।

 

सरकारका उल्लेखनीय काम हाकिमको कुर्सीबाट तौलिया झिकिएको तर्फ साँघुरिदैछ । सरकार क्रमशः कर्पोरेट हाउसमा अनुवाद हुँदै गएको छ । ओपन हार्ट सर्जरी गर्नुपर्ने सरकारी संयन्त्रततर्फ कसैको ध्यान छैन, बरु त्यही चाकरी, चाप्लुसीको न्यानो दुई तिहाईको नेतृत्वलाई समेत प्यारो भएको छ । ठेकेदार, बिचौलिया र तिनीहरुको आडमा सरकारको सिउँदो पहिरेको दम्भ गर्ने तर  स्वामित्व कहिल्यै नलिने कर्मचारी कजाउने राजनीतिक इच्छाशक्ति कसैमा देखिएन ।

 

दलहरुको संरक्षणमा खुलेका सबै खालका ट्रेड युनियन भंग नगरेसम्म समृद्धिको बाटो कुहिराको काग बन्ने निश्चित छ । सरकारका फ्रन्ट डेस्कका कुनै निकायसंग जनताको विश्वास छैन । जसको परिणाम एउटा पत्रकारले चलाएको कार्यक्रममा उजुरीको ताँती लाग्नु पछाडिको रहस्य यही हो ।

 

एउटा पुलिसको सिपाही कर्तव्यच्यूत हुनु भनेको नैतिक रुपमा सरकार असफल हुनु हो । एउटा मन्त्री नालायक प्रमाणित भयो भने सरकारको सारथीले उम्किने मौका पाउँदैन । सरकारका प्राथमिकता के हुन ? बाँडीचुँडी खान चोसो मिल्ने मन्त्रालयहरु विकासको एजेण्डामा वर्षौंदेखि किन द्वन्द्वमा उत्रन्छन ? प्रधानमन्त्रीदेखि वडासदस्यसम्म कर्तव्यको नभई अधिकारको चिन्तामा मोलमोलाई गरेर बसेका छन् ।

 

मेलम्चीको कथा खरायो र कछुवा बनिसक्दा पनि खानेपानी मन्त्रीको रोडम्याप हिमालको पानी खाडी लगेर बेच्ने उडन्ते योजना छताछुल्ल हुँदा प्रधानमन्त्रीले लगाम लगाउनु पर्छ कि पर्दैन ? रेमिट्यान्स हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो भने सरकारले हस्तक्षेप गरेर मेनपावरलाई नालायक मानिसको हातबाट आफ्नो नियन्त्रणमा लिई रातारात तालिमप्राप्त दक्ष जनशक्ति उत्पादन गर्न के ले रोक्यो ? 

 

नरेन्द्र मोदीको सवारी मन्त्री भएर देवी देवालयका मन्दिर पुग्न सक्ने प्रधानमन्त्रीले आफू त्यो ठाउँमा गएर आन्तरिक, वाह्य पर्यटनको प्रवद्र्धन गर्न कुन दर्शन बाधक बन्यो ? मानसरोवर जाने आफ्ना जनतालाई एक लाख भारतीय रुपियाँ अनुदान दिने निर्णय गर्ने उत्तर प्रदेश सरकारलाई पशुपतिनाथ र मुक्तिनाथका लागि पचीस हजार छुट्याउन आग्रह गर्दा नेपाली कुटनीतिको कद कहाँ पुड्को हुन्थ्यो ?

 

अब स्टीलको गिलासमा जाँड बोकेर पानी खाएको नाटक गर्ने पाखण्डी जमाना रहेन । नेताको हुकुमका भरमा अब पुस, माघको जाडोमा आइसक्रिम बेच्न जाने कुनै मुर्ख कार्यकर्ता छैनन् । शोषक, सामन्तको घिउ नलाग्ने भाषण गरेर फिँज  काढ्ने र पर्रर्र ताली खाने जमाना एकादेशका कथा भए ।  

 

