कभर स्टोरी

अन्तरवार्ता

भिडियो

पैसा माग्दा माग्दै तिलबहादुर ‘सिएनएन हिरो’ बन्दै (भिडियोसहित)

बिहिबार, २४ साउन २०७५ गते प्रकाशित
- नेपाल आज

पैसा माग्दा माग्दै तिलबहादुर ‘सिएनएन हिरो’ बन्दै (भिडियोसहित)


काठमाडौं । सिद्धान्ततः अपांगता कुनै रोग होइन । तर यसलाई अपांगलाई दीर्घ रोगी जस्तै गरिने व्यवहार नेपाली समाजमा अझै जीवितै छ । यसको ज्वलन्त उदाहरण हुन् तिलबहादुर कार्की । कार्की जन्मदै अशक्त थिए । उनको दुवै हात र खुट्टामा ६ वटा औँलाहरू थिए भने खुट्टा पनि लुलो र राम्रोसँग नचल्ने थियो । हात र खुट्टामा गरेर २४ वटा औंला भएको कारण उनलाई गाउँभरि ‘अलच्छिना’ भनियो र उनकी आमालाईसमेत पूर्वजन्ममा पाप गरेको आरोप लगाइयो । यतिमात्र होइन, उनी अपांग भएर जन्मेकोे कारण उनी र उनकी आमालाई भगवान्को श्राप लाग्छ भनेर परिवारबाट समेत अलग गराइयो ।   

 


उनलाई गाउँमा बस्न सक्ने वातावरण नै थिएन । घरबाट कतै निस्कँदा बाटोमा गाउँलेले भन्थे, ‘छि, यो अलच्छिनाको अनुहार देखियो, अब के अबेर पर्ने हो ?’ उनीभन्दा पनि उनकी आमाले सधैँ उनको कारणले गाली र अपहेलना सही रहिन् । कार्की बुझ्ने भएपछि आफ्नोभन्दा पनि आमाको पीडाले बढी दुःखी हुन्थे । आमा छोरासँगै बसेर घन्टौं रुन्थे । 

 


समाजले गरेको व्यवहारले दिनदिनै उनमा उग्र स्वभाव पलाउँदै गयो । पढेर यो समाजलाई केही गरेर देखाउँछु भन्ने सोच थियो उनमा । यही सोच लिएर पढ्न गए तर, विद्यालयमा पनि उनलाई हेप्ने र जिस्काउने प्रवृत्ति हराएन त्यसले गर्दा उनले झनै उग्ररूप लिन थाल्यो । यस्तो भएपछि उनले मृत्यु नै विकल्प रोजे । तर, मृत्युले पनि उनलाई सजिलै स्वीकार गरेन् । 




उनले किराफट्याङ्ग्रा मार्ने विष सेवन गरेका थिए । पटक पटक गरी सात पटकसम्म विषसेवन गर्दा पनि केही पार नलागेपछि उनी सात वर्षको कलिलो उमेरमै गाउँ छोडेर हिँडे । गाउँ छोडेपछि उनको जीवनमा झनै ठूलो चुनौती आइप-यो । धेरै दिन काठमाडौंमा भोकै भौँतारिएपछि बानेश्वरको एभरेस्ट होटल पछाडि रहेको गजुरी होटलमा भाँडा माझ्ने काम पाए । एकदिन उनको त्योे अवस्था देखेर होटलमा आएका एकजना ग्राहकले कागजको चिटमा ‘खगेन्द्र नवजीवन केन्द्र’ नामक संस्थाको नाम लेखेर दिए । त्यही नाम पछ्याउँदै उनी उक्त संस्थासम्म पुगे । तर, संस्थाको पालेले उनलाई भित्र छिर्नसम्म दिएन । 


होटेलबाट भागेर आएकाले उनलाई फर्केर जाने मन पनि भएन । होटेलमा पनि भाँडा माझ्दा माझ्दा हात साबुन पानीले गर्दा घाउ कुहिएर दुर्गन्धित भएको थियो । त्यस्तो अवस्थामा कसैले काम दिने कुरा पनि भएन । त्यही दिनदेखि उनले मागेर खाने निर्णय गरे । बौद्ध र जोरपाटी उनका माग्ने प्रमुख ठाउँ थिए । दिनभरि मागेको पैसा बिहान उठ्दा लुटिइसकेको हुन्थ्यो । पैसा जेगाउन उनले गुहेश्वरी नजिकै रहेको रूखमुनि खाल्डो खनेर बोरामा पैसा जम्मा गर्न थाले । २०३८ सालतिर जम्मा गर्न थालेको पैसा २०६५ सालमा निकाल्दा पाँच लाख जति भएको थियो । पैसा देखेर उनी ‘हर्टअट्याक’ भएर ढलेका थिए । 


राती सपनामा उनलाई सधैं कसैले आएर त्यो पैसाले आफूजस्तै दुःखीको उद्धार गर भनेर भनिरहन्थ्यो । उनले पैसा निकालेपछि त्यही निर्णय गरे । त्यही पैसाले उनले ‘संयुक्त अपांग जीवन केन्द्र’ नामको संस्थाको स्थापना गरे र अहिले उक्त संस्थाबाट अहिले ३४ जना विद्यार्थीले शिक्षा ग्रहण गरिरहेका छन् । विभिन्न ठाउँमा कार्यक्रम गर्ने र आफ्नो जीवन कथामा बनेको ‘डकुमेन्ट्री’ देखाएबापत पैसा लिने गर्छन् । 


आज तिनै तिलबहादुर कार्की ‘सिएनएन हिरो’ बन्नका लागि चुनावी मैदानमा उत्रिएका छन् । उनका अनुसार, सिएनएन हिरोका लागि अमेरिकामा बस्ने विष्णु फुयाँल र पत्रकार प्रेम बानियाँलगायत नेपालीहरूको टिमले उनलाई ‘सिएनएन हिरो’ को चुनावी मैदानमा उत्रिन अपिल गरेका हुन् । उनको ‘डकुमेन्ट्री’ हेरेर अमेरिकामा बस्ने नेपालीहरू प्रभावित भएर अपिल गरेका हुन् । देशविदेशबाट उनलाई कसरी भोट गर्न सकिन्छ भन्नेबारे उनले सबै प्रक्रिया पूरा भएपछि जानकारी दिने बताए ।   


कार्कीको प्रेमविवाह भएको १० वर्षजति भयो । के तपाईं सन्तान जन्माउनेतिर हुनुहुन्न भन्ने प्रश्नमा अलिकति लजाउँदै उनले भने, ‘सन्तान नजन्माउने निर्णय गरेका छौँ । किनभने आफ्नो बच्चा भयो भने आफ्नै बच्चाको माया लाग्न थाल्छ । भेदभाव हुन सक्ला ।’