कभर स्टोरी

समाज

दरका नाममा रक्सी नखाउँ बरी लै !

मङ्गलबार, २६ भदौ २०७५ गते प्रकाशित
- नेपाल आज

दरका नाममा रक्सी नखाउँ बरी लै !

काठमाडौं । हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीजले सबै नेपाली महिलाहरूको घरदैलोमा प्रवेश गरेको छ । विशेषगरी आफ्ना पति र महादेवजस्तै स्वामी पाऊ भन्ने आस्थासहित तीजमा निराहार व्रत बस्ने चलन छ । तर के निराहार व्रत बस्नु अनिवार्य हो ? यसले समाजलाई कस्तो सन्देश पुर्‍याइरहेको छ या निराहर व्रत किन बसियो  ?

 

यसबारेमा गुरु चिन्तामणि योगी भन्छन्, ‘निराहार व्रत बस्ने भन्नेमा दुईवटा कुरा छन् । माता पार्वती द्वापरयुुगमा निराहार व्रत बसेकी हुन् । माता पार्वती निर्र्जला बसिन् , किन बसिन् ? उनी तपस्यामा बसिन् । यहाँ हामी दिनभरी पशुपतीको मन्दिरमा लाइन लाग्छौं । दिनभरि नाच्छौं । अब दिनभरि नाच्नलाई निर्जला निराहार ,बस्ने कि नबस्ने भन्नेबारे सोच्नुपर्‍यो । दिनभरि घर बसेर साधना गर्नुभयो भने जल किन पिउनुपर्‍यो ? त्योबेलामा खाना किन खानुपर्‍यो ? घरमा दिनभरि तपस्या गर्दा खानेकुरा चाहिँदैन ।

 

 दिनभरि नाच्नुहुन्छ रमाइलो गर्नुहुन्छ, मन्दिरको भ्रमण गर्नुहुन्छ भने त्योबेलामा तपाईंले शाब्दिक रुपमा जलको सेवन गर्नुहुन्छ, फलफूलको सेवन गर्नुुहुन्छ भनेपनि ठीक छ । तर कसैले हिजो बलियोसँग दर खाइएको छ, माइत आएर एक महिनादेखि खाने मात्र काम गरिएको छ, बरु एकदिन नखाएर स्वास्थलाई राम्रो गर्छु भन्यो भने त्यो पनि ठिकै छ । त्यसकारण यो इच्छामा निर्भर हुने कुुरा हो । शास्त्रमा कसैलाई नखा भनेर निक्र्र्योल गरेको छैन ।’


यस्तो छ तीजको धार्मिक महत्व 

भाद्र शुक्ल तृतीयामा तीज मनाइन्छ । यसको नाम परापूर्वकालदेखि तृतीया, तीजा हुँदै तीज बन्यो । यसलाई हरितालिका तीज पनि भनिन्छ । माता पार्वतीलाई पार्वतीका सखीहरुले तपस्या गर्नका लागि एकान्तबाज गर्न लगाएको, तपस्या गर्नका लागि हरण गरेर लिएर गएको र हरिदबाट हरण गरेकाले हरितालिका तीज भनिएको हो ।

 पौराणिक प्रसंगअनुसार मुलतः माता पार्वतीले भगवान् शिवलाई पतिका रूपमा प्रप्त गरौं, शिवको सांगीत्य र आशीर्वाद प्राप्त गरौं भन्ने हिसाबले तीजको महिमा सुरू भएको हो । 


सामाजिक महत्व, तीजले श्रीमान् र श्रीमतीलाईमात्र जोड्दैन

नेपाली समाजको हिसाबले तीज केवल श्रीमान् र श्रीमतीको बीचमा अथवा शिव र पार्वतीको बीचमा मात्र नभई यसको व्यापक महिमा छ । दुई परिवार ससुराली र माइतलाई जोड्ने पनि तीज हो । श्रीमान् र श्रीमतीलाई जोड्ने पनि तीज हो । मानिसलाई समाजसँग जोड्ने , प्रकृतिमा रम्नुपर्छ भनेर वातावरणसँग जोड्ने पनि तीज हो । यसका साथै हाम्रो लोक संगीतलाई बचाउने पनि तीज हो ।

 

 तीजमा घन्कने तीज गीत र देउसी भैलोका गीतहरु संसारमै छैनन । अहिले नेपालीहरू व्यापक रूपमा सहरीकरण भए । पहिला पहिला विवाह गरेर गएका दिदीबहिनी माइत आएका बेलामा सबैले आफ्नो आफ्नो गाउँघरको कहानी सुनाउँथे । 

 