सत्तारुढ दलको गतिविधि हेर्दा लाग्छ– मानौं सृष्टिको पहिलो र अन्तिम सिर्जना भनेकै कम्युनिष्ट हो । माओवादीको रुकुम, रोल्पा, प्यूठान भने झै मालेको राजनीतिक भाव भूमि भनेको झापा हो । कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिमा पहुँच जमाउँदै आएका त्यस्ता हस्तीहरुको दर्जनौं परिवार छ, जसले आफूले बालीनाली लगाएको खेतीबारीमा जंगेपिलर सरेको वर्षौं भइसक्यो । आफ्नो पदचापले खेलेका भूमि अब चाहेर पनि चन्द्र, सूर्यको अधिनमा छैन् । लालपूर्जामा भएकाहरुको बाली पारी तिरै थन्किने भएपछि हलोको फाली नपरेको दशकौं भइसक्यो ।

 

राजमार्गमा झाँकी लिएर हिँड्ने नेताहरुले मुलुकको प्रमुख समस्या आफूभित्र रहेको कहिल्यै खोलेनन । राष्ट्रवाद र स्वाधीनताको थालनी आफ्नै बलेसीबाट शुरु गर्नुपर्ने होइन र ? बरु अरुलाई पुड्को देखाउन आफूले नक्कली राष्ट्रवादको सहारा लिएर हिँडे । केपी ओलीलाई लाग्छ– मेची महाकाली बाटोमा हिँड्ने लर्को सबै आफ्ना कार्यकर्ता हुन । अहँ होइन, त्यहाँ अधिकांश लोभीपापीको झुण्ड छ ।

 

राजनीतिका नाममा तपाईंहरुले देशमा जनताको बीउ नै मास्नु भएको छ । वकिल, डाक्टर, न्यायाधीश, पत्रकार, कर्मचारी, पुलिस झण्डे भएको मुलुकमा अरु त के नै बाँकी छ र ? देशैभरि कम्युनिष्ट वर्चस्व भयो रे ! खोइ के भयो ? संसदमा झिनो उपस्थिति रहेको काँग्रेसले राखेका माग घुमिफिरी संसदबाट पारित भएका छन् । 

 

सरकार आफूले गरेका निर्णयमा चौबीस घण्टा टिक्दैन । सरकारका निर्णय हेर्दा लाग्छ– प्रतिपक्षले सरकारको फलमासु रोजीरोजी खाएको छ । भोलि उसैलाई ह्याकुलो टक्र्याउन तपाईंहरु तयार हुनुहुन्छ । पैसाले अघाएका कुन पार्टीका कुन नेता भेटिएला ? ४० प्रतिशत पद विक्रीमा तपाईंहरुले राख्नुभएकै छ ।    शान्ति सुरक्षाको जिम्मा लिएर बसेका सीडीओहरु समाज गठन गरेर राजनीति गर्छन् ।

 

उनीहरुलाई आफ्नो हैन, ओली, दाहाल र देउवाको हेडक्वार्टरको चिन्ता हुन्छ । न्यायाधीशहरु संघ बनाएर पानी आफै प्यासले तड्पिएको छनक दिन्छन् । न्यायालयमा पन्पिएको राजनीतिक बीउ अब अलि वर्षपछि यसरी झाँगिने छ कि त्यतिबेला कांग्रेस, एमाले र माओवादीको छुट्टाछुट्टै बेन्च हुनेछ । एउटाले गरेको फैसला अर्कोलाई चित्त बुझ्ने छैन् । त्यसपछि पूर्ण इजलासको माग हुनेछ ।

 

 त्यसमा पनि सत्ता सन्तुलनको आधारमा न्यायाधीशको राय बाझिनेछ । त्यसबेला स्वतन्त्र न्यायालयको विरुप दृश्य कस्तो देखिएला, संझदा पनि काँडा उम्रन्छ । त्यसैले त अब राष्ट्रियताको जग मजबुत पार्ने जिम्मेवारी कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र प्रेस जगतले नभएर सिमेन्ट र डन्डीले लिएका छन् । 

नेपालको सन्दर्भमा मुलुकको कार्यकारी पद जिम्मेवारी नभएर चटकेको आसन बन्दै गयो । 

 

मूढ बुद्धि भएकाहरु पनि त्यहाँ पुगेपछि परमार्थी पुरुष बन्ने अभिनयमा मस्तराम भए । सिक्नु नपर्ने, सल्लाह लिनुनपर्ने तर
आफूले बोलेका हरेक वाक्य ब्रम्हवाक्य भन्ने भ्रम पाल्नुपर्ने अनौठो मनोविज्ञानबाट उनीहरु हौसिंदै गए । प्रधानमन्त्रीलाई अनुकूल हुने एजेण्डा लिएर जाने हुक्के, बैठकेहरुको भीडले ठूला मानिसहरु छोपिँदै गए ।

 

राम्रो लाउने र मिठो खानेमा सीमित ती एजेण्डाले व्यक्तिको अनुहार त फेरियो तर देश गर्तमा जाकिने प्रस्थान विन्दु कोरियो । जमिनविनाको त्यो अभिनय पदबाट खुस्केका भोलिबाट सियोले घोचिएपछि बेलुनको हावामा अनुवाद भयो । सिंहदरबार देशको त्यस्तो खतरनाक ७८ औं जिल्ला हो, त्यहाँ पुगेपछि अपवाद बाहेक सवै दाँत फुक्लेको बाघ भएर फर्किएका छन् । 

 

पुलिस र सेनामा क्रान्तिकारी संघ खुल्नुबाहेक त्यहाँ भित्रका रमिता झन्झन् छताछुल्ल भएका छन् । त्यहाँका हाकिमहरुको मुख्यालय आफ्नो कार्यालय नभएर नेताको हेडक्वार्टर सरेको वर्षौं भइसक्यो । फौजीमा सरुवा बढुवा हुन ब्रिफकेस हटकेक बनेका सन्दर्भ भलीभाँती बाहिर आएकै हुन । देशका हरेक निर्णय दारी र सारीका प्रभावमा पर्ने क्रम तीब्र छ ।

 

जर्नेलहरुले लेखेको आत्मबृत्तान्त आत्मरति बन्दा सिनियर गड र जुनियर डगको अवस्था राम्रैसंग उदाङ्गिएको छ । सामाजिक मनोविज्ञान हेर्दा लाग्छ–  समयले बुढ्यौलीपनलाई विस्थापित गराइदिएको छ । रामनाम जप्नेहरु हराउँदै छन् । बरु रिटायर्डहरु ‘नेभर टायर्ड’ भन्दै राज्यकै सुविधामा रमाउन कस्सिदैछन् । रिटायर्ड हुनुअघि नै पदको मेलोमेसो मिलाएर निस्कनेहरुको भीड पनि उत्तिक्कै हेर्नलायक  देखिन्छ । आफू बाहेक संसारलाई उल्लू देख्नेहरुको रोचक भीडन्त घरघर र टोलटोलका भट्टीमा देख्न पाइन्छ ।

  
गौतम बुद्ध मूर्ति पूजाका विरोधी थिए । तर कालान्तरमा विश्वभर लाखौं उनैका मूर्ति बनाइए । प्रत्येक मानिस बुद्ध हो । मात्र फरक भगवान गौतम बुद्ध उठेका बुद्ध हुन भने हामी सुतेका बुद्ध । हरेक मानिस जागृत हुने हो भने बुद्धत्व प्राप्त गर्न सक्छ ।

 

पुस्तकालयमा राखिएका गीता, कुरान र बाईबल आपैंंm युद्ध गर्दैनन्, जो युद्ध गर्छन तिनीहरुले त्यसको रस लिएकै हुँदैनन् । गाई जुनसुकै रंगको किन नहोस दूध त सेतै हुन्छ नि । 

नेपालका कुनै कम्युनिष्ट नेतालाई अर्को देशको कम्युनिष्ट नेताले पत्याएर एउटा साइकल उपहार दिएको सुनिएको छैन तर तिनैले विरोध गर्ने राजा त्रिभुवनले हिटलरबाट पाएको गाडीको अबशेष  अझै संग्रहालयमा  सुरक्षित  छ । आखिर भगवान विश्वासिला भए त कम्युनिष्टले राजालाई पनि त पुज्दो रहेछ नि ।