खेतीपाती, दाउरापात, घाँसपात,सासु ससुराको व्यवहार कस्तो छ आदिको बारेमा अध्ययन गर्ने थलो पनि तीज थियो । तीज गीतको माध्यमबाट सामाजिक अध्ययन हुन्थ्यो । तीज भनेको दाजुभाइले आफ्ना दिदीबहिनीलाई देखाउने माया, सद्भाव र सहयोग पनि हो ।


तीजको मनोवैज्ञानिक महत्व

चिन्तामणि योगीका अनुसार, तीजले मनोवैज्ञानिक विशेषतालाई पनि दर्शाउँछ । अंग्रेजीमा ‘सिंगिङ इज हिलिङ’ भनिन्छ । नाच्दा गाउँदा मनिसको मानसिक स्वास्थमा सुधार आउँछ । 

 

अहिले विश्वमा मानसिक असन्तुलन, मानसिक रोगका समस्या विश्वव्यापी रूपमा बढ्दो छ । नाच्नाले गाउनाले, मनका कुरा भन्न पाउनालेमात्र पनि मान्छेलाई धेरैै निदान हुने विभिन्न अनुसन्धानले देखाएको छ । मनोविज्ञानको हिसाबले के भनिन्छ भने, बोल्न मात्र पनि पायो या आफ्नो मनको कुरा भन्न मात्र पनि पायो भने आधा रोग त्यसैबाट निको हुन्छ । 

 

केही नारीबादीले एकदिन बस्नुपरेको साधनालाई तिरस्कार गर्ने गरेको बताउँदै योगीले भने,‘तीजको व्रत पतिको लागि मात्र होइन । यो त समग्रमा भगवान् शिवको पूजा हो । भगवान् शिवको आशीर्र्वाद पतिलाईमात्र किन चाहियो ? भगवान् शिवको आशीर्वाद त पति, परिवार सबैलार्ई चाहिन्छ ।’


उनले थपे, ‘यो त कार्यको व्यवस्थापन पनि हो । महिलाहरुले पनि आराम गर्नुपर्‍यो । विशेषगरी तीजमा उनीहरू आराम गर्नकै लागि पनि माइत आएका हुन् । मीठो खाने, नाचगान गर्ने, खेतीपाती र कामबाट पनि उनीहरूलार्ई छ्ट्कारा मिल्यो । श्रीमतीको अुनुपस्थितिमा उनका सबै काम गर्ने त्यही श्रीमान् त हो । त्यसकारण यसलाई काम बाँड्ने पनि भनिन्छ ।’ 

 

कति नारीवादी भन्छन् महिलाहरूले मात्रै किन तीजको व्रत बस्ने पुरुषले बस्नु हुँदैन ? यस्ता भनाइलाई चिर्दै योगीले भने, ‘घरमा कसैको मृत्युभएमा, काजक्रिया गर्नुपरेमा जो घरको जेठोबाठो हो उसले कपाल मुण्डन गर्छ । सबैले दाजुभाइले र श्रीमतीले मुण्डन गर्नुपर्दैन । श्रीमतीको काम भनेको चोखो बस्ने राम्र्रो पण्डित बोलाएर पूजा गराइदिने हो । सबैको आफ्नो आफ्नो दायित्व छ । तीज भनेको केवल श्रीमान् र श्रीमतीको मात्र होइन । यो समग्र परिवारको हो ।  हामीले घुमीफिरि तीजलाई श्रीमान्सँगमात्र जोड्यौं । अनि त्यो श्रीमान् मोरा के के खान्छ हामी पनि त्यही खानुपर्छ भन्यौं ? वास्तावमा यो गलत हो ।’ 

 

अहिलेको परिवेशमा तीज भड्किलो पनि बन्दै गएको देखिन्छ । यसले सांस्कृतिक महत्वलाई खस्काउँदै पो लैजाने हो कि ? यसबारेमा उनी भन्छन्, ‘विकृति मान्छेले चाहेर ल्याउँछन् कि अवस्थाले ल्याउँछ । 

 

अहिले महिलाहरु नक्कल बढी पार्छन्, सुनको बढी महत्व भयो , शृंगारको बढी महत्व भयो, अलि बढी तडकभडक भयो कि ? साधना गर्नुपर्ने ठाउँमा अलि बढी नाचगान भयो की ? अलिकति बढी यो हुनेखानेको चाड पो हुन लाग्यो कि ? यस्ता कुरामा केही विकृति आएका छन् । यसमा विचार पनि कारण हो र परिस्थिति पनि । तर विकृति आयो भनेर त्यसको पछि लाग्नु हुन्न ।  तीजका सकारात्मक पक्षहरुलाई उजागर गर्नुपर्छ ।’  

(गुरु चिन्तामणि योगीसँग गरेको कुराकानीमा आधारित